• १३ साउन २०८१, आइतबार

गैँडाको आन्तरिक स्थानान्तरण सुरु

blog

नवदुर्गा सामुदायिक वनबाट निकुञ्जको पूर्वी सेक्टरमा गैंडा लैजाने तयारीमा ।

मीना कँडेल

कावासोती, चैत २ गते । नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । शुक्रबार नवलपरासीको कावासोती नगरपालीका वडा नं २ मा रहेको नवदुर्गा सामुदायिक वनबाट एउटा भाले गैँडा डार्ट गरेर निकुञ्जको पूर्वी सेक्टर स्थानान्तरण गरिएको हो । नवलपुरको लोकाहा, दिव्यपुरी लगायतको क्षेत्रमा बस्ती पसेर दुख दिएका र पश्चिम सेक्टरको कोर क्षेत्रबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्न लागिएको हो । 

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले पहिलो चरण अन्तर्गत नवलपुरको पश्चिम सेक्टर, सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा वयस्क भाले र पोथी गैँडा स्थानान्तरण गरिने बताउनुभयो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभयो । सन् २०२१ को गणना अनुसार निकुञ्ज क्षेत्रमा ६ सय ९४ वटा गैँडा गणना भएको अधिकांश गैँडा पश्चिम सेक्टर पूर्वी नवलपरासीतर्फ भएकाले स्तान्तरण गर्न लागिएको हो । 

एकै स्थानमा धेरै गैँडा हुँदा वासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । गाउँमा निस्किएर स्थानीय बासिन्दालाई दुःख दिइरहेका गैँडाको पहिचान गरी पहिला तिनीहरूलाई स्थानान्तरण गर्ने उहाँले बताउनुभयो । गैँडा स्थानान्तरण कार्यमा निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेना लगायतको जनशक्ति परिचालित थिए । पाँच वटा हात्तीमा खटिएका प्राविधिकहरूको टोलीले पुर्वी नवलपरासीको सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा रहेका गैंडालाई नियन्त्रणमा लिएर स्थानान्तरणको काम गरिरहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरको नेतृत्वमा ६० जनाको टोली नवलपुरको कावासोती आइपुगेको थियो । जसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली परिचालित छ । यस पटक १० वटा गैँडा स्थानान्तरण गर्ने तयारी छ । त्यस अन्तर्गत पहिलो चरणमा ६ वटा गैँडालाई नवलपरासीबाट चितवनको सौराहा क्षेत्रको निकुञ्ज क्षेत्रमा छाडिने निकुञ्जले जनाएको छ ।