• १३ साउन २०८१, आइतबार

लक्ष्मीनियाँको जङ्गलमा भीषण डढेलो

blog

महोत्तरीको गौशाला नपा १० स्थित लक्ष्मीनियाँ जङ्गलस्थित वन कार्यालयको घाटगद्दीमा लागेको भीषण डढेलो । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, चैत २ गते । गौशाला नपा-१० स्थित लक्ष्मीनियाको जङ्गलमा भीषण डढेलो लागेको छ । अनियन्त्रित डढेलोले घाटगद्दी गरी राखिएका करौडौँ मूल्य बराबरको काठ खरानी पारेको छ । 

बिहीबार अपरान्ह ३ बजेदेखि लागेको डढेलो यो समाचार तयार पार्दासम्म पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । डढेलोलाई सुरुमा वनकर्मी, सशस्त्र प्रहरी तथा स्थानीय पसलेले निभाउने प्रयास गरेका थिए । लामो समयदेखिको खडेरी र तीव्र गतिमा चलेको पश्चिमा हावाका कारण आगोले विकराल रुप लिएको छ । वनकर्मी, सुरक्षाकर्मी तथा बर्दीबास, गौशाला, रामगोपालपुर र सर्लाही हरिवनबाट आएका ४ वटा वारुणयन्त्रले आगो निभाउने प्रयास गरेका छन् । 

आगो काठको मुनिसम्म पुगेको हुँदा ६ वटा स्काभेटरको सहयोगमा त्यस्ता काठ झिकेर नियन्त्रणमा लिने प्रयास गरिँदै छ । लामो प्रयासपछि आज विहान ३ बजेतिर आगो केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकोले अहिले पनि घटनास्थलमा वारुणयन्त्र, स्काभेटर, सुरक्षाकर्मी र वनकर्मचारी आगो निभाउन जुटेका छन् । 


स्थानीय प्रत्यक्षदर्शीका अनुसार पश्चितर्फबाट सल्किँदै आएको डढेलो सुरुमा डिभिजन वन कार्यालय नजिकको सशस्त्र क्याम्पसम्म पुगेको थियो । घटनास्थल नजिकैको लोकमार्ग छेउको छाप्रोमा नास्ता पसल गर्दै आउनुभएकी तुलमाया गुरङका अनुसार सशस्त्र क्याम्पनजिक डढेलो पुगेको देखेर सबैजना पानी बोकेर निभाउन जाँदा त्यहाँको आगो सशस्त्रकै प्रयासमा नियन्त्रणमा आएको बताउनुभयो । 

"त्यहीबेला पश्चिमबाट एक्कासि उठेको हावाको भुमरीले बल्दै गरेको डढेलोको पतिङ्गरको मुस्लो उडाएर वन कार्यालयले घाटगद्दी गरी राखेको प्लटमा पुर्‍याएपछि हेर्दाहेर्दै आगोले वनै निल्ला जस्तो भयो" तुलमायाले सुनाउनुभयो, "म ६१ वर्षकी भएँ संसारै भष्म पार्लाजस्तो यस्तो आगलागी त देखेकी थिइनँ ।" 

डिभिजन वनले काठ भण्डारण (घाटगद्दी) गरिएको क्षेत्रफलाई डढेलोबाट जोगाउन चारैतिर ट्रेन्च खन्नुका साथै ६ मिटर चौडाइको फायरलाईन बनाउने जस्ता पूर्व सतर्कता अपनाएको थियो । काठ भण्डारण क्षेत्र नजिकै सब डिभिजनका कार्यालय र सशस्त्र पोष्ट रहेकाले पनि सबै सतर्क अवस्थामा थिए । तर हावाको भुमरीले डढेलोको ठूलो मुस्लोलाई उडाएर घाटगद्दी क्षेत्रको चारैतिर सल्काएपछि खडेरीले सुकेर खारिएका झिक्रा र पुराना सुके मक्किएका काठ हेर्दाहेर्दै पट्रोल दन्के झैं दन्केपछि हाहाकार मच्चिएको प्रत्यक्षदर्शीले बताउनुभयो । 

लक्ष्मीनियाँको डिभिजन वन कार्यालय दक्षिणतर्फको करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको घाटगद्दीमा डढेलो लागेको हो । यो घाटगद्दीका ४ ब्लकमा दश वर्ष पुरानादेखि ०७४ सालमा ४०० केभी हाइटेन्सनलाइनको मुनि कटान गरिएका काठ राखिएका छन् । जसमध्ये डढेलोबाट ब्लक ‘सी २’ को ७५ प्रतिशत र ब्लक ‘सी ४’ को शतप्रतिशत काठ जलेको डिभिजन वन प्रमुख सन्तोष झाले बताउनुभयो । 


आगो निभाउने काम जारी रहेकाले कति परिमाण र कति मूल्य बराबरका काठ जले यकिन हुन सकेको छैन । तथापि डढेलोका कारण ७० प्रतिशत कुकाठ र ३० प्रतिशत सखुवा काठ खरानी भएको अनुमान गरिएको छ । 

"अहिले हामी सबै आगो निभाउने काममा केन्द्रित भएकोले क्षतिको यकिन विवरण भन्न सकिने अवस्था नरहेकोले तत्काल अनुमान मात्र गरिएको हो", झाले भन्नुभयो, "बाँकी रहेका २ वटा ब्लकका काठलाई भने सबैको प्रसायले पूर्णरुपले जोगाउन सकिएको छ ।"

वन डढेलो पूर्णरुपले नियन्त्रणमा आइसकेको छैन भने अपरान्हपछि पश्चिमी हावा चल्ने हुँदा थप जोखिम हुन नदिन नियन्त्रणको प्रयास भइरहेको डिएफओ झाले बताउनुभयो ।