• २० वैशाख २०८१, बिहिबार

दीपक र सुष्मा एनएनआइपिए सर्वोत्कृष्ट वर्ष खेलाडी

blog

एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ अवार्डसहित ।

काठमाडौँ, चैत १२ गते । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ एनएनआइपिए वर्ष–२०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सोमबार ललितपुरमा आयोजना गरेको १८औँ एनएनआइपिए स्पोर्ट्स अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिनुभएको हो । अवार्डसँगै दीपक र सुष्माले जनही एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै पौडीकी डुवाना लामा महिला तथा  राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल प्रतिभाशाली खेलाडी चुनिनुभयो । यस विधाका विजेतालाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

फुयाललाई खेलकुद पत्रकारिता सम्मान 

खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरिएको छ  । यस्तै भारोत्तलनका दुर्गामान तामाङलाई पारा एथलिट सम्मान र धर्ममान बज्राचार्यलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान प्रदान गरियो । पारा एथलेटि विजेतालाई १५  हजार तथा गजराज आदर्श खेल व्यक्तित्व र  खेलकुद पत्रकारिता सम्मान विजेतालाई जनही ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

कार्यक्रममा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेललाई आधारमानेर प्रत्यके खेलमा एक जनालाई वर्षको उत्कृष्ट खेलाडी पु्रस्कारबाट सम्मान गरियो । सम्मानि खेलाडीले अवार्डसँगै जनही १० हजार रुपियाँ प्राप्त गरेका छन् । 


जसमा आर्चरीबाट पार्सदा आचार्य, एथलेटिक्सबाट दीपक अधिकारी, ब्याटमिन्टनबाट प्रिन्स दाहाल, बास्केटबलबाट अनुषा मल्ल, बक्सिङबाट सुष्मा तामाङ, बडिविल्डङबाट अशिमबावु गुरुङ र बुद्धिचालबाट रुपेश जैसवाल उत्कृष्ट खेलाडी बन्नुभयो । 

यस्तै क्रिकेटबाट कप्तान रोहितकुमार पौडेल, साइक्लिङबाट सुरज रानामगर, फेन्सिङबाट शिक्षा नापित, फुटबलबाट कप्तान किरणकुमार लिम्बु, फुल कन्ट्रयाक करातेबाट सन्देश मानन्धर, गल्फबाट सुवास तामाङ, जिम्न्यास्टिकबाट राजु राई, ह्यान्डबलबाट शान्तिकला राई, हक्कीबाट महेश धानी, आइटिएफ तेक्वान्दोबाट रुविका खड्का, जुडोबाट देवकीमाया श्रेष्ठ, कबड्डीबाट अनुजा कुलुङराई र करातेबाट विजय श्रेष्ठले उत्कृष्ट खेलाडीको पुरस्कार पाउनुभयो । 

यस्तै खो खोबाट सरस्वती कठायत, लन टेनिसबाट सलोनी तामाङ, प्याराग्लाइडिङबाट रीता श्रेष्ठ थापा, रग्बीबाट निरोज कार्की, सेपाकताक्रोबाट उषा महर्जन स्क्वासबाट अमृत थापामगर, सुटिङबाट सुजन रानामगर र सफ्ट टेनिसबाट युकेश योञ्जन उत्कृष्ट खेलाडी बन्नुभयो । 

यस्तै पौडीबाट डुवाना लामा, टेबुल टेनिसबाट स्यान्टु श्रेष्ठ, तेक्वान्दोबाट काजल श्रेष्ठ ट्रायथलनबाट श्रेबी महर्जन, भलिबलबाट रविन चन्द, भारोत्तलनबाट जुनमाया छन्त्याल, उसुबाट समन गुर्सी र रेस्लिङबाट सुरेश चुनारा उत्कृष्ट खेलाडी बन्नुभयो । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, केडिया ग्रुपका प्रबन्ध निर्देशक बिमल केडिया, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्ट,  संस्थापक अध्यक्ष राजेश्वरमान स्थापितलगायतले अवार्ड प्रदान गर्नुभयो ।