• १५ वैशाख २०८१, शनिबार

पोखरा २२ को वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा

blog

लेखनाथ, चैत १४ गते। पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। 

यो मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको मङ्गलबारको इजलासले अदालतमा उपस्थित तीन जनासँग जनही ५० हजार धरौटी मागेको छ। अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले मेघबहादुर क्षेत्री (राजु), कृष्णप्रसाद बराल र उमनाथ देवकोटासँग जनही ५० हजार धरौटी माग भएको जानकारी दिनुभयो।

पोखरा–२२, पुम्दीभुम्दीको शान्ति स्तूपदेखि पूर्वको जग्गामा मेघबहादुर क्षेत्रीले इलाइट क्याफे एन्ड रेस्टुरेन्ट वन क्षेत्रमा निर्माण गरेर सञ्चालन गर्नुभएको छ। राष्ट्रिय वनको एक सय ७२ वर्गमिटर जग्गामा रेस्टुरेन्ट सञ्चालनमा छ। 

पोखरा २२ मा रहेको लीला आधारभूत विद्यालयले रकम पाउने गरी केही स्थानीयले टेन्डर खोली वन क्षेत्रको यो जमिन २०६८ मा मासिक १५ हजार पाँच सय ५० रुपियाँमा भाडामा लगाएका थिए। 

विद्यालयको आर्थिक अवस्था कमजोर रहेको र दलित तथा विपन्न विद्यार्थी अध्ययन गर्ने स्कुललाई स्रोत व्यवस्थापनका लागि भन्दै वन क्षेत्र भाडामा दिइएको थियो। ०६८ मङ्सिर ८ गते सम्झौता गरी क्षत्रीले यो क्षेत्र प्रयोग गर्दै आउनुभएको छ। सोही दिन विद्यालय व्यवस्थापन समितिले वन क्षेत्र भाडामा लाउने निर्णय गरेको थियो। उमनाथ देवकोटा त्यस बेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्यो। 

अभियोगपत्रमा वन ऐन २०७६ र नियमावली २०७९ बमोजिम कारबाही माग गरिएको छ। डिभिजन वन कार्यालय कास्कीकी अधिकृत निर्मलाकुमारी फुलाराको ०७९ चैत २६ गते दिएको प्रतिवेदनका आधारमा अभियोगपत्र दायर गरिएको हो।