मनाङ, कात्तिक ८ गते । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।
लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।
उहाँले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताउनुभयो ।
यस्तै, नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो । रासस