• २७ वैशाख २०८१, बिहिबार

कलेजोको क्यान्सर

blog

कलेजोका कतिपय क्यान्सर कलेजोबाटै सुरु हुन्छन् । कलेजोको क्यान्सर कलेजोमै सुरु हुनेलाई प्राथमिक खालको मानिन्छ भने अन्य अङ्गमा लागेको क्यान्सर फैलिएर कलेजोमा पनि असर ग¥यो भने त्यसलाई द्वितीय प्रकारको भनिन्छ । 

अधिकतर अन्यत्रबाट फैलिएर कलेजोमा असर परेर कलेजोको क्यान्सर देखिन्छ । विश्वमा कलेजोको क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढ्दै छ । प्राथमिक खालको कलेजोको क्यान्सर विश्वमा छैटौँ मुख्य क्यान्सर हो भने यो क्यान्सरले हुने मृत्युको चौथो कारण  पनि हो । सन् २०१८ मा करिब नौ लाख मानिसलाई कलेजोको क्यान्सर भएको थियो भने यसैका कारण आठ लाख मानिसको मृत्यु भयो ।

हेपाटाइटिस बी र सी को सङ्क्रमण बढी हुने गरेको क्षेत्र जस्तै एसिया र अफ्रिकाको उप–सहारा क्षेत्रमा बढी मात्रामा कलेजोको क्यान्सर हुने गरेको देखिएको छ । बढीजसो ५५ देखि ६५ वर्ष उमेर समूहका मानिस यस क्यान्सरबाट प्रभावित हुने गरेका छन् । हेपाटोसेलुलर कार्सिनोमाले पुरुषलाई बढ्ता असर गर्ने गरेको छ । बालबालिका त्यति सारो कलेजोको क्यान्सरबाट प्रभावित हुँदैनन् ।

प्रकार

कलेजोको तन्तुमा आफैँ उत्पन्न हुने कलेजोको क्यान्सरलाई हेपाटोसेलुलर कार्सिनोमा भनिन्छ । यसका अतिरिक्त पित्त बाहिनी नली, कलेजोका रक्तनली वा यसका रोग प्रतिरोधात्मक कोषहरूमा  पनि क्यान्सर लाग्न सक्छ । पित्त बाहिनी नलीमा हुने क्यान्सरलाई कोलान्जिओकार्सिनोमा, कलेजोका रक्तनलीमा हुने क्यान्सरलाई एन्जिओसार्कोमा र हेमान्जिओसार्कोमा, कलेजोको कोषमा उत्पन्न हुने  क्यान्सरलाई हेपाटोब्लास्टोमा भनिन्छ । 

शरीरका अन्य कुनै भागमा भएको क्यान्सर रक्तसञ्चार प्रणालीमार्फत कलेजोमा आइपुग्न सक्छ र त्यस क्यान्सरले कलेजोलाई पनि असर गर्न थाल्छ । जसलाई मेटास्टाटिक क्यान्सर भनिन्छ । कलेजोका क्यान्सरमध्ये सबैभन्दा मुख्य प्रकार चाहिँ हेपाटोसेलुलर क्यान्सर हो, कलेजोमा ८० प्रतिशत यही क्यान्सर देखिन्छ ।  

कारक तत्व

लामो समयदेखि वा अधिक मद्यपान गर्ने मानिस वा हेपाटाइटिस बी वा सीबाट प्रभावित हुने मानिसको कलेजो बिग्रिन जान्छ । जसलाई चिकित्सा भाषामा लिभर सिरोसिस भनिन्छ । कालान्तरमा यही सिरोसिस क्यान्सरमा परिणत हुन जान्छ । यसरी हेपाटाइटिस बी र सीले भाइरस कलेजोको क्यान्सर (मुख्यतः हेपाटोसेलुलर क्यान्सर, आंशिक मात्रामा कोलान्जिओकार्सिनोमा पनि) उत्पन्न गर्न सक्छन् । 

यसका अतिरिक्त कतिपय खाद्यवस्तुमा हुने एफ्लाटक्सिन, कलेजोमा बोसो जम्ने समस्या वा कलेजोमा सर्ने एक खालको परजीवी (लिभर फ्लुक) का कारणले पनि कलेजोको क्यान्सर हुन्छ । एफ्लाटक्सिन एक प्रकारको ढुसी (फङ्गस) हो । जुन बदाम, अन्न, कतिपय सागपातमा पाइन्छ । एफ्लाटक्सिनयुक्त खाद्यवस्तु व्यापारीले आफ्नो व्यापारिक फाइदाका लागि अन्य खाद्यवस्तुमा मिसावट गर्दछन् । 

यसका साथै कलेजोमा देखा पर्ने गाँठागुँठी, मोटोपना, मधुमेह, धुमपान पनि कलेजोको क्यान्सरका कारक तìव हुन सक्छन् । त्यसै गरी कतिपयमा वंशाणुगत वा परिवार नियोजनका चक्की सेवनका कारण पनि यो क्यान्सर लाग्न सक्छ ।

