गोरखापत्र अनलाइन
काठमाडौं, चैत ९ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तथा उपसचिव ढुण्डिराज लामिछानेले अपाङ्गता भएकाहरूको तथ्याङ्क जनगणनामा आउन थालेपछि सो समुदायको सशक्तीकरणमा सहयोग पुगेको बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपाल र तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा शुक्रबार यहाँ भएको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार २०३८ सालको जनगणनामा ०.५२ प्रतिशत अपाङ्गता भएकाहरूको जनसङ्ख्या २०७८ मा आइपुग्दा कुल जनसङ्ख्याको २.२ प्रतिशत (६ लाख) पुगेको बताउनुभयो ।
जनगणनामा अपाङ्गता भएकाहरूको तथ्याङ्क आएपछि बजेटमा योजना तर्जुमा गर्न पनि सहज भएको उहाँको भनाइ छ । अपाङ्गता भएकाहरूको अझै घरायसी सम्पत्ति र सेवा सुविधामा पहुँच कम रहेकाले वृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।
तथ्याङ्क विभागका सहसचिव नन्दलाल सापकोटाले २.३ प्रतिशत अपाङ्गता भएकाहरूको सरकारी क्षेत्रमा पहुँच रहेको बताउनुभयो । सरकारी क्षेत्रमा यी समुदायको पहुँच बनाउन अझ सामूहिक प्रयासको खाँचो रहेको उहाँको सुझाव छ ।
कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष दीपक कोइराला, मित्रलाल शर्मा, वरिष्ठ उपाध्यक्ष राम कार्कीले अपाङ्गता भएकाहरूको यकिन तथ्याङ्क अझै आउन नसकेको बताउनुहुँदै भएको तथ्याङ्कअनुसार सरकारी सेवा सुविधामा पहुँच आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा होचापुडका प्रतिनिधिहरूले पनि आफ्नो तथ्याङ्क निकाल्न कार्यालयसँग माग गर्नुभयो । होचापुडकालाई अपाङ्गता भित्र अझै राख्न नसकेकाले सेवा सुविधाबाट वञ्चित भइरहेको उहाँहरूको गुनासो छ ।
कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, युएनडिपी प्रतिनिधि बिन्दा मगर लगायतले धारणा राख्नुभएको थियो ।