विकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख १५ गते । जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । १ सय ७५ जना कैदीबन्दी मात्र राख्ने क्षमता भएको कारागारमा हाल पाँच सय ४५ जना कैदीबन्दी रहेको कारागार प्रशासक विकल श्रेष्ठले जानकारी दिनुभयो । अहिले कारागारमा चार सय ५२ पुरुष, ८६ जना महिला र एक बालक सहित सात जना बालिका रहेका छन् ।
साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको कारागार प्रशासनले जनाएको छ । धेरै मानिस हुँदा सुत्न, खाना खान, शौचालय प्रयोग गर्न समस्या हुने गरेको कैदीबन्दीहरूले गुनासो गरेका छन् । झन्डै १५ जनाले एउटा बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । मनोरञ्जन लगायत अन्य प्रयोजनका लागि बनाइएका कोठा समेत सुत्नका लागि प्रयोग भएका छन् । गर्मी महिना भएकाले बाहिर पनि कैदीबन्दी सुत्ने गरेका छन् ।
पानी पर्न थालेपछी भने समस्या हुने श्रेष्ठले बताउनुभयो । कुनै सरुवा रोग फैलिएमा महामारीको रूप लिन सक्ने जोखिम पनि रहेको छ । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिए पनि कैदीबन्दी बढ्दै जादा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला विभाजन पछि पूर्वी नवलपरासीमा हाल सम्म कारागार नहुँदा समस्या भएको छ ।
सो क्षेत्रका कैदीबन्दी समेत परासी कारागारमा ल्याएर राख्ने गरिएको छ । कैदीबन्दी बढी भएपछि केही दिन अगाडि २२ जना कैदीबन्दीलाई नुवाकोट कारागारमा स्थानान्तरण गरिएको छ ।