• १३ साउन २०८१, आइतबार

भेरीमा स्वास्थ्य बिमाबाट सेवा लिने बढे

blog

भेरी अस्पतालको सामाजिक सेवा इकाईमा स्वास्थ्य चेकजाँचका लागि टिकट काट्न लाइन लागेका सेवाग्राही । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजरा, चैत ७ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् । गत वर्षको तुलनामा यो वर्ष सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका हुन् । स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिने सेवाग्राही बढेका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा सामाजिक सेवा इकाईबाट पाँच हजार ६ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएको सामाजिक सेवा इकाई इन्चार्ज आशा पन्थले जानकारी दिनुभयो । 

जसमध्ये ३ हजार ९ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्प पीडितलाई उक्त सेवा प्रदान गरिएको हो । त्यसैगरी यो आठ महिनामा एक हजार ६ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन् ।

गत वर्षको साउनदेखि फागुनसम्म इकाई बाट सेवा लिनेको सङ्ख्या ६ हजार ६ सय ८७ जना रहेको थियो । जसमध्ये चार हजार ५ सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्प पीडितलाई उक्त सेवा प्रदान गरिएको थियो । त्यसैगरी गत वर्षको उक्त समय अवधिमा दुई हजार एक सय ५४ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका थिए ।

अस्पतालमा यो वर्ष स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिने सेवाग्राही बढेका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ हजार ६ सय ८० जना सेवाग्राहीले बिमा कार्यक्रम अन्तर्गत सेवा लिएको स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन नितेष केसीले जानकारी दिनुभयो ।

फोकल पर्सन केसीका अनुसार गत आर्थिक वर्षको यही अवधिमा २६ हजार ९ सय ८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिएका थिए ।

भेरी अस्पतालमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको यो आठ महिनासम्मको समय अवधिमा सामाजिक सेवा इकाई बाट सेवा लिने सेवाग्राही एक हजार ११ जना कम भएका छन् भने स्वास्थ्य बिमाबाट सेवा लिने सेवाग्राही दुई हजार ६ सय ९३ जना बढेका छन् । 

भेरी अस्पतालमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दैनिक करिब एक हजार जना सेवाग्राही बिरामी स्वास्थ्य उपचारका लागि आउने गर्दछन् ।