• २७ वैशाख २०८१, बिहिबार

दसैँ र नवदुर्गा

blog

विसं २०७८ को जनगणना अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा दसैँ नेपालको सबैभन्दा धेरै मानिसले मान्ने चाडपर्व हो । यो छोटो लेखमा नवदुर्गाको नाम र ती देवीका बारेमा केही जानकारी दिइएको छ ।  

१. हिन्दु धर्मावलम्बीले दसैँको अवसरमा नवरात्रको पहिलो दिन, जुन दिन घटस्थापना सुरु गरिन्छ, शैलपुत्रीलाई सम्झने र शैलपुत्रीको पूजा गर्ने गरिन्छ । स्मरणीय छ नवदुर्गामध्येकी एक शैलपुत्री देवीले दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी तथा साँढेमाथि विराजमान रहेकी हुन्छिन् ।    

२. नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीलाई सम्झने र पूजा गर्ने गरिन्छ । दसैँको अवसरमा हिन्दु धर्मावलम्बीले पुज्ने नौ देवीमध्ये दोस्रो दिन पुजिने ब्रह्मचारिणी देवीले दाहिने हातमा जप माला र देब्रे हातमा कमण्डलु लिएर भुइँमा उभिएकी हुन्छिन् । 

३. नवरात्रको तेस्रो दिन पुजिने चन्द्रघण्ट देवीको १० वटा हात हुन्छन् । देवी चन्द्रघण्टको हातमा धनुवाण, त्रिशूल, गदा, घण्ट, तरबार, कमलको फूल आदि रहेको हुन्छ भने उनी बाघमाथि विराजमान हुन्छिन् । 

४. नवरात्रको चौथो दिन पुजिने कुशमण्डु देवीको चार वटा हात रहेका छन् । ती हातमा कमण्डलु, धनुर्वाण, कलश, अमृत, चक्र, गदा, तीर, जपमाला रहेको हुन्छ । यी देवी पनि बाघमाथि नै विराजमान रहेकी हुन्छिन् । 

५. नवरात्रको पाँचौँ दिन पुजिने स्कन्दमाता देवीको दुई हातमा कमलको फूल हुन्छ भने काखमा बालक कुमार (स्कन्द) लाई  सम्हालेर राखेकी हुन्छिन् । यी देवीको वाहन सिंह हो । 

६. नवरात्रको छैटौँ दिन कात्यानी देवीलाई पुजिन्छ । कात्यानी देवीको चार वटा हात छन् । देब्रेतिरका दुई हातले कमलको फूल र खड्ग बोकेको तथा दाहिनेतिरका दुवै हातले आशीर्वचन–ध्यान मुद्रा गरेको देखिन्छ । यी देवीको वाहन पनि सिंह नै हो । 

७. नवरात्रको सातौँ दिन देवी कालरात्रिको पूजा गर्ने गरिन्छ । यी देवी अरू देवीभन्दा बिल्कुलै फरक रहेकी छन् । किनभने यी देवी अर्धनग्न छिन् भने यिनको तीन आँखा रहेको (निधारको कालो टीको समेत) छ । देवीको चार हातमध्ये देब्रे हातमा खुँडा र भाला रहेको छ । दाहिने हात मुद्रा आकारमा छ । यी देवीलाई रातको समयमा मात्रै पूजा गर्नुपर्ने मान्यता रहेको छ । यी देवीको वाहन गधा हो । 

८. नवरात्रको आठौँ दिन महागौरी देवीलाई पुज्ने गरिन्छ । चार हात भएकी देवी महागौरीको दाहिनेतिरको एक हातमा त्रिशूल र देब्रेतिरको एक हातमा डमरु रहेको हुन्छ । यी देवी अभय र भद्र मुद्रामा बसेकी हुन्छिन् भने यी देवीको वाहन सेतो रङको साँढे हो ।   

९. नवरात्रको नवौँ दिन सिद्धिद्घदातृ देवीको पूजा गरिन्छ । यी देवीलाई सुर गण, असुर गण, देव गण, यक्ष गण, गन्धर्भ गण र स्वयम् देवी गणले पनि पूजा गर्छन् । यी देवीको हातमा शङ्ख, चक्र, गदा रहेको छ । यी देवी कमलको फूलमाथि विराजमान 

रहेकी छन् । 


Author

निनाम लोवात्ती