सम्बन्ध विच्छेद मन्दिर

जापानमा एउटा अनौठो मन्दिर छ । छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो । जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ । यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ । सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो । सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाको अवस्था नाजुक थियो । उनीहरूसँग आधारभूत अधिकार पनि थिएन । त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तोमा महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । अनि महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे ।