लोकजीवनमा एउटा बहुश्रुत भनाइ छ, “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।” समाज उतिविधि व्यापार–परस्त नभएको समयमै चलेको यो भनाइ अहिलेको व्यापारिक युगमा झनै सान्दर्भिक हुन गएको छ । अचेल त हुने–नहुने सबै कुराको विज्ञापन गरी ग्राहक तान्ने प्रतिस्पर्धा भइरहेको छ ।
अखबार, रेडियो, टेलिभिजन, अनलाइन, होर्डिङ बोर्डजस्ता प्रचार माध्यमहरूमा आउने अनेकन् विज्ञापनले आफ्ना चिजबिजलाई ग्राहकका आँखामा राम्रो देखाउने होडबाजी चलिरहेको छ । यस क्रममा कतै रोमाञ्चक त कतै नखरापूर्ण विज्ञापन आइरहेका छन्, जसका हामी द्रष्टा, भोक्ता साक्षी बनिरहेका छौँ । विज्ञापनकै चर्चा गर्दा एउटा पृथक् प्रकृतिको विज्ञापन पनि अस्तित्वमा छ, जसबारे हामीकहाँ सामान्य चर्चा पनि भएको पाइँदैन ।
त्यस पृथक् विज्ञापन विधि हो, स्काइराइटिङ ९कपथधचष्तष्लन० । स्काइराइटिङमा विशेष प्रकारको विमान प्रयोग गरिन्छ । त्यस विमानले उत्सर्जन गर्ने धुवाँबाट आकाशमा अक्षर वा कुनै मूर्त आकृति तयार पारिन्छ । त्यही अक्षर वा मूर्त आकृतिको माध्यमबाट आफ्ना उत्पादनको विज्ञापन गर्ने विधि नै स्काइराइटिङ हो । समग्रमा यो आकाशमा सन्देश लेख्ने परिपाटी हो ।
अचेल परिष्कृत प्रविधिको प्रयोग गरेर आकाशमा सन्देश लेख्ने परिपाटी पनि विकास भइसकेको छ । ‘प्लेन एन्ड पाइलट म्यागजिन’ को अनलाइन संस्करण (मे १९, सन् २०२०) मा उपलब्ध जानकारी अनुसार यस प्रकारको प्रविधि प्रयोग गरी सन्देश लेखिने परिपाटीलाई स्काइटाइपिङ (skytyping) भनिन्छ, जुन स्काइराइटिङकै परिष्कृत संस्करण हो । यस अन्तर्गत तयार पारिने सन्देश डट म्याट्रिक्स प्रिन्टिङ प्रणालीमा आधारित छ ।
स्काइराइटिङ पद्धतिमा सिङ्गो आकाश विशाल क्यानभास मानिन्छ भने विमानले फ्याँक्ने धुवाँचाहिँ अक्षर सजाउने कुची हो । त्यही धुवाँबाट आकाशरूपी विशाल क्यानभासमा आकर्षक ढङ्गमा विज्ञापनका अक्षर कोरिन्छन्, सजाइन्छन् । स्काइराइटिङलाई हवाई विज्ञापन (aerial advertising) को एउटा अर्को संस्करण मानिन्छ । कतिपयले स्काइराइटिङलाई आकाशीय पोस्टर (celestial poster) भनी नामकरण गरेको पाइन्छ ।
इतिहास
स्काइराइटिङ कहाँ र कहिले सुरु भयो भन्नेबारे पर्याप्त मतमतान्तर छ । यसबारे विरोधाभासपूर्ण भनाइ आउने गरेका छन् । कतै बेलायत त कतै अमेरिकाबाट स्काइराइटिङ सुरु भयो भनी दाबी गरिएको पाइन्छ । कतै कतै त फ्रान्सबाट स्काइराइटिङ सुरु भएको भनी लेखिएको पनि पाइन्छ । अमेरिका, बेलायत फ्रान्सबाहेक क्यानडा, अस्टे«लिया तथा युरोपका अन्य मुलुकमा पनि स्काइराइटिङको अभ्यास चलेको देखिन्छ ।
विभिन्न सन्दर्भ सामग्री अध्ययन गर्दा स्काइराइटिङको इतिहास प्रथम विश्वयुद्धसँग जोडिएको देखिन्छ । प्रथम विश्वयुद्धताका फाइटर प्लेनका पाइलट प्लेनमा उडाउँदा त्यसले छाड्ने धुवाँको मुस्लो देखेर त्यसबाट आकाशमा धुवाँको अक्षर तयार पार्न सकिने रहेछ भन्ने सोचाइ विकास भयो । त्यसपछि ती पाइलटले विभिन्न समय–कालमा आकाशमा धुवाँको अक्षर तयार पार्ने अभ्यासमा सरिक भएको पाइन्छ ।
‘हिस्ट्री नेट’ मा प्रकाशित सामग्रीका अनुसार सन् १९१५ ब्रिटिस पाइलट मेजर सेभेजले स्काइराइटिङ प्रणाली विकास गरेका थिए । यसको सार्वजनिक प्रदर्शनीचाहिँ सन् १९२२ मा गरिएको थियो । यसका विपरीत कतिपय अध्येताले चाहिँ अमेरिकी पाइलट आर्ट स्मिथले सन् १९१५ मै पानमा–प्यासिफिक मेलामा स्काइराइटिङको कला प्रदर्शन गरेका थिए भनी दाबी गरेका छन् । केही मिडिया इतिहासकारले त सन् १९१० तिर नै यस्तो प्रणाली विकास भइसकेको दाबी गरेका छन् ।
स्काइराइटिङ जहाँ र जे जसरी सुरु भए पनि १९२० को दशकमा प्रवेश गर्दा नगर्दै यसले लोकप्रियता हासिल गर्दै गएको देखिन्छ । भर्खर भर्खर स्काइराइटिङको अभ्यास सु्रु हुँदा अमेरिकाका सहरवासी अचम्मित भएका थिए । स्काइराइटिङका लागि प्रयोग भएका जहाजको आवाज सुन्दा र त्यसले लेख्ने रोमाञ्चक अक्षर देख्दा सहरवासी घरको झ्यालबाट बाहिर हेर्थे र आकाश दृश्य देखिने रोचक दृश्य हेरेर मनोरञ्जन लिन्थे भन्ने वर्णन ‘हिस्ट्री नेट’ मा अङ्कित छ ।
सन् १९२३ तिर स्काइराइटिङ व्यापक हुँदै गएको देखिन्छ । १९२३ जुनमा ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक लेखमा स्काइराइटिङको चर्को विरोध गरिएको थियो । यसले त्यतिञ्जेलसम्म स्काइराइटिङ व्यापक किसिमले पैmलिँदै गएको सङ्केत गर्छ । ‘हिस्ट्री नेट’ ले ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित लेखको सारसङ्क्षेप यसरी प्रस्तुत गरेको छ :
धुवाँको प्रयोग गरेर आल्पस् पहाड तथा आइफल टावरमाथि साबुन, चुरोट तथा अचारको विज्ञापन हुन थालेको छ । यसबाट आकाश धुवाँले भरिन थालेको छ । सहरका अग्ला अग्ला भवनको अपार्टमेन्टमा बस्ने बासिन्दा हैरान छन् । उनीहरू झ्याल थुनेर बस्नुपर्ने अवस्था छ । यसलाई आकाशीय बर्बरता (celestial vandalism) भन्न सकिन्छ ।
समयक्रममा स्काइराइटिङ लोकप्रियताको शिखर चढ्न थाल्यो । स्काइराइटिङ लोकप्रियताबारे एउटा रोचक प्रसङ्ग स्मरणीय छ । अमेरिकी म्यागजिन ‘द एट्लान्टिक’ को अनलाइन संस्करण (अप्रिल १६, सन् २०१४) मा प्रकाशित एक लेखमा ‘द न्युयोर्क टाइम्स’ लाई उद्धरण गर्दै सन् १९२२ मा न्युयोर्कको टाइम्स क्वायरको आकाशमा एक होटलको फोन नम्बर भएको सन्देश लेखिएको उल्लेख गरिएको छ ।
