तानसेन समाचारदाता
तानसेन, चैत ८ गते । जिल्लाको पश्चिम भेगस्थित सुँगुरेढुङ्गा–सालझन्डी सडक निर्माणमा ढिलाइ भएको छ । उक्त सडकखण्डमा पर्ने ५४१ वटा रुख काट्न ढिला हुँदा सडक निर्माणले गति लन नसकेको हो ।
सो सडकखण्डको पाल्पा रैनादेवी छहरा गाउँपालिकास्थित बल्ढेङ्गढी र रुपन्देही जिल्ला सैनामैना नगरपालिका क्षेत्र अन्तर्गतको पाँच किलोमिटर सडकमा पर्ने रुख हटाउन नसक्दा सडक निर्माणले गति लिन सकेको छैन । सो क्षेत्रको रुख कटान गर्न मन्त्रीपरिषद्बाट गत २०८० माघ १८ गते निर्णय भइसकेको छ तर प्रदेशको आयोजना भएकाले रुख कटान हुने क्षेत्रको जग्गा र काटिने रुखको सोधभर्ना गर्नुपर्ने प्रावधान छ । सो प्रावधान अनुसार आयोजना पक्षले पाँच हेक्टर बढी जग्गा र काटिने रुख नेपाल सरकारलाई बुझाउनुपर्ने छ । त्यो नभएको अवस्थामा प्राविधिक मूल्याङ्कन अनुसार क्षतिपूर्तिबापत नेपाल सरकारको खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान रहेको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख वासुदेव भण्डारीले जानकारी दिनुभयो ।
सरकारको प्रावधान अनुसार जिल्लास्थित जग्गा व्यवस्थापन समितिले जग्गा र रुखको खोजी गरेपछि पाउन नसकेको भनेर सिफारिस गरी आएको उहाँले बताउनुभयो । पाल्पा र रुपन्देहीस्थित जग्गा व्यवस्थापन समितिबाट जग्गा प्राप्त नभएको बेहोराको पत्र आइसकेको र अब वन विभागलाई जानकारी दिने प्रक्रिया सुरु गरिएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जग्गा र रुख सोधभर्ना गर्न नसके त्यसबापत करिब तीन करोड रुपियाँ नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व प्रदेश सरकारलाई थप हुने उहाँले बताउनुभयो । जिल्लाको पश्चिम भेगलाई तराईसँग जोड्ने योजनाका रूपमा सङ्घ र प्रदेश सरकारको ५०/५० प्रतिशत लागतमा चार वर्षअघि सडक निर्माणको काम सुरु गरिएको थियो तर वन क्षेत्रको रुख हटाउने कार्यमा ढिलाइ हुँदा समयभित्र काम सम्पन्न गर्न समस्या भएको निर्माण व्यवसायीले जनाएका छन् । सडक क्षेत्रमा पर्ने रुख कटानको काममा छिटो गर्न भने पनि रुख हटाउन ढिलाइ हुँदा समयमै योजना सम्पन्न गर्न नसकेको निर्माण कम्पनीका प्रतिनिधि टोपबहादुर रायमाझीले बताउनुभयो ।