इजिप्टका महिला शासकको चर्चा हुँदा सबैले रानी क्लियोपेट्रालाई सम्झने गर्दछन् तर क्लियोपेट्राभन्दा अघि पनि इजिप्टमा महिला शासक थिए । क्लियोपेट्रा झैँ उनीभन्दा अगाडि इजिप्टमा शासन गर्ने महिला शासकमा नेफेरुसोबेक (सोवेकनेफेरु), मर्निथ, ह्यात्सेपसट, नेफेर्टिटी र तावोस्रेटको नाम अग्रपङ्क्तिमा आउँछ ।
पछिल्लो अध्ययनले उल्लिखित महिला शासकमध्ये नेफेरुसोबेक इजिप्टमा शासन गर्ने पहिलो महिला फारो (शासक अर्थात् रानी) रहेको तथ्य पुष्टि गरेको छ ।
प्राचीन इजिप्ट आफैँमा एउटा छुट्टै संसार थियो । जहाँ फारो (शासक) ले राज्य गर्दथे । इजिप्टको तीन हजार वर्षयताको इतिहासमा छ महिला शासकले शासन गरे । ती महिला शासकको शासनकाललाई इजिप्टमा विशेष महत्वका साथ लिइन्छ । महिला शासकले प्राचीन इजिप्टको उच्च पदमा आसीन रहेर आफूलाई शक्तिशाली नारीका रूपमा उभ्याएका थिए । उनीहरूले राज्य प्रमुखका रूपमा शासन चलाए ।
प्राचीन इजिप्टका शक्तिशाली नारी शासकमध्ये नेफेरुसोबेकलाई इजिप्टको पहिलो महिला फारो (शासक अर्थात् रानी) मानिएको छ ।
इजिप्टको १२ औँ राजवंश (१९३९–१७६० इसा पूर्व) समयकी नेफेरुसोबेकका बारेमा कुरा गर्दा उनी को थिइन् भन्ने ठ्याक्कै स्पष्ट छैन तर नेफेरुसोबेककी आमा इजिप्टका राजा अमेनेमहात तृतीयकी सयौँ महिला यौनदासीमध्ये एक थिइन् । यौनदासीबाट जन्मेकी भए पनि नेफेरुसोबेक शाही परिवारकै सदस्य थिइन् अर्थात् राजकुमारी नै मानिइन् । नेफेरुसोबेकलाई ‘सोबेकनेफेरु’ का नामले समेत चिनिन्थ्यो । सोबेकनेफेरुको अर्थ सौन्दर्य भन्ने हुन्थ्यो ।
तत्कालीन इजिप्टमा परिवारभित्रै सदस्यहरूबीच हुने विवाहलाई सामान्य मानिन्थ्यो । त्यसैले नेफेरुसोबेकलाई इजिप्टको शाही प्रचलन अनुसार आफ्नो वंश परम्परा कायम राख्न आफ्नै वृद्ध पितासँग विवाह गर्नुपर्ने छ भन्ने थाहा थियो । पिताको निधन भएको खण्डमा उनको विवाह उनकै भाइ या राजपरिवारकै सदस्यसँग हुने छ पनि थाहा थियो । नेफेरुसोबेककी आमासमेत राजाकी छोरी हुन सक्ने अनुमान गरिएको छ । तथापि त्यससम्बन्धी कुनै अभिलेख भने भेटिएको छैन ।
विवाह सम्बन्धमा नेफेरुसोबेकका हकमा पनि त्यही नियम लागू भयो । जुन नियम उनकी आमाका हकमा लागू भएको थियो । अर्थात् नेफेरुसोबेक पिता राजा अमेनेमहात तृतीयको निधन भएपछि उनका भाइ युवराज अमेनेमहात चौथोले इजिप्टको राजगद्दी सम्हाले । त्यसपछि युवराज अमेनेमहातको विवाह आफ्नै दिदी राजकुमारी नेफेरुसोबेकसँग भयो । परिवारका सदस्यबीचको उक्त विवाहलाई तत्कालीन इजिप्टको समाजले सहर्ष स्वीकार्दै हर्षोल्लासपूर्वक स्वागत गरेको थियो ।
यसरी राजकुमारी नेफेरुसोबेक आफ्नै भाइसँगको विवाहका कारण इजिप्टको रानी बन्न पुगेकी थिइन् । विवाहको नौ वर्षपछि राजा अमेनेमहात चौथोको निधन भयो । अमेनेमहातको शासनकाल केवल नौ वर्ष मात्रै रह्यो । नौ वर्षको वैवाहिक सम्बन्धका समयमा राजा अमेनेमहात र रानी नफेरुसोबेकबाट कुनै सन्तान जन्मेन । सोही कारण १२ औँ राजवंशको भावी उत्तराधिकारी को हुने भन्नेमा गम्भीर प्रश्न उठ्न पुग्यो । पछि नेफेरुसोबेकले नै इजिप्टको शासन व्यवस्था हातमा लिइन् र राज्य सञ्चालन गरिन् । त्यसका लागि उनले राजा अमेनेमहात तृतीय (उनकै पिता) को वंशको आधिकारिक अंशियारका रूपमा आफूलाई प्रस्तुत गरिन् र अघि बढिन् । इजिप्टमा उनको शासन अवधि तीन वर्ष १० महिना २४ दिनको मात्र रहेको थियो ।
