• १० मंसिर २०८१, सोमबार

गजुर नभएको वज्रवाराही

blog

ललितपुरको लगनखेल बसपार्कबाट आठ किलोमिटर दुरीमा गोदावरी–११, चापागाउँमा वज्रवाराही मन्दिर छ । यही मन्दिर रहेको क्षेत्र चापागाउँ लिच्छविकालीन बस्ती मानिन्छ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो बस्ती अझै अस्तित्वमा रहेको यहाँका मठमन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महत्व बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध छ । 

उपत्यकामा चार वटा वाराही मन्दिर छन् । उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा वज्रवाराही । चार वाराहीमध्ये वज्रवाराही सबैभन्दा प्रख्यात वाराही मन्दिर हो । यो मन्दिरको पूर्वमा झरुवारासी, बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले छ । वज्रवाराही चैँ एक हजार पाँच सय मिटर उचाइमा छ । करिब २० हेक्टरमा फैलिएको यो मन्दिर जङ्गलभित्र छ ।  वज्रवाराहीको सम्बन्धमा वाराही शब्द बराहको स्त्री लिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । वज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजूहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित वज्रवाराहीको शिलाको मूर्ति छ ।

यसरी बन्यो वज्रवाराही

यो मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले नेसं ७८६ साल चैत्र शुक्ल ८ सोमबारको दिन गरेका थिए । श्रीमाई वज्रवाराहीदेवीको प्यागोडा शैलीको मन्दिर निर्माण गर्न लगाएको इतिहासमा पाइन्छ । नेसं ८५२ मा विष्णु मल्लबाट उक्त मन्दिरको मर्मत गराइएको थियो । यिनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी नेसं ८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख गरिएको छ । पाटनका योग नरेन्द्र मल्ल वज्रवाराहीको भक्त भएकाले यिनले त्यहाँ विभिन्न देवदेवीका मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । वज्रवाराही मन्दिर वरिपरिको संरचनाको मर्मतसुधार तत्कालीन राजा महेन्द्रले विसं २०१५ फागुनमा इतिहासमा पढ्न पाइन्छ । 

बन्न सक्छ पर्यटकीय हब 

आन्तरिक तथा बाह्य पर्यटनका लागि आकर्षणको बिन्दु रहेको यो ठाउँ उपत्यकामा एक पटक पुग्नैपर्ने ठाउँमध्ये एक हो । सार्वजनिक बिदाको दिन रमाइलोसँग बित्ने यो मन्दिर छेउछाउ खानपानको राम्रो सुविधा भएका खाजाघर पनि छन् । ललितपुर नेवारी खाजाका लागि प्रख्यात छ । यस ठाउँ पुगेपछि पारम्परिक नेवारी स्वादमा रमाउन सकिन्छ । यहाँ सुविधासम्पन्न आकर्षक वनभोज स्थल पनि छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँको ऐतिहासिक महìव पनि त्यत्तिकै छ । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक खोज गर्ने पर्यटक पुग्नैपर्ने यो ठाउँमा विभिन्न ४८ किसिमका चराचुरुङ्गी र करिब १६६ किसिमका वनस्पति पाइन्छन् । वज्रवाराही जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पतिसमेत पाइन्छन् । यहाँ नेपालमै मात्र पाइने विश्वमै दुर्लभ मानिएको काँडेभ्याकुर चरा पनि पाइन्छ ।

अनौठो किंवदन्ती

भक्तपुरका राजा नरेन्द्रदेव युद्धको समापनपछि चापागाउँ हुँदै घर फर्कंदा निकै रात परे छ । उनले बाटोमा पर्ने देवीको घरमा बास माग्न सिपाहीलाई पठाए छन् तर सिपाही डराएर राजा भएका ठाउँमा फर्किंदै ‘शिरदेखि पाउसम्म सेतो कपडाले छोपिएको डरलाग्दो आकृतिमा सुतिरहेको छ, सरकार’ भनी सिपाहीले राजालाई सुनाएपछि राजा आफैँ हेर्न भनी गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा वज्रवाराही माताको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि त्यसै अनुसार मूर्ति र खट बनाएर जात्रा चलाइँदै आएको किंवदन्ती पाइन्छ ।

