• १५ वैशाख २०८१, शनिबार

थकाली समुदायको तोरन्ल पर्व सुरु

blog

गाउँमुखियाँको घरबाट गीत बाजागाजा सहित धसालाई तारो हान्ने स्थलमा लगिदैं । तस्बिर: साधन

साधन घर्ती 

म्याग्दी(दरबाङ),चैत १० । हिमाल पारीको जिल्ला मुस्ताङमा शुक्रबारदेखि थकाली समुदायले तोरन्ल पर्व मनाउन सुरु गरेका छन् । लामो समय सम्म मनाइने पर्वमा आदिवासी जनजाति मध्ये एक थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ । विशेष गरेर मुस्ताङको थाक सातसय क्षेत्र तथा त्यस आसपास बसोबास गर्ने थकाली समुदायका नागरिकहरूले तोरन्ल पर्व मनाउँछन् । 

मार्फाली थकाली समुदायले यो पर्वलाई तेरमी पर्वका रूपमा समेत मनाउने गर्छन् । तोरन्ल पर्वमा पितृ पूजाका साथसाथै छोरी ज्वाइँलाई माइतीघर बोलाउने प्रचलन रहेको थकाली समुदायकी स्थानीय मनिता थकालीले बताउनुभयो। ‘‘वर्षमा  एक पटक मनाइने यो पर्वमा पुरुषले तारो हान्ने, महिलाले कौडा खेल्ने, पितृ चढाउने, नाचगान गर्ने मिठो खाने र राम्रो लगाउने चलन छ,’’उहाँले भन्नुभयो ।

भूमि पूजा गर्दा नयाँ वस्त्र लगाइदिने गरिन्छ । थकाली सेवा समिति अन्तर्गत १७ नम्बर जोमसोम क्षेत्रको आयोजनामा तारो खेलको आयोजना गरिएको छ । जोमसोममा तोरन्ल पर्व १५ दिनसम्म मनाउने प्रचलन छ । गण्डकी प्रदेश सभा सदस्य सांसद समेत रहनुभएका विकल शेरचनले थकाली समुदाय भित्रका गौचन,शेरचन ,तुलाचन र लालचनले फागु पूर्णिमाको एक दिन अगाडी र एक दिन पछाडि गरेर तीन दिनसम्म तीन दिन सम्म पितृ पूजा गर्ने,छोरी ज्वाइँलाई माइतीघर बोलाएर पुज्ने,बाली राम्रो होस् भनेर भूमि अर्थात् प्रकृतिको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको बताउनुभयो । यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने पितृको उद्धार हुने धार्मिक विश्वास छ।

उहाँका अनुसार,तारा खेल सञ्चालन हुनु पूर्व गाउँ मुखिया दिलीप भट्टचनको घरबाट तारो हान्ने धसालाई बाजागाजा सहित पर्व सम्बन्धी गीत गाउँदै जोमसोम कवर्ड हल नजिकै तारो खेल्ने भवन सम्म पुर्‍याइएको थियो । विधि अनुसार धसाको पूजाआजा गरिएको थियो । खाडा,धुपी,फुल र छ्याङ रक्सीले पूजा गरेपछि औपचारिक रूपमा तोरो खेल सुरु भएको थियो । यस पर्वमा अन्य समुदायले समेत सांस्कृतिक पर्वका रूपमा सहकार्य गर्दै आइरहेका छन्। पर्वले थकाली समुदायलाई जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । साथै यहीँ अवसरमा देश विदेशमा छरिएका थकाली समुदायका युवायुवती पर्व धान्न जन्मथलो फर्कन्छन्।