• १६ वैशाख २०८१, आइतबार

सुरुभयो ट्रष्ट माइक्रो इन्स्योरेन्स

blog

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी उद्घाटन समारोह । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत ९ गते । रुपन्देहीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी शुभारम्भ भएको छ । रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा शुक्रबार एक समारोहबिच माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले उद्घाटन गर्नुभयो । 

सो अवसरमा प्रदेश सांसद गिरीले आर्थिक समृद्धिका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई अघि बढाउन सकेमा सहजै समृद्धिको सपना पूरा हुने दाबी गर्नुभयो । गिरीले मुलुक बनाउन राजनीतिक दलको सही भूमिका नभएको स्विकार्दै मुलुकमा स्थिरता जरुरी रहेको उल्लेख गर्नुभयो । 

युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालीलाई बिमाको मूलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षाका लागि पनि बिमा अनिवार्य रहेको उल्लेख गर्नुभयो । 

नेपाल बिमा प्राधिकरण सञ्चालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बिमा भएको बताउनुभयो । नेपाल बिमा प्राधिकरण सह-निर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधैँ साथमै रहने बताउनुभयो । प्राधिकरणका लुम्बिनी प्रमुख पूर्णबहादुर थापाले जनतालाई सरल सेवा सहज र दाबी भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष जगत् पोखरेलले चुक्तापूँजी ७५ करोड रुपियाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बिमाको काम गर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले बिमा कम्पनीलाई मुलुककै बलियो आर्थिक खम्बा बनाइने बताउनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश हुँदै सङ्घीय सरकारसँग समन्वय गरेर रुपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताउनुभयो । 

‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ, कुरा गरेर मात्र आर्थिक राजधानी हुँदैन, त्यसैले हामीले काम गर्न आएका हौँ’ उहाँले भन्नुभयो । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीलाई बिमाको मूलधारमा ल्याउने र उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यसाथ माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

शिक्षाविद् दीपेन्द्र ढकाल, साइन डेभलपमेन्ट बैङ्कका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, मनोज भट्टराई लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भकै दिनामा २ जनाले बिमालेख खरिद गर्नुभएको छ ।