आइरन कर्टेन’ एक यस्तो अवैध वैचारिक बाध थियो जसले एक समय युरोपलाई पुँजीवादी र वामपन्थी समूहमा विभाजित गरिदिएको थियो । द्वितीय विश्वयुद्धको समापनसँगै सन् १९४५ मा यसको उत्पत्ति भयो र शीतयुद्ध जारी रहुँञ्जेल सन् १९८९–१९९० सम्म यो अस्तित्वमा रह्यो ।
युनियन अफ सोभियत सोसिलिस्ट रिपब्लिक (युएसएसआर) ले आफूलाई पश्चिमा राष्ट्रहरू, तिनका सहयोगी तथा अन्य गैरवामपन्थी राष्ट्रसँग खुला सम्बन्ध स्थापित गरेर पराश्रित ‘स्याटेलाइट स्टेट’ अर्थात् अन्य देशको नियन्त्रण भएको राज्यका रूपमा नरहने गरी निरपेक्ष राख्ने विचार र प्रयासको प्रतीक हो यो पारिभाषिक शब्द ।
‘आइरन कर्टेन’ शब्दको उत्पत्ति
मूलभूत रूपमा ‘आइरन कर्टेन’ शब्दले थियटरहरूको मञ्चमा आगोको प्रसार रोक्नका लागि सुरक्षार्थ अनिवार्य जडान गरिने फलामे पर्दालाई जनाउँछ । अन्ततः यो पृथकीकरणको विशिष्ट र कडा माध्यम बन्न पुग्यो, जुन सोभियत सङ्घले १९ औँ शताब्दीको आरम्भदेखि अवलम्बन गरिराख्यो ।
सन् १९१३ मा प्रबुद्ध रुसी दार्शनिक भासिली रोजानभले ‘द एपोकेलिप्स अफ आवर टाइम’ लेखे । लघु निबन्धको एक भागमा यो भनिएको थियो ‘झन् झन्, मचक्क र चुइँइ गर्दै रुसको इतिहासमा एउटा ‘आइरन कर्टेन’ पटाक्षेप भयो । तमासा सकियो ।
यसबीच सन् १९४३ मा ‘बिहाइन्ड द आइरन कर्टेन’ शीर्षकमा एउटा लेख प्रकाशित भयो । यसले आफ्नो कथन ‘आइरन कर्टेन’, जसले पहिलेको भन्दा धेरै नै अधिक सोभियत सङ्घलाई संसारबाट पृथक् गरेको छ । यसबाटै कैयौँ पश्चिमाको विश्वासलाई समर्थन गरेको थियो ।
यहाँ उल्लेख गर्नैपर्ने हुन्छ, अमेरिकी लेखक अलेक्जेन्डर क्याम्पबेलले सन् १९४५ मा लेखेको आफ्नो पुस्तक ‘इट्स योर एम्पायर’ मा फेरि ‘आइरन कर्टेन’ शब्दावली प्रयोगमा ल्याए । उनले लेखे “मौन र नियन्त्रणको ‘आइरन कर्टेन’ सन् १९४२ मा जापानको जितदेखि नै कार्यान्वयनमा छ ।”
शीतयुद्ध : ठोस तथ्यहरू
सोभियत सङ्घ र पश्चिमा राष्ट्रबीचको मनमुटावको जरा अनेक वैचारिक, राजनीतिक तथा आर्थिक पक्षसँग जोडिएको थियो । ती हुन् :
- रुसलाई गृहयुद्धतिर धकेल्ने घटनाहरू ।
- द्वितीय विश्वयुद्धताका र त्यसपछिका असहमतिहरू ।
- पूर्वी युरोपेली राष्ट्रहरूमा सोभियतीकरण ।
यी सन्दर्भले दुवै पक्षबीच असहयोग र प्रतिद्वन्द्विता उत्पन्न भयो, जो क्युबाली क्षेप्यास्त्र सङ्कटका कारण एक भयङ्कर मुठभेडको नजिक सोभियत सङ्घ र अमेरिका पुगेका थिए ।
सोभियतीकरणको प्रभाव
सोभियत राजनीतिक प्रणाली अपनाउन प्रोत्साहन गर्ने प्रयास वा सोभियतीकरण अगाडि बढ्दै जाँदा ‘इस्टर्न ब्लक’ अर्थात् पूर्वी युरोपलाई कडा रूपमा निषेधित क्षेत्र बनाइयो ।
जोसेफ स्टालिनले ती बिन्दुमा प्रभावकारी रूपमा बन्देज लगाइदिए, जहाँ विदेशी सञ्चारकर्मी र कूटनीतिज्ञको प्रवेश जतिसक्दो न्यून हुन गयो । यस्तो पनि मानिएको थियो, ‘आइरन कर्टेन’ पछाडि के खिचडी पाक्दैछ त्यसको केही जानकारी मित्रराष्ट्रका सरकारसँग थियो । यसको सम्भावना अधिक थियो किनभने उनीहरूले सैन्य गोपनीयता चोर्न सोभियत सङ्घमा आफ्ना जासुस खटाएका थिए । मित्रराष्ट्र जान्न चाहन्थे सोभियत सङ्घको बढ्दो वैश्विक शक्तिलाई नियन्त्रण गर्न सम्भव छ कि छैन तर यो कदमलाई बेइमानी भन्न सकिँदैन किनभने सोभियत सङ्घले पनि उनीहरूसँग यस्तै खालको व्यवहार गरिरहेको थियो ।
सोभियत सङ्घ र पश्चिमाबीच बढेको तनाव
विशेषगरी विस्टन चर्चिल सोभियत सङ्घको विस्तारवादी नीतिले चिन्तित थिए । याल्टामा गरेको प्रतिबद्धताबाट स्टालिन पछाडि हटिरहेको आरोप चर्चिलको थियो । उनलाई भय थियो अमेरिका अब युद्धपूर्वको जस्तो शक्ति रहने छैन तथा त्यसबाट बेलायत एक्लो पर्न सक्छ र अमेरिकामाथि आश्रित युरोपेली देशहरू सोभियत हमलाको प्रतिवाद गर्न सक्ने छैनन् ।
यही भयले ‘ट्रुम्यान डक्ट्रिन’ अर्थात् ट्रुम्यान वाद प्रादुर्भाव भयो । