• ११ मंसिर २०८१, मङ्गलबार

१८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

blog

पक्राउ परेका दुईजना कारोबारीबाट बरामद १८ ग्राम ब्राउनसुगर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत ८ गते ।
यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ ।  लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्‍य ाउने कामसमेत गर्दै आएको पाइएको छ ।

नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका कडाइ गरे पनि सो कार्य भने कुनै न कुनै अवस्थामा भइरहेको छ ।

सोही क्रममा पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट ठुलो परिमाणमा ब्राउन सुगर ल्याएर नेपाल भित्र्याउने दुई जनालाई नेपालगन्जमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भारतको रुपैडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा १८ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको टोलीले एकजना भारतीय कारोबारी र एकजना नेपाली कारोबारीसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम र तुलसीपुर–३ दाङका वीरबहादुर बिक छन् ।

विशेष सूचनाका आधारमा उनीहरुको पिछा गर्दै जाँदा प्रहरीले नेपालगन्ज–१० को वडा कार्यालय अगाडिबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिमले भारतको बहराइचमा कारोबार गर्ने र बिकले खरिद गरेर दाङ सल्यानलगायतका जिल्लासम्म पुर्‍य ाउने गरेको उनीहरुबाटै जानकारी प्राप्त भएको छ ।