• ११ मंसिर २०८१, मङ्गलबार

मौलिक संस्कृतिको जगेर्ना

blog

समय परिवर्तनशील छ । यो प्राकृतिक नियम हो । यसलाई हामीले सजिलैसँग स्वीकार्नु पर्छ । जङ्गली युगमा बसेका आदिम मानवले रुखका बोक्रालाई शरीर ढाक्ने साधन बनाएका थिए । कालान्तरमा रेशम किरा पालेर रेशमी धागोलाई चर्खाको माध्यमबाट वस्त्र निर्माण गरे । यस किसिमको वस्त्रको प्रयोगबारे धार्मिक ग्रन्थमा प्रशस्त व्याख्या पाइन्छ ।

प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणले प्रवेश पाएपछि पिस्ने, कुट्ने, पेल्ने आदि सबै कामलाई विद्युतीय सामग्रीले विस्थापित गरिदिएको छ । कुनै बेला ग्रामीण जनजीवनका अभिन्न अङ्ग रहेका ती प्रविधि आज आएर दन्त्यकथा जस्ता लाग्ने गरेको छ । अहिलेको पुस्तालाई ती सामग्रीको नाम र प्रयोग अनौठो लाग्न सक्छ । ती प्रविधि यस प्रकार छन् :

ढिकी : धान कुटेर चामल निकाल्ने परम्परागत प्रविधिको साधन नै ढिकी हो । करिब सात फिटको लामो काठको साधनलाई खुट्टाको सहाराद्वारा खलमा राखिएको धानलाई तलमाथि गरी कुटेर चामलको रूप दिइन्छ । उक्त प्रविधिबाट तयार पारिएको चामललाई स्वास्थ्य विज्ञानले अति पोसिलो हुने बताएको छ । वर्तमानमा विद्युतीकरणले हाम्रो दैनिकी कार्यमा सजिलो बनाएको छ तर चामलमा पोसिलो पदार्थको अभाव देखिएको छ ।

जाँतो : मकै, गहुँ, कोदोलाई पिसेर पिठो बनाउने साधन नै जाँतो हो । हथौडाको सहयोगबाट गोलो ढुङ्गाको दुई फक्लेटोको घुमाइबाट आएको ऊर्जाले सग्लो दलहन अन्न पिठोमा परिणत हुन्छ । हाम्रा आमा, हजुरआमाहरूको जीवन नै ढिकी र जाँतोमा रहेको कुरा तिजका गीतमा सुन्न पाइन्छ ।

कोल : ग्रामीण क्षेत्रका परम्परागत प्रविधिमा कोल पनि एक हो । यसबाट तेल घिउ बनाइने गरिन्छ । चिउरीको बिजुला (बियाँ)‌ बाट घिउ, निबुवा पेलेर अमिलो, तिल र तोरीबाट तेल, उखुबाट सक्खर, खुदो (रस पकाएर) बनाउने गरिन्छ । कोलबाट उत्पादित सामग्रीमा शुद्धता हुने गर्छ । आज आएर ती प्रविधि हराउँदै गएको छ ।

पानीघट्ट : ग्रामीण क्षेत्रमा कुटानीपिसानी कार्य पानीघट्टबाट गर्ने प्रचलनलाई परम्परागत प्रविधि मानिन्छ । पानीको ऊर्जाबाट मकै, गहुँ, कोदो, फापर जस्ता विभिन्न अनाज पेलेपछि पिठोमा परिणत हुन्छ । यो प्रविधि अझै पनि दुर्गम क्षेत्रमा देखिएको छ ।

ओखल : ग्रामीण क्षेत्रमा विद्युतीकरण हुनुभन्दा अघि चिउरा कुट्न ओखल प्रयोग गरिन्थ्यो । ढुङ्गा वा काठको ठुलो ठेकी आकारको (मुख खुला गरिएको) ओखलमा भिजाएर भुटेको धानलाई मुसल (काठको लामो हथौडा) ले कुटेर चिउरा बनाउन सकिन्छ । विशेष गरी यसलाई भुइँमा नै गाड्ने चलन छ ।