म्यागजिन ‘द एट्लान्टिक’ का अनुसार आकाशमा लेखिएको सन्देश थियो ‘कल भान्डरबिल्ट ७२०० ।’ लेखका अनुसार आकाशमा फोन नम्बर लेखिएको मात्र के थियो, होटलको रिसेप्सनमा एकपछि अर्को गरी फोन निरन्तर बज्न थाल्यो । होटलका रिसेप्सिनिस्टले तीन घण्टाभित्र ४७ हजारभन्दा बढी फोन कल प्राप्त गरेको प्रसङ्ग उल्लिखित छ ।
सुरु सुरुमा स्काइराइटिङमार्फत फोर्ड, क्रायस्लर जस्ता मोटर कम्पनीको विज्ञापन भएको पाइन्छ । सोही समयको सेरोफेरोमा ‘लक्की स्ट्राइक’ ब्रान्डको चुरोटको पनि विज्ञापन भएको इतिहास भेटिन्छ । सन् १९३२ मा अमेरिकी सफ्ट ड्रिङ्क्स ‘पेप्सीकोला’ ले पहिलो पटक स्काइराइटिङ प्रयोग गरेको इतिहास देखिन्छ । यसपछि २२ वर्षसम्म स्काइराइटिङमार्फत आफ्नो विज्ञापन गरेको पाइन्छ ।
‘स्मिथ सोनियन म्यागजिन’ का अनुसार सन् १९४० मा मात्रै ‘पेप्सीकोला’ ले अमेरिकाका ४८ राज्य, क्यानडा तथा दक्षिण अमेरिकामा आफ्ना उत्पादनबारे दुई हजारभन्दा बढी विज्ञापन गरेको थियो ।
प्राविधिक पक्ष
स्काइराइटिङमा आकाशको अवस्थाले निर्णायक भूमिका खेल्छ । स्काइराइटिङका लागि प्रयोग हुने विमानकोे उचाइ, गति तथा दिशाले पनि महत्वपूर्ण भूमिका खेल्छ । यसका अतिरिक्त विमानले फाल्ने धुवाँको अर्थपूर्ण व्यवस्थापनले यस कार्यमा उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
‘एरियल म्यासेजेज’ वेबसाइटमा प्रकाशित जानकारीका अनुसार १० हजारदेखि १५ हजार फिट उचाइमा सन्देश लेखिन्छ । एउटा अक्षर आधा माइल लामो हुन्छ भने समग्र म्यासेजको हरफ १५ माइलसम्म फैलिएको हुन्छ । आकाशमा लेखिने अक्षर वा आकृति २० मिनेटसम्म मात्र सग्लो अवस्थामा रहन्छ । त्यसपछि बिग्रन थाल्छ ।
पश्चिमी समाजको विज्ञापन चेत पनि गजबकै छ, यति क्षणभङ्गुरपूर्ण अवधिका लागि पनि विज्ञापनमा ठूलो रकम खर्च गरिन्छ । ‘प्लेन एन्ड पाइलट म्यागजिन’ का अनुसार स्काइराइटिङमा अवस्था अनुसार दुई हजार पाँच सयदेखि १५ हजार अमेरिकी डलर खर्च हुन्छ ।
स्काइराइटिङका लागि सफा र शान्त आकाश अपरिहार्य मानिन्छ । हावाहुरी, झरीबादल तथा अँध्यारोमा स्काइराइटिङ सम्भव छैन । यसलाई बीसौँ शताब्दीको विशिष्ट विज्ञापन पद्धति मान्न सकिन्छ । ‘एरोकर्नर वेबसाइट’ मा प्रकाशित लेखका अनुसार स्काइराइटिङका अक्षर वा आकृतिलाई ४८ किलोमिटर परबाट देख्न सकिन्छ ।
आकाशमा लेखिने अक्षर प्याराफिन तेल (paraffin oil) बाट निस्कने धुवाँबाट बनाइन्छ, जो वातावरणीय दृष्टिले सुरक्षित मानिन्छ । एउटा अक्षर एक माइल जति अग्लो हुन्छ भने एउटा अक्षर बनाउन ६० देखि ९० सेकेण्ड लाग्छ ।
आकाशमा कोरिएका सन्देश
