• १२ साउन २०८१, शनिबार

स्कुलमा एलियन

blog

सन् १९७३ मा दुई जना मानिसले प्रहरीकहाँ गएर आफूहरूलाई एलियन (अज्ञात प्राणी) ले अपहरण गरेर लगेको दाबी गरे । प्रहरीले ठान्यो यी दुवैजना ढाँट्दै छन् । यसै कारण प्रहरीले दुवै जनालाई एउटा कोठामा एक्लै राखिदिए तर कोठामा गोप्य रूपमा ‘रेकर्डिङ’ उपकरण जडान गरिएको थियो । प्रहरी त्यतिबेला छक्क परे जब ‘रेकर्डिङ’ उपकरणमा उनीहरूले एलियनकै बारेमा कुरा गरिरहेको सुने । एलियनले आफूहरूलाई अपहरण गरेर लगेको र आफूहरू धेरै नै डराएको कुराकानी उनीहरूले गरेको सुनियो । 

सन् १९७३ अक्टोबर ११ को साँझ ४२ वर्षीय चाल्र्स हिक्सन र १९ वर्षीय क्याल्भिन पार्करले अमेरिकाको मिसिसिपी अन्तर्गतको ज्याक्सन काउन्टीका सेरिफ कार्यालयमा गएर दिएको बयान अनुसार मिसिसिपीको पास्कागौला नदी तटको एउटा घाटमा माछा मारिरहेका उनीहरूले अचानक भुँ गरेको आवाज सुने । साथै दुई वटा नीलो प्रकाश उनीहरूले देखे तथा करिब आठ फिट उचाइ भएको ३०–४० फिटको अण्डाकार वस्तुमा उनीहरूको नजर प¥यो ।

पार्कर र हिक्सनले दाबी गरे अनुसार लगत्तै उनीहरू होस्मा भए पनि पक्षाघात भएको जस्तो भए । रोबोट जस्तो चुच्चे अनुहार तथा गङ्गटो जस्ता भुजा भएका तीन प्राणीले उनीहरूलाई आफ्नो यानमा हालेर लगे, अनि परीक्षण गर्न थाले । परीक्षणपछि ती एलियनले आफूहरूलाई फर्काएको उनीहरूको दाबी थियो । 

यसैगरी सन् १९९४ मा बिबिसीका रिपोर्टर टिम लिचलाई जिम्बाब्वेको एक स्कुलमा भएको असामान्य घटनाको रिपोर्टिङ गर्न पठाइएको थियो । आफ्नो रिपोर्टमा उनले लेखे, “बरु म युद्ध क्षेत्रको रिपोर्टिङ सम्हाल्न सक्छु तर यो सक्दिनँ ।”

स्कुलमा देखिएको अज्ञात उडनतस्तरीसँग जोडिएको घटना थियो यो । सन् १९९४ सेप्टेम्बरमा जिम्बाब्वेको एक निजी स्कुलमा ६२ विद्यार्थी पढिरहेका थिए । एरियल प्राइमेरी स्कुलमा ती विद्यार्थीले अचम्मको वस्तु आकाशबाट जमिनमा उत्रँदै गरेको देखेका थिए । 

विद्यार्थीले भने अनुसार जब यान उत्रियो कालो लुगा लगाएका प्राणी उनीहरूको नजिक आए र उनीहरूलाई केही सन्देश दिएर गए । ती विचित्रका प्राणीलाई देखेर विद्यार्थीहरू स्तब्ध थिए र तीमध्ये केही रुन पनि थाले । यस घटनाले स्कुलको वातावरण नै खराब भयो । विद्यार्थीहरू ६–१२ वर्ष उमेर समूहका थिए । ती सबै विद्यार्थीको मुखमा घटनाका बारेमा लगभग उस्तै कथा सुनियो । उनीहरू सबैले वस्तुको चित्रसमेत समान नै कोरे । आजको दिनसम्म एरियन स्कुलमा अज्ञात उडनतस्तरी देखिएको घटनालाई  इतिहासले महत्वपूर्ण मानेको छ । 


बोमबहादुर रायमाझी