• १३ मंसिर २०८१, बिहिबार

नेपालगन्जमा होली मिलन कार्यक्रम

blog

होली मिलनमा रंग अबिर लगाएर शुभकामना आदान प्रदान गर्दै। तस्बिर : सिराज खान

सिराज खान  

नेपालगन्ज, चैत ११ गते। नेपालगन्जमा विभिन्न संघसंस्थाले होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेर होली मनाइरहेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपालगन्ज उपमहानगर कमिटी,  राष्ट्रिय युवा संघ बाँके, नेपाल रेडक्रस सोसाइटी बाँके, कसौधन वैश्य समाज बाँके र पतञ्जली योग समिति बाँके लगायतका संघसंस्थाले नेपालगन्जमा होली मिलन कार्यक्रमको आयोजना गरेर होलीको शुभकामना आदान प्रदान गरेका छन्। 

एमाले बाँकेको जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको होली मिलन र शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमालेका पोलिट ब्यूरो  सदस्य तथा बाँके इन्चार्ज खेममान खत्रीले होली पर्व सद्भाव र प्रेमको पर्व भएकोले बाँकेमा सबैले मिलेर यो पर्वलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो। 

संघीय सांसद दिपा शर्माले होली पर्वले सबै नेपालीको जीवनमा समेत विभिन्न रंग भरेर खुशियाली ल्याओस भन्ने कामना गर्दै होलीलाई सद्भाव र एकताको पर्वका रुपमा मनाउन आग्रह गर्नुभयो। 

नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बाँकेका अन्य चाडपर्व जस्तै होली पनि अतिनै प्रसिद्ध र सद्भावको नमुना भएकोले सोही बमोजिम मनाउन सबैसंग आग्रह गर्नुभयो। 

नेपालगन्जमा विभिन्न संघसंस्थाले आयोजना गरेका हाली मिलनमा सहभागीले एक अर्कालाई विभिन्न प्रकारका रङ र अबिर लगाएर होलीको सुरुवात गर्दै शुभकामना दिएको नेपालगन्जका सामाजिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो। 

नेपालगन्जमा होली सोमवार मनाइने छ भने आइतबार पनि विभिन्न कार्यक्रम गरेर होली मनाइएको हो।