स्काइराइटिङमार्फत विगतमा के कस्ता सन्देश लेखिए, यसबारे यथार्थ विवरण उपलब्ध छैन । यसबारे केही सानातिना र छुटपुट विवरण मात्र उपलब्ध छन् । ‘प्लेन एन्ड पाइलट म्यागजिन’ का अनुसार सन् १९१५ मा आर्ट स्मिथले तयार पारेको ‘गुड नाइट’ नै स्काइराइटिङको पहिलो सन्देश मानिएको छ ।
अमेरिकी म्यागजिन ‘द एट्लान्टिक’ को अनलाइन संस्करणमा प्रकाशित पूर्वउल्लिखित लेखका अनुसार सन् १९२४ जुनमा स्काइराइटिङ विधिबाट म्यानहाटनको आकाशमा ‘रिमेम्बर फ्ल्याग डे’ लेखिएको थियो ।
मन्ट्रियल विश्वविद्यालयका प्राध्यापक जिस्लान चिबुको सन् २०१९ मा प्रकाशित स्काइराइटिङसम्बन्धी शोधपत्रमा अमेरिकी आकाशमा लेखिएको राजनीतिक सन्देशबारे चर्चा गरिएको छ । शोधपत्रमा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति पदका प्रतिस्पर्धी मार्को रुयिबोका पक्षधरहरूले डोनाल्ड ट्रम्पविरुद्ध आकाशमा लेखाएको सन्देशको सामान्य विवरण दिइएको छ ।
मार्को रुयिबोका पक्षधरहरूले लेखाएका सन्देश हुन् : ‘अमेरिका इज ग्रेट’ (अमेरिका महान् छ), ‘ट्रम्प इज डिस्गस्टिङ’ (ट्रम्प घृणित छ) ‘एनिबडी बट ट्रम्प’ (ट्रम्पबाहेक जोकोही स्वीकार्य छ) जस्ता सन्देश लेखाएको उल्लेख गरिएको छ ।
यी सन्देश त स्काइराइटिङका सामान्य दृष्टान्त मात्र हुन् । विगतमा स्काइराइटिङमार्फत आकाशमा अनेकन् सन्देश लेखिए । भविष्यमा पनि लेखिने छन् ।
अमेरिकी विज्ञापन संस्कृति
पुँजीवादबाट निर्देशित आधुनिक समाजका लागि विज्ञापन अपरिहार्य पक्ष हुन गएको छ । कतिपयले विज्ञापनलाई अर्थतन्त्रको प्राणवायु नै मान्ने गर्छन् । यद्यपि विज्ञापन निर्विवाद र सर्वस्वीकार विषय भने मानिँदैन । विद्वत्वृत्त तथा प्राज्ञिक समुदायमा विज्ञापनको अनेकौँ कोणबाट चिरफार हुने गरेको पाइन्छ ।
विज्ञापनका नाममा गरिने धोकाधडीपूर्ण र बढाइचढाइपूर्ण प्रचारपसारबाट सर्वसाधारण नराम्ररी झुक्किन्छन् । यही वास्तविकतालाई देखेर विज्ञापनलाई झुटमुट र अवास्तविक जानकारीको खानीको उपमा दिएर तीव्र आलोचनासमेत गरिएको पाइन्छ । विज्ञापनले समाजलाई भ्रामक सूचना दिएर दिग्भ्रमित तुल्याउँछ भन्ने आशय राखेर अमेरिकामा अनेकन् पुस्तक लेखिएका छन् ।
त्यही अमेरिकी समाज हो, जहाँ एकातिर विज्ञापनले समाजमा पारेको असरबारे विभिन्न कोणबाट नकारात्मक टीकाटिप्पणी हुन्छ अर्कोतिर त्यही समाजमा विज्ञापनलाई हदैसम्म सराहना गरिन्छ । विज्ञापनको प्रशंसामा अनेक शानदार सार्वजनिक ‘लेक्चर’ दिइन्छ । त्यसैले अमेरिकी समाज अजब–गजबको छ भन्न करै लाग्छ ।
पुँजीवादले निम्त्याएको भोगवादी संस्कृतिमा रमाएका अमेरिकीहरू विज्ञापनलाई अर्थतन्त्रको इन्जिनलाई चलायमान बनाउने महìवपूर्ण चालकशक्ति मान्छन् । उनीहरू विज्ञापनलाई आर्थिक वृद्धिको ‘रचनात्मक क्रान्ति’ भन्नसमेत पछि पर्दैनन् । नोबेल पुरस्कार विजेतादेखि समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू विज्ञापनको खुलेर सराहना गर्छन् ।