निदान

कलेजोको क्यान्सरको निदानका लागि कलेजोसम्बन्धी रगत जाँच वा अल्ट्रासाउन्ड (भिडियो एक्सरे), सिटी स्क्यान, एमआरआई गर्नु पर्दछ । कलेजोको तन्तु निकालेर (बायोप्सी) गरेमा क्यान्सर हो वा होइन निश्चित हुन्छ । कोलान्जिओकार्सिनोमा निदानका लागि इआरसिपी भनिने पित्तनलीभित्र दूरबिन छिराई गरिने जाँच पनि गर्नुपर्ने हुन्छ । 

त्यसै गरी रगतमा कलेजोका विभिन्न एन्जाइमको मात्रा एवं क्यान्सरको आशङ्कामा विभिन्न खाले ‘ट्युमर मार्कर’ पनि जाँचेर हेर्न सकिन्छ । अल्फाफिटोप्रोटिन, सिए १९–९, सिइए र सिए १२५ कलेजोको क्यान्सर निदानका लागि उपयुक्त यस्तै केही ट्युमर मार्कर हुन् ।

रोकथाम

कलेजोको क्यान्सरका सम्भावित कारणको जानकारी भइसकेपछि यसको रोकथाम गर्न कतिपय प्रयास गर्न सकिन्छ । पूरा मात्रामा हेपाटाइटिस बीविरुद्ध खोप लगाउने, मद्यपान नगर्ने (बन्द गर्ने), एफ्लाटोक्सिनयुक्त खाद्यवस्तु नखाने, मोटोपना घटाउने, मधुमेहलाई नियन्त्रणमा राख्ने कार्य गर्नु पर्दछ ।

कलेजोसम्बन्धी अन्य कुनै समस्या भएका मानिसले प्रत्येक छ महिनाको अन्तरालमा अल्ट्रासाउन्ड गराउनु राख्नु बुद्धिमानी हुन्छ । त्यसो त रक्तदान गरिएको रगतमा एचआइभीका साथै हेपाटाइटिस बी र सी पनि परीक्षण गरिन्छ तर पनि रगत चढाउनु परेको खण्डमा राम्ररी जाँच गराइएको रगत मात्र प्रयोग गर्नु पर्दछ । त्यसै गरी राम्ररी निर्मलीकरण गरिएको सुई (सम्भव भएसम्म प्रत्येक पटक नयाँ सुई)  प्रयोग गर्ने । लागुपदार्थ दुव्र्यसनीको हकमा यो निकै महìव एवं संवेदनशील कुरा हो किनकि नसाले लट्ठिन थालेपछि यी सावधानी नअपनाइँदा नसाद्वारा लागुपदार्थ दुव्र्यसनीमा पनि कलेजोको क्यान्सरको जोखिम बढ्न जान्छ ।

पछिल्लो समय नेपालमा पनि टाटु बनाउनेहरू उल्लेख बढेका छन् । टाटु बनाउने, गराउने दुवैले रगतको माध्यमबाट लाग्न सक्ने कलेजोको क्यान्सरप्रति सजग हुनु पर्दछ । त्यसै गरी कपाल काट्ने, कटाउने दुवै पनि रहनु पर्छ ।

लक्षण

कलेजोको क्यान्सर विभिन्न कारणले हुन सक्ने भएकाले यसको लक्षण पनि कारक तत्व वा कलेजोको पनि कुन भागमा समस्या छ सोही अनुसार फरक फरक हुन सक्छ । जस्तै कोलान्जिओकार्सिनोमा कलेजोको क्यान्सरमा पसिना आउने, जन्डिस देखा पर्ने, पेट दुख्ने, शारीरिक तौल घट्ने, कलेजो सुन्निने हुन्छ । हेपाटोसेलुलर कार्सिनोमा  क्यान्सरमा माथिल्लो पेटमा डल्लो देखा पर्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, उल्टी हुने, ढाड दुख्ने, जन्डिस देखा पर्ने, जिउ चिलाउने, शारीरिक तौल घट्ने, ज्वरो आउने हुन्छ ।

उपचार

कलेजोको उपचारको हकमा प्रभावित भागको शल्यक्रिया, ‘टार्गेट थेरापी’ भनिने औषधीजन्य उपचार एवं आवश्यकता अनुसार रेडियोथेरापी गर्नु पर्दछ । कतिपय मामिलामा ‘एब्लेसन थेरापी’ (प्रभावित भाग डढाइदिने), ‘इम्बोलाइजेसन थेरापी’ (प्रभावित भागमा रगत प्रवाह गर्ने रक्तनली बन्द गरिदिने) गरिन्छ भने पछिल्लो समय लिभर ट्रान्सप्लान्ट गर्ने कार्य पनि बढ्दो छ ।

अन्त्यमा

नेपालमा नसाद्वारा लागुपदार्थ लिने, टाटु बनाउने, भोजभतेरमा रक्सी सेवन गर्ने एवं नेपालीमा पनि मोटोपना बढ्दै गएका कारण कलेजोको क्यान्सरको 

जोखिम बढ्दो छ ।