• १२ साउन २०८१, शनिबार

परमाणु बमलाई छक्क्याएका यामागुची

blog

पहिलो परमाणु बम पड्काइँदा यामागुची हिरोसिमाबाट प्रस्थान गर्ने तयारीमा थिए । नौ सैनिक इन्जिनियर २९ वर्षीय यामागुची तीन महिनाको व्यापारिक कार्यका लागि मित्सुबिसी हेवी इन्डस्ट्रीमा आएर त्यहाँबाट फर्कने बेलामा हिरोसिमामा बम विस्फोट भएको थियो । यामागुची र उनका सहकर्मीले इन्धनवाहक नयाँ पानीजहाजको डिजाइनमा दिनरात काम गरे । सन् १९४५ अगस्त ६ मा यामागुची आफ्नी श्रीमती हिँसाको र नवजात छोरा कात्सुतोसीलाई भेट्न जाने तर्खरमा थिए । 

बिहान करिब ८:१५ बजे यामागुची मित्सुबिसीको पानीजहाज कारखानातिर जाँदै गर्दा उनले आफ्नो माथि आकाशमा एउटा विमानको आवाज सुने । आकाशतिर हेर्दा उनले सहरमाथि अमेरिकी बी–२९ बमवर्षक उडिरहेको र त्यसबाट प्यारासुटमा बाँधिएको एउटा सानो वस्तु खसालिएको देखे । अचानक आकाशमा तेज चमक देखियो, जसलाई यामागुचीले सम्झना गर्दै पछि भने, “म्याग्नेसियमको भयङ्कर ज्वालाको चट्याङ ।”

यामागुचीले एउटा खाल्डोमा हामफाल्ने समय पनि पाएनन् कान नै फोड्ने तेज आवाज आयो । साथै आएको जोडदार ‘सकवेब’ ले यामागुचीलाई जमिनबाट उचालेर हावामा भुमरी झैँ फन्फन्ती घुमायो र नजिकैको आलुबारीमा पछारिदियो । त्यस बेला उनी बम पड्केको स्थानबाट साढे तीन किलोमिटरभन्दा कम दरीमा थिए । 

बेलायती समाचारपत्र त टाइम्समा यामागुचीले भनेका छन्, “मलाई थाहा भएन के भएको थियो । मलाई लाग्छ म केही समयका लागि बेहोस भएको थिएँ । जब मैले आँखा खोलेँ सबैतिर अँध्यारो थियो र मैले खासै देख्न सकिरहेको थिइनँ ।”

यामागुचीको चारैतिर खरानी झरिरहेको थियो र उनी हिरोसिमाको आकाशमा माथि उठिरहेको च्याउ जस्तो आकृति देख्न सक्थे । उनको अनुहार र कुहिनो नराम्रोसँग जलेको र कानको दुवै जाली च्यातिएको थियो । 

मित्सुबिसी पानीजहाज कारखानाको बचेको भाग देखेर यामागुचीका आँखा अचम्भित थिए । त्यहाँ उनले सहकर्मी अकिरा इवानागा र कुनियोसी सातोलाई देखे, दुवै जना विस्फोटमा बाँचेका थिए । तत्पश्चात रातभरि बङ्करमा बसेका यामागुची अगस्त ७ मा रेल स्टेसनतिर गए किनभने केही गरी रेल सञ्चालनमा रहेको उनले सुनेका थिए । 

दन्दन्ती बलिरहेको आगो, यत्रतत्र पछारिएका र डढेका शव, भवनका भग्नावशेषको भयानक परिदृश्यबीच हुँदै रेल चढ्न उनीहरूको यात्रा अगाडि बढ्यो । सहरका पुल काम लाग्ने अवस्थामा थिएनन् र एउटा नदीमा त यामागुचीले तैरिरहेका शव पन्छ्याउँदै पौडेर पारि जानु प¥यो । स्टेसनमा पुगेपछि यामागुची जलेका र किंकर्तव्यविमूढ यात्रुले खचाखच भएको देखे । तैपनि उनी नागासाकी जान रातभरको यात्राका लागि त्यसमा सवार भए । 

यामागुची आफ्नो परिवारका सदस्यसँग भेट्न रेलयात्रामा रहँदा सारा विश्वको ध्यान हिरोसिमामा थियो । विस्फोट भएको १६ घण्टापछि अमेरिकाका राष्ट्रपति ह्यारी ट्रुम्यानले मन्तव्य व्यक्त गर्दै पहिलो पटक परमाणु बमको अस्तित्वका बारेमा जानकारी दिए । 

अगस्त ८ को बिहान यामागुची नागासाकी पुगे र लरखराउँदै अस्पताल गए । त्यहाँ उनको उपचार गर्ने डाक्टर उनकै स्कुलका सहपाठी थिए । नराम्रोसँग अनुहार जलेका यामागुचीलाई सुरुमा त उनले चिन्न सकेनन्, उनको परिवारले समेत चिनेन । जब यामागुची शरीरभरि पट्टी र औषधी लगाएर घर फर्किए उनकी आमाले भूत आएकोसम्म ठानिन् । 

