• ८ कात्तिक २०८२, शनिबार

उपचारका क्रममा बन्दीको मृत्यु

blog

शशिधर पराजुली 

विराटनगर, कात्तिक ८ गते । मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । 

कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि कोशीले कात्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो । 

गत साउन १२ गतेदेखि मोरङ कारागारमा रहेका सापकोटाको मुद्दा विचाराधीन अवस्थामै मृत्यु भएको हो । हाल जिल्ला कारागार मोरङमा एक हजार १८७ जना कैदीबन्दी छन् । कारागारभित्र स्वास्थ्य समस्या देखिएका कैदीबन्दीहरूको उपचारका लागि नियमित स्वास्थ्य परीक्षण र आवश्यकताअनुसार बाहिर अस्पतालमा पठाउने व्यवस्थाअनुसार उनलाई पहिले कोशी अस्पताल र पछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको कारागार प्रशासनले जनाएको छ ।