• १३ साउन २०८१, आइतबार

'नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि होइन'

blog

गणेश पौडेल

पर्वत, चैत १२ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि नभई देश विकास र जनताको समृद्धिका लागि भएको स्पष्ट पार्नुभएको छ। पर्वतको पैयुँमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा बोल्दै मन्त्री गिरीले अहिले मुलुकको आवश्यकताले नयाँ गठबन्धन सिर्जना गरेको बताउनुभयो । 

उहाँले मुलुकका तमाम समस्या समाधानका लागि साथै सुशासन र समृद्धिका लागि आगामी ४ वर्षसम्म यो सरकार जाने बताउनुभयो । ‘अहिले सत्ता स्वार्थका लागि मात्रै गठबन्धन गरिएको होइन,’ उहाँले भन्नुभयो, ‘जनताले अपेक्षा गरेका विकास साथै सुखी जनता र समृद्ध मुलुक बनाउने सङ्कल्पका साथ यो गठबन्धन बनेको हो ।’ 

मन्त्री गिरीले देशमा सङ्घीय गणतन्त्रमा गएपनि पर्याप्त कानुन नबन्दा तीनै तहका सरकारका बिचमा समन्वय हुन नसकेको र त्यसले जनतामा समेत अन्योल सिर्जना गरेकाले आवश्यक कानुनहरू तत्काल निर्माणका लागि समेत पहल थालिएको बताउनुभयो । उहाँले देशमा बढ्दै गएको चरम निराशा र कुशासनलाई हल गर्न अहिलेको सरकारले जनताका भावना अनुसार काम गर्नेमा विश्वास दिलाउनुभयो । उहाँले बेरोजगारी समस्याका कारण कलिला युवाहरूले रुँदै देश छाड्नुपर्ने बाध्यताको अन्य गर्नका लागि पनि दिगो सरकार आवश्यक रहेको बताउनुभयो । "देशमा दैनिक हजारौँ युवाहरू बाहिरिनु सङ्केत राम्रो नभएको मात्रै होइन हामी असफल भएका हौँ," मन्त्री गिरीले भन्नुभयो "दलहरूले बेलैमा सोच नबनाउने हो भने अझै भयावह स्थिति आउँछ ।"

मन्त्री गिरीले मतदाताहरूलाई भेटघाट गर्ने उद्देश्यले जिल्लाको दक्षिणबाट जनसंवाद कार्यक्रम सुरु गर्नुभएको छ । उहाँले चुनावका बेला मतदातासँग गरेका प्रतिबद्धता पूरा गराउन प्रतिबद्ध रहेको बताउँदै गाउँ अभियानमा लाग्नुभएको हो । उहाँले पर्वतको समग्र विकासका लागि आफू जानकार भएकाले आगामी बजेटमा जिल्लाका महत्त्वपूर्ण समस्याहरूलाई हल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गिरीले घोषणा पत्रमा जनतासँग गरेका बाचा नभुल्ने बताउँदै मतदाताले अनुभूति गर्ने खालका कामहरू गर्ने बताउनुभयो ।