जङ्गलबिचमा रहेको मन्दिरमा गजुर छैन । मन्दिर एकै रातमा बनाइएको हुनाले गजुर नराखिएको बताइन्छ । प्यागोडा शैलीमा दुई तले निर्मित छ । किंवदन्ती अनुसार वज्रवाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिएपछि आहाल पुरेर मन्दिर बनाइएको जनविश्वास छ । मन्दिर बनाउँदा बनाउँदै बिहान भएर भाले बासेपछि गजुर हाल्न नभ्याइएको भन्ने कथन छ । अर्को कथन अनुसार मन्दिर निर्माणको सुरुवात चापागाउँबाट काठ लगेर भोलिपल्ट टुँडाल र झ्याल बनाई गरिएको हो । मन्दिर निर्माण पूर्ण भएपछि पाटनमा बनाएको गजुर स्थापना गर्ने क्रममा त्यहाँ कार्यरत एक कर्माचार्यलाई राति सपना भएछ । “गजुर राख्ने साइतमा चापागाउँको बुलुगाउँमा मरेको मानिस मन्दिरअगाडिको चितामा जलाउन ल्याएको बेला पारेर मात्र मन्दिरमा गजुर राख्नू अन्यथा जबरजस्ती कसैले गजुर राखेमा राख्ने मानिसको टाउको फुटी मर्ने छ,” यस्तो सपना भएपछि गाउँका बुद्धिजीवीलाई कर्माचार्यले जानकारी गराएछन् । तत्पश्चात् बनाई ल्याएको गजुर कसैले पनि राख्ने हिम्मत नगरी फर्काई लगेको बुढापाकाहरूको भनाइ छ । वज्रवाराही देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएका पात साँझ परेपछि मन्दिरतर्फ हावाले उडाएर ल्याउने र मन्दिरको काठदाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीयवासी बताउँछन् । 

धार्मिक मान्यता

वज्रवाराहीका जानकार डा. माधव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा वाराही देवीस्थलहरू चार वटा छन् । उत्तरमा श्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही र दक्षिणमा वज्रवाराही । यस लेखमा वज्रवाराहीको सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिन्छ । वज्रवाराहीलाई वज्रयानी देवता हेरुकचक्रसंवरकी स्त्री शक्ति मानिन्छ । वज्रवाराही देवीको पवित्र थलो नेपाली ललितकलाले धपक्क सिँगारिएको ललितपुर जिल्ला अन्तर्गत चापागाउँ वा वा–देः भनिँदै आएको पूर्वलिच्छवीकालीन प्राचीन बस्ती चम्पापुरको पूर्व किनारस्थित उपवनभित्र अवस्थित छ । यो थलो देवस्थल हुनाका साथै धेरै कारणले पनि आकर्षण र लोकप्रिय छ । “सुन्दर निकुञ्ज, शीतल छहारी, जैविक विविधताले भरिपूर्ण, सुमधुर चराको स्वर, मनोरम हराभरा दृश्यावली, स्वस्थ पर्यावरण, शान्त वातावरण, विचित्र प्राकृतिक छटा आदिले यस थलोलाई उपत्यकाभरि भने जसो बेजोड, विशिष्ट र विलक्षण बनाएको छ,” उहाँ भन्नुहुन्छ, “सुन्दर उपवनभित्र अवस्थित मन्दिर, मूर्ति, चित्र आदिले झकमक्क भएको यो देवस्थल अनुपम प्राकृतिक सम्पदा र उच्च मानव कृतिको सङ्गतिपूर्ण संयोग पनि हो । त्यसैले देवीको पूजा गर्न आउने श्रद्धालु भक्तजन, पिकनिक मनाउन आउने युवायुवती, संयोगवश आइपुग्ने बटुवा सबैलाई यो थलामा पाइला हाल्नेबित्तिकै यसको मनमोकहताले प्रकृतिसँग आत्मसात् भएको भावनाले केही घण्टाका लागि भए पनि मन्त्रमुग्ध बनाउँछ ।” 

