• १२ साउन २०८१, शनिबार

आगलागीबाट २२ जिल्ला प्रभावित

‘आगलागी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ’

blog

काठमाडौं, चैत ५ गते । अहिले देशभर आगलागीका घटना बढेका छन् । पछिल्लो दुई दिनमा मात्र ७२ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङ्गले तीनै तहका सरकारले आगलागी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ, बजेट विनियोजन गरेर मात्र हुँदैन त्यसको प्रभावकार कार्यान्वयन गर्नुपर्दछ ।”

अहिले तीनै तहको सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएकाले आगलागी नियन्त्रणका लागि बढी बजेट विनियोजन गर्नुपर्ने उहाँको सुझाव छ । अहिले २२ जिल्ला आगलागीबाट बढी प्रभावित देखिएको उहाँको भनाइ छ । यी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र चुस्त बनाउन निर्देशन गरिएको उहाँले बताउनुभयो ।  

वन क्षेत्रको विकास र सहरी क्षेत्रको विकासमा पनि आगलागी हुनसक्ने जोखिमलाई मध्यनजर गर्नुपर्ने उहाँको तर्क छ । वनजंगलमा पोखरीहरू बनाउन सकियो भने पनि आगलागीलाई नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । नेपालमा मानवीय हेलचेक्र्याइँका कारण आगलागीका घटनाहरू बढेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष अघिल्लो वर्षको तुलनामा आगलागीका घटनाहरू बढेका छन् । यसको प्रमुख कारण नै मानवीय हेलचेक्र्याइँका कारण हो । केही मात्र प्राकृतिक कारणले भएका छन् ।” 

चालु आर्थिक वर्षको आठ महिनामा वन डढेलोका घटना १५९ वटा भएका छन् । आगलागीका घटना दुई हजार ३६५ स्थानमा भएका छन् । नागरिकहरूले घाँसपालुवा बढी पलाउने आशा राखेर नै बढी डढेलो लगाउनेगरेको भेटिएको उहाँको भनाइ छ । नागरिकहरूमा अझै पनि चेतना विकास गराउन नसकिएको उहाँले स्विकार्नुभयो । 

प्रवक्ता चेम्जोङ्गले भन्नुभयो, “नागरिकहरूले पालुवा राम्रो पलाउने मनसाय राखेर आगो अगाउँदा आगलागीका घटना बढी भएको  देखिन्छ । अझै नागरिकमा चेतनाको विकास गराउन सकिएको छैन ।”

सहरमा घर निर्माण तथा बस्ती विकास गर्नेक्रममा सुरुमा नै सोचविचार गर्न सकियो भने आगलागीका घटनामा कमी हुने उहाँको भनाइ छ । 

“सहरमा बस्ती विकास गर्दा तयारी गरेर गर्नुपर्ने हो । घरहरू पनि त्यहीअनुसार निर्माण गर्नुपर्छ, अहिले सहरका सडकहरू दमकल नछिर्ने भएका छन्” उहाँले भन्नुभयो, “गाउँ–सहरमा दमकल पुग्नेखालका सडकहरू भएमा आगलागीबाट हुने क्षति कम गर्न सकिन्छ ।” 

फोटो भिडियो: मनोजरत्न शाही

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।