इटालीबिना विश्वकप

डेढ दशकअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले कतारमा हुने विश्वकपमै नेपालले खेल्न पाउने आशा राखेका थिए । विश्वकप सुरु हुन अब एक वर्ष पनि छैन र नेपाल विश्वकपबाट अझै पनि कोसौँ टाढा नै छ । विश्वकपको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्षको अन्त्यमा विश्वकप हुँदैछ कतारमा । कतार विश्वकपमा धेरै प्रसङ्गको रेकर्ड बन्ने लगभग निश्चित छ । त्यो रेकर्डबाट नेपाल चुकेको मात्र हो । त्यसो त विश्वकपमा कैयौँ बलिया टिमले समेत पुग्न पाएका हुँदैनन् । अझ चार पटकको विश्वकप विजेता इटाली फेरि पनि चिप्लिएको छ । युरोपियन च्याम्पियन इटालीबिना लगातार दोस्रो पटक विश्वकप आयोजना हुने छ । उत्तरी म्यासेडोनियासँग प्लेअफमा मिलेको पराजयले इटालीलाई छनोट चरणमै सीमित गरिदियो ।