सिलौटो : प्राचीन प्रविधिहरूमध्ये सिलौटो पनि एक हो । चेप्टो ढुङ्गामा सामग्री राखेर सानो ढुङ्गा (लोहोरो) ले थिचेर अन्न र मसला पिस्ने कार्य सिलौटोमा गरिन्छ । यस किसिमको पिसाइबाट अन्न वा मसलाको मिठो स्वाद आउनुका साथै पिस्ने व्यक्तिको पाखुरा बलियो हुन्छ भन्ने विश्वास रहेको थियो । यसको प्रयोगले आजको मानव ढुङ्गेयुगबाट आएको हो भनेर किटान गर्न सकिन्छ ।

खल : प्राचीन प्रविधिमध्ये खल पनि एक हो । ओखल स्थायी रूपमा भुइँमा गाड्ने गरिन्छ भने खललाई बोकेर जहाँतहीँ लैजान सकिन्छ । हाल आएर बजारमा फलाम, मार्बल, ढलौट र बाक्लो आल्मुनियममा पाइन्छ । यसलाई अन्न र मसला पिस्नका लागि प्रयोग गरिन्छ ।

आग्लो : ग्रामीण क्षेत्रमा रहेका प्रविधिमा आग्लो पनि एक हो । विशेषतः यो झ्याल र ढोकाको भित्रपट्टि दुई खापाको बिचमा पर्ने गरी एक कुनाबाट अर्को कुनामा राखिने एक हातको लामो र मोटो लट्ठी आकारको काठको साधनलाई आग्लो भनिन्छ । अहिलेको जस्तो चुकुल, कब्जा र लक नभएको समयमा आग्लो नै बलियो प्रविधि मानिन्थ्यो । आग्लोलाई बाहिरबाट भित्रपट्टि पनि लगाउन मिल्ने गरी फलामको ताल (साँचो) को सहायताबाट लगाइन्थ्यो । यसको प्रयोगले आजको जस्तो ताल्चाको आवश्यकता पर्दैनथ्यो ।

तालो : हाम्रा प्राचीन प्रविधिहरूमा तालो पनि एक हो । विशेषतः यो फलामको लामो आकारको (झन्डै वज्र आकारको) तालो (ताल्चा) लाई कोदालोको आकारको साँचोबाट बन्द गर्ने र खोल्ने गरिन्थ्यो । यसलाई धनसार (मूल ढुकुटी) मा प्रयोग गरिन्थ्यो । हाल आएर फलामको बाक्लो र सानो दराज (सेफ) ले नै ढुकुटीको सुरक्षा गर्ने विश्वास रहेको छ ।

सिलोट : सिलोटलाई अभिन्न अङ्गका रूपमा लिइन्छ । बालबालिकालाई सर्वप्रथम अक्षरारम्भ गराउन यसको प्रयोग गरिन्थ्यो । स्लेट ढुङ्गाको पातोलाई चारैतिर काठको फ्रेम लगाई खरीको माध्यमबाट अक्षर सिकाउने गरिन्थ्यो । बालबालिकाले जहाँतहीँ सजिलैसँग झोलामा बोक्न सकिने साधन नै सिलोट हो ।

चनौटो : चनौटो पनि प्राचीन प्रविधि नै हो । चन्दन घोट्ने साधनलाई चनौटो भनिन्छ । बिस वर्षअघिसम्म सनातनी संस्कृतिमा दैनिकी वा विशेष पर्वहरूमा देव तथा पितृ कार्यमा चन्दन घोट्ने गरिन्थ्यो । आज आएर श्रीखण्डको धुलो नै तयारी अवस्थामा पाइने हुनाले यसको प्रयोग बिस्तारै घटेको देखिन्छ । सिलौटो जस्तै चनौटोको अस्तित्व पनि बिस्तारै लोप हुन लागेको पाइन्छ । सिलौटो चेप्टो र लामो ठुलो आकारको हुन्छ भने चनौटो विशेषतः गोलो आकारको हुन्छ ।

थाँक्रो : थाँक्रो पुरानो प्रविधिको साधन हो । विशेष गरी नारीले लामो केशमा लट्टा परेमा सिन्के कुचो (झाडु) स्वरूपको सानो तर मोटो काँगियोले केश सम्याउने गर्दछन् । यसमा मोटा र छोटा आकारको सिन्का राखेर हातले समाउन मिल्ने गरी बनाइएको हुन्छ । आज आएर विद्युतीय ब्रस र प्लास्टिकका काँगियोले यसलाई विस्थापित गरिदिएको छ ।

