• १५ वैशाख २०८१, शनिबार

विदेशी चलचित्र महोत्सवमा नेपाली चलचित्र

blog

काठमाडौँ, चैत १५ गते । पछिल्लो समय नेपाली कथा, परिवेशमा निर्माण भएका लघु चलचित्रले स्वदेशमा मात्र नभएर विदेशी बजार र दर्शकबिच पनि चर्चा कमाउन थालेका छन् । 

‘नुमाफुङ’ र ‘मुकुन्डो’ ले अन्य चलचित्रलाई विदेशी चलचित्र महोत्सवमा जान सहज बाटो बनाइदिएका थिए । यसपछि ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘हाइवे’, ‘डाइङ क्यान्डल’, ‘बुलबुल’ ‘हल्कारा’ लगायत केही लघु चलचित्र विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेका छन् । यीमध्ये ‘कालो पोथी’ र ‘सेतो सूर्य’ ले विदेशी चलचित्र महोत्सवमा पुगेर नेपालमा राम्रो चर्चासमेत कमाएको थियो । 

लघु चलचित्रले विदेशी चलचित्रमा आफ्नो र देशको पहिचान के हो त भन्ने कुरा प्रस्ट गरिदिने लघु चलचित्र साक्षीको रुखका निर्देशक निरञ्जनराज भेटवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले अनेकन् मान्छेसँग जोड्न र अन्य चलचित्र बनाउनेसँग पनि चिनाउन सजिलो बनाउँछ । लघु चलचित्र बनाएपछि एउटा चलचित्रकर्मी हो भन्ने विश्वास पनि हुने उहाँले बताउनुभयो । सिनेमा हलमा लघु चलचित्र खासै लाग्दैन र दर्शकले हाम्रो काम देख्नुहुन्न तर विदेशी चलचित्र महोत्सवमा धेरै जनामाझ चिनिन मद्दत पु¥याएको छ ।” 

यस्तै यो वर्ष लघु चलचित्र मात्र नभएर अन्य चलचित्रले पनि विदेशी चलचित्र महोत्सवमा राम्रो छाप छोड्न सफल भएको निर्देशक राजन कठैत बताउनुहुन्छ । विदेशी महोत्सवमा नेपालबाट पनि राम्रो कथा उठान गरेको चलचित्र आउन थाल्यो भन्ने सन्देश प्रवाह भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मौलिक कथा छनोट गरेर बनाइएका कतिपय चलचित्र पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु भनेको हाम्रा लागि गर्वको कुरा हो ।”

यही वर्ष चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो चलचित्र महोत्सवमा छनोट भयो । महोत्सवमा चलचित्रको वल्र्ड प्रिमियर पनि गरिएको थियो । नवीन सुब्बाद्वारा निर्देशित चलचित्र एसियाको प्रतिष्ठित बुसान चलचित्र महोत्सवमा पनि छनोट भयो । चलचित्रमा गाउँमा गाडीको बाटो पुगेपछि बाउ र छोराको सम्बन्धमा पार्ने प्रभावको कथा समेटिएको छ । यस्तै नेपाली कथानक चलचित्र ‘दी रेड सुटकेस’ यही वर्ष भेनिस चलचित्र महोत्सवमा छानिएको छ । फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको थियो ।

विदेशी निर्माता र छायाकारबिना विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुने ‘दी रेड सुटकेस’ पहिलो नेपाली चलचित्र हो । चलचित्रले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा उठान गरेको थियो । चलचित्र ‘मुम्बई’ चलचित्र महोत्सव २०२३ (मामी) मा पनि छनोट भयो । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी भएको थियो ।