असह्य पीडामा रहेका यामागुची भोलिपल्ट बिहान अर्थात् अगस्त ९ मा जसोतसो ओछ्यानबाट उठे र नागासाकीमा मित्सुबिसीको कार्यालयमा कामका लागि रिपोर्ट गरे । लगभग ११ बजे यामागुचीको भेट कम्पनीका निर्देशकसँग भयो र निर्देशकले हिरोसिमामा भएको घटनाको पूर्ण रिपोर्ट माग गरे । अगस्त ६ मा हिरोसिमामा भएको घटना बारेमा यामागुचीले सबिस्तार लगाए तर ती निर्देशकले त्यस्तो विध्वंस हुन नसक्ने भन्दै उनलाई पागल भएको आरोप लगाए । उनको प्रश्न थियो, मात्र एउटा बमले त्यत्रो ठूलो सहरलाई पूरै कसरी नष्ट गर्न सक्छ ?      

यामागुचीले निर्देशकलाई सम्झाउने प्रयास गरिरहेकै थिए बाहिर अचानक भयङ्कर विस्फोटसँगै अर्को जोडदार चमक देखियो । ‘सकवेब’ को प्रहार हुनु ठिक पहिले यामागुची भुइँमा पल्टिए । लगत्तै आएको ‘सकवेब’ ले भवनका सिसा चकनाचुर पा¥यो र कोठाभरि सिसा फैलियो ।  यस घटनाबारे यामागुचीले द इन्डिपेन्डेन्ट समाचारपत्रलाई भने, मलाई यस्तो लाग्यो च्याउको बादलले मलाई हिरोसिमादेखि पछ्याइरहेको छ ।”

हिरोसिमामा पड्काइएको बमभन्दा नागासाकीमा पड्काइएको बम झनै शक्तिशाली थियो तर यामागुचीले पछि थाहा पाए अनुसार सहरको पहाडी भूबनोट र सुदृढ बनाइएको भवनको भ¥याङको संयुक्त प्रभावका कारणले कार्यालय भवनभित्र बमको असर धेरै परेन । उनले गराएको मल्हमपट्टी सबै उछट्टियो र उनी फेरि क्यान्सर गराउने विकिरणको प्रभावमा परे । तर उनलाई थप चोटचाहिँ लागेन । तीन दिनमा दोस्रो पटक यामागुची परमाणु बम विस्फोटको साढे तीन किलोमिटरको दायरामा परे । तैपनि भाग्यले उनलाई साथ दियो र बाँचे । 

मित्सुबिसीको भवनको भग्नावशेषबाट निस्केर यामागुची विध्वंस मच्चाएको नागासाकी सहरमा आफ्नी श्रीमती र छोराको खोजीमा निस्किए । जब उनले आफ्नो घरको एक भाग ध्वस्त भएको देखे, अनिष्टको आशङ्काले उनको धड्कन बढ्यो तर चाँडै उनले दुवै जनालाई सामान्य चोट लागेको अवस्थामा फेला पारे । 

दुई पटक विकिरणको प्रहारमा परेका यामागुचीमा दिन बित्दै जाँदा त्यसको प्रभाव देखिन थाल्यो । उनका कपाल झर्न थाले र कुहिनोमा लागेको चोट बल्झियो । जापानका सम्राट हिरोहितोले आफ्नो देशले आत्मसमर्पण गरेको घोषणा गरेको दिन अगस्त १५ सम्म उनीहरू बङ्करमै बसेका थिए ।        

यामागुचीमा विकिरणको प्रभाव कम हुँदै गयो र उनले सामान्य जीवन जिउन थाले । उनले अमेरिकी सेनाका लागि दोभाषेको काम गर्नुका साथै मित्सुबिसीमा आफ्नो जागिरलाई समेत निरन्तरता दिए । 

दुई पटक परमाणु बमको प्रहार झेल्ने यामागुची एक मात्र व्यक्ति होइनन्, उनका साथी अकिरा इवानागा र कुनियोसी सातोसमेत दोस्रो बम विस्फोट हुँदा नागासाकीमा थिए । समग्रमा एक सय ६५ जनाले दुवै विस्फोटको मार झेलेका थिए । तैपनि जापान सरकारले यामागुचीलाई मात्र दुई पटक परमाणु बमको प्रहार सहेको व्यक्ति ‘निजियु हिबाकुसा’ घोषित गरेको छ । सन् २००९ मा जापान सरकारले औपचारिक रूपमा उनलाई सो मान्यता दिएको थियो र त्यसको एक वर्षपछि नै यामागुचीले ९३ वर्षको उमेरमा यस संसारबाट बिदा लिए ।