मूल खाट : नेपालको ग्रामीण क्षेत्रमा आफ्नो बहुमूल्य खरखजाना सुरक्षित गर्न आजको जस्तो बैङ्क लकरको प्रचलन थिएन । शासक तथा उच्च वर्गहरूले घ्याम्पोमा खरखजानालाई राखेर जमिनमा गाड्ने गर्दथे । भूमिपति र जमिनदारलगायत गाउँका मुखियाले आफ्नो बहुमूल्य खरखजानालाई सुरक्षित गर्न खाट आकारको काठको भण्डार बनाई त्यसभित्र राख्ने गर्दथे । माथिपट्टि घरको मूल व्यक्तिले बिछ्यौना लगाई सुत्ने गर्दथे । कतिपय ती खाटमा सामान झिक्न र राख्न मिल्ने गरी खापाको प्रयोग गरिन्थ्यो भने कतिपयमा माथिपट्टि काठ राखेर बिछ्यौना लगाइने गरिन्थ्यो । मूल ओच्छ्यान र मूल खाटको प्रयोगमा फरक देखिन्छ । मूल ओच्छ्यान अँगेनाको छेउमा आगोको तातोका लागि लगाइने गरिन्छ भने मूल खाट बहुमूल्य खरखजाना सुरक्षित गर्न बनाइने गरिन्छ । वर्तमान समयमा आएर मूल खाटको प्रयोग लोप भइसकेको छ ।

चाल्नु : लोपोन्मुख अवस्थामा पुगेका प्रविधिमा बाँसको चाल्नु पनि पर्छ । ग्रामीण क्षेत्रमा उत्पादन गरेका अनाजलाई भुसबाट छुट्याउन बाँसको नाङ्लो आकारको मसिना छिद्र पारी चाल्नु प्रयोग गरिन्छ । यसलाई कोदो, फापर, गहुँ, जौ, तिल तथा तोरी आदि अनाज चाल्नका लागि प्रयोग गरिन्छ । विगत दस वर्षयता आएर यस्ता प्रविधि हराएर गइसकेका छन् । बाँसको चाल्नुको सट्टामा प्लास्टिकबाट निर्मित जाली/चाल्नु नै प्रयोग गरिँदै आएको छ ।

बाँसको काँगियो : लोपोन्मुख अवस्थामा पुगेका प्रविधिमा बाँसको काँगियो पनि हो । बाँसको सानो (करिब दुई इन्च) लट्ठी मा दुवैतिर समान रूपमा बाँसको तिखा दुई इन्च लम्बाइका सिन्कालाई घुसारेर कपाल कोर्ने साधन बनाइएको हुन्थ्यो । यसले कपालको जरासम्म भेट्ने र जुम्रा झार्न बाँसको काँगियो नै उपयुक्त साधन मानिन्थ्यो । हाल यस्ता प्रविधिलाई विद्युतीय तथा प्लास्टिक सामग्रीले विस्थापित गरिदिएको छ ।

यसरी हेर्दा पनि हाम्रा जातीय तथा मौलिक प्रविधिलाई विद्युुतीकरणले विस्थापित गरिदिएको छ भनेर किटान गर्न सकिन्छ । विद्युत्ले मानव समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा ठुलो हेरफेर ल्याएको छ । मौलिक प्रविधिलाई विस्थापित नै गरेको छ । यसको आआफ्नो महìव र उद्देश्य छ । यी प्रविधिले जातीय पहिचानको पनि झल्को दिन्छ । बिजुली समयसापेक्ष सबैको घरघरमा बल्नु पर्छ तर त्यसो भनेर मौलिक संस्कृति झल्कने यस्ता पुराना परम्परागत प्रविधिको संरक्षण पनि गर्नु आवश्यक छ । भोलिको पुस्तालाई देखाउन पनि यस्तो मौलिक संस्कृति झल्कने पुराना साधनको सङ्ग्रहालय नै बनाएर राख्ने कि ?

 

Author

डा. शोभा ढुङ्गाना