आफ्नो शासनकालमा नेफेरुसोबेकले आफूलाई पूर्वमहिला शासकहरूभन्दा पृथक् राख्दै पूर्ण शाही उपाधि हासिल गरेकी थिइन् । नेफेरुसोबेक इजिप्टमा गोहीको देवता ‘सोबेक’ सँग नाम जोड्ने पहिलो शासक थिइन् । उनको शासनकालको समसामयिक प्रमाणहरू कमै भेटिए पनि उनका केही आंशिक मूर्ति फेला परेका छन् । तीमध्ये उनको अनुहारसहितको एउटा मूर्ति र शिलालेख छ । इजिप्टको उत्तरी मजघुनामा अवस्थित पिरामिड नेफेरुसोबेकबाट अभिप्रेरित थियो भनिन्छ । यद्यपि यसलाई पुष्टि गर्ने ठोस प्रमाण भने भेटिएको छैन ।
नेफेरुसोबेकका पिता इजिप्टका फारो अमेनेमहात तृतीय रहेको पुष्टि भए पनि उनकी आमा को थिइन् भन्नेमा मतान्तर छ । कतिपय इतिहासकारले उनकी आमा राजा अमेनेमहात तृतीयका सय यौनदासीमध्ये एक थिइन् भनेका छन् तर राजा अमेनेमहातका दुई ज्ञात पत्नी थिए भनिन्छ । ती दुवै रानीलाई उनको निधनपश्चात् दहसुरमास्थित पिरामिडमा गाडिएको थियो ।
राजा अमेनेमहातकी एक अर्की छोरी नेफेरुताह पनि थिइन् । जसलाई उनको निधनपछि हवाराको दोस्रो पिरामिडमा गाडियो । नेफेरुताहलाई समेत राजा अमेनेमहात तृतीयको उत्तराधिकारीका रूपमा लिइएको देखिन्छ । राजा अमेनेमहातका अन्य छोरी (राजकुमारीहरू) मा हथोरहोटेप, नुभोटेपेट र सिथाथोर थिए । उनीहरूको शव दहसुर परिसरमा गाडिएको प्रमाण फेला परेका छन् । यद्यपि ती राजकुमारी राजा अमेनेमहातकै छोरीहरू थिए भन्नेमा भने इतिहासकारहरूबीच मतभिन्नता छ ।
इतिहासकार एजिप्टियाका मानेथोका अनुसार अमेनेमहात चौथो र नेफेरुसोबेक दाजु र बहिनी थिए । नेफेरुसोबेक प्राचीन इजिप्टमा शासन गर्ने थोरै महिलामध्ये एक थिइन् ।
बुबाको वंशलाई समर्थन गर्न र आफ्नो शासनलाई थप वैध तुल्याउन नेफेरुसोबेकले हवारामा पिता अमेनेमहातको पिरामिड निर्माण गर्न लगाइन् । त्यतिबेला इजिप्टमा राजाहरूलाई ईश्वरीय प्रतीक मानिन्थ्यो । मृत राजाको देवत्वकरण गरिन्थ्यो । सोही कारण रानी नेफेरुसोबेकले हवारामा आफ्ना पिताको मन्दिर निर्माण गर्न लगाएकी थिइन् । मन्दिरमा आफ्ना पितालाई देवताको रूपमा पूजा गर्न विशेष व्यवस्था सिर्जना गरिन् । मृत राजाका मूर्तिलाई नियमित रूपमा भेटी चढाउन र पुजारीहरूलाई वार्षिक तलबको व्यवस्था गरेकी थिइन् ।
नेफेरुसोबेकले राजगद्दी सम्हालेपछि उनी मन्दिरका गतिविधि र समारोहमा बढी सरिक भइन् । उनले पारिवारिक वंशको रक्षाका लागि कदम चालेकी थिइन् । उनले आफ्ना परिवारका मृत सदस्यका मूर्ति इजिप्टका विभिन्न मन्दिरमा राख्न लगाइन् । पूर्वी डेल्टाको टेल एल डबामा फेला परेका इजिप्टको १२ औँ राजवंशको मन्दिरमा तीन वटा त्यस्तै मूर्ति फेला परेका छन् ।
नेफेरुसोबेकको निधन कसरी भयो भन्ने प्रश्न खुला छ । कतिपय इतिहासकारले सत्ता प्राप्तिका लागि अरूले नै उनको हत्या गरेको दाबी गरेका छन् ।