उहाँको भनाइमा श्रद्धा र भक्तिको स्रोत देवदेवीहरूको सान्निध्य मन्दिरको कलात्मक भव्यता, जरुवा पानीको पर्याप्तता, आकस्मिक आवश्यकताको परिपूर्ति गर्न सक्षम बस्तीको सामीप्य आदिको कारणले यो ठाउँ धार्मिक पर्यटनमा अग्र स्थलमा पर्दछ । वज्रवाराही देवीको पूजा गर्नाले जीवनमा आइपर्ने विघ्नबाधा आदि हट्छ र विधिवत् साधना गर्न सके सिद्धि प्राप्त हुने किंवदन्ती छ । वज्रवाराही देवीको मन्दिरमा प्रायः सबै दिन दर्शनका लागि भिडभाड हुने गर्दछ । विशेष गरी यहाँ दुई वटा जात्रा हुन्छ ः कात्तिकमा हुने जात्रा र चैतमा हुने जात्रा  । यस देवीका कैयौँ विशेषता छन् । सोमध्ये केही उल्लेख गरिन्छ । यो जङ्गलमा अर्काे विशेषता दिउँसो जङ्गलका रुख बिरुवाहरूको पात पतिङ्गर बाहिर उडाएर लगे पनि साँझ परेपछि ती सम्पूर्ण पात पतिङ्गर जङ्गलभित्रै आउँछन् भन्ने कुराले प्रसिद्धि पाएको छ । विश्वकै दुर्लभ चरा काँडे भ्याकुर, दुर्लभ खालको नाग जाति जस्ता जीवको बासस्थानले प्रसिद्धि कमाएको छ । 

तान्त्रिक विधिबाट नित्य पूजा 

मन्दिरका मूलपुजारी वासुदेव कर्माचार्यका अनुसार वज्रवाराही मन्दिरको संरक्षण चम्पापुर सम्पदा संरक्षण समितिले गर्दै आइरहेको छ । सुरुमा यहाँ पोखरी थियो भन्ने गरिन्छ । वज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । “तान्त्रिक विधिबाट गुभाजूहरूबाट नित्य पूजा गर्ने गर्छौं । बिहान पूजा र साँझ आरती गर्छौं,” उहाँले भन्नुभयो, “नित्य पूजा तथा आरती गर्ने पुजारीलाई मासिक रूपमा २० हजार दिने गरेका छौँ, हामीले नित्य कर्म गर्न गाह्रो भएर श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ लगाएर पैसा जम्मा ग¥यौँ ।” वज्रवाराहीको पूजा कर्माचार्यहरूले गर्ने चलन छ । वज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बिचमा छ । अर्काे विशेषता स्थानीयवासीका घरपालुवा पन्छी र जन्तु यस वनमा चर्न गए पनि जङ्गलभित्रका हिंस्रक जनावरबाट मार्ने र खाने गरेको पाइँदैन भन्ने किंवदन्ती छ ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन मन्दिरको सुधारका लागि यो वर्ष १६ लाख रुपियाँको अक्षय कोष स्थापना गर्ने बताउनुहुन्छ । त्यसका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको उहाँको भनाइ छ । “अक्षय कोषबाट नियमित नित्य पूजा गर्न प्रयोग गरिने छ । मन्दिरको भौतिक पूर्वाधार विकासका लागि यो वर्ष २० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यसअघि डेढ करोड रुपियाँ विनियोजन गरेर कम्पाउड वाल लगाइयो,” उहाँले भन्नुभयो, “गोदावरी नगरपालिकाको मात्र नभएर चापागाउँवासीका लागि वज्रवाराही मन्दिर आस्थाको केन्द्र हो ।”