लिलाधर ओली
घोराही, चैत १२ गते । दाङमा होली पर्वका अवसरमा सोमवार ट्राफिक नियमविपरित चल्ने सवारी साधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्लका अनुसार नियम विपरीत चलाएका ७१ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने १२ जना, तीन जना राखेर मोटरसाइकल चलाउने २९ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ जना, काजगपत्र साथमा नबोकी सवारी चलाउने नौ जना कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेमा मोटरसाइकल कार र अटो रिक्सा रहेका उहाँले बताउनुभयो । होलीको समयमा सोमवार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने २० वटा मोटरसाइकल र एक अटो रिक्सालाई नियन्त्रणमा लिइएको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।