एकेडेमिक रिसर्च इन्टरनेसन (डिसेम्बर २०१९) मा प्रकाशित विज्ञापनसम्बन्धी एक शोधपत्रका अनुसार सन् १९२५ मा अमेरिकाको ३१ औँ राष्ट्रपति हबट हुभरले विज्ञापन क्लबमा मन्तव्य दिँदै अमेरिकी जीवनमा विज्ञापन महत्वपूर्ण आर्थिक शक्तिका रूपमा स्थापित रहेको विचार व्यक्त गरेका थिए ।
यसैगरी सन् १९२९ मा अमेरिकी आन्तरिक तथा बाह्य व्यापार ब्युरोका तत्कालीन अध्यक्ष जुलियस क्लेनले विज्ञापनलाई विश्वको आर्थिक प्रगतिको एउटा मूलभूत तत्व भएको भन्दै विज्ञापनको प्रशंसा गरेको प्रसङ्ग पनि सोही शोधपत्रमा अङ्कित छ ।
उदार विज्ञापन संस्कृतिबाट प्रभावित भएर नै होला त्यहाँ स्काइराइटिङजस्तो क्षणभङ्गुरपूर्ण विज्ञापनमा उदार किसिमले खर्च गरिन्छ । त्यसो त अमेरिका विश्व विज्ञापनको विशालतम् बजारमध्ये एक मानिन्छ ।
स्काइराइटिङको भविष्य
अहिले ठूलो जनसमुदायमा क्षणभरमै पुग्ने अनेकन् सहज र सस्तो विज्ञापन प्रणाली भइसकेको छ । यस्तो अवस्थामा स्काइराइटिङजस्तो झन्झटिलो विधिको उतिविधि क्रेज छैन भन्ने विश्लेषण आइरहेका छन् । त्यसैले स्काइराइटिङप्रतिको आकर्षण कम देखिन्छ । हुन पनि हालका दिनमा विज्ञापनका धेरै वैकल्पिक उपाय उपलब्ध छन् ।
पश्चिमी गोलाद्र्धमा सन् १९५० को दशकमा टेलिभिजन लोकप्रिय हुन थालेपछि स्काइराइटिङको क्रेज घटेको अध्येताहरूको विश्लेषण छ । अहिले पनि धेरथोरमा स्काइराइटिङको अभ्यास जारी छ । यस्ता अभ्यास आवश्यकताले भन्दा पनि सोखले निर्देशित रहेको देखिन्छ । सोखिनहरूको साम्राज्यमा स्काइराइटिङजस्तो रोचक वैकल्पिक विज्ञापन विधिले भोलिका दिनमा पनि स्थान पाउने अपेक्षा गर्न सकिन्छ ।
आजभन्दा एक शताब्दीभन्दा पहिले नै सुरु भएको स्काइराइटिङलाई कतिपयले आधुनिक समयको ट्विटरसँग तुलना गर्ने गरेको पाइन्छ । यसका पछाडिको कारण के हो भने ट्विटरको सन्देश जति छोटो हुन्छ, त्यसभन्दा छोटो स्काइराइटिङको हुन्छ । यस आधारमा कतिपयले स्काइराइटिङलाई पुरानो जमानाको ट्विटर मान्ने गरेका छन् । स्काइराइटिङर र ट्विटरको यस प्रकारको नाता सम्बन्धलाई एउटा रोचक पक्ष मान्न सकिन्छ ।
अचेल फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सोसल मिडियाको जमानामा स्काइराइटिङ पहिले जस्तो हुँदैन किनभने आकाशमा लेखिएका सन्देश सोसल मिडियामा तत्कालै अभिलेखित हुन्छन् र सन्देश संसारभरका अडियन्सको फराकिलो घेरामा विस्तार हुन सक्छ ।
तमाम वस्तुस्थितिलाई विश्लेषण गर्दा स्काइराइटिङको भविष्य छैन भनेर किटान गर्न पनि सकिँदैन । यसको भोलिका दिन बहुधा उज्ज्वल छ भन्न पनि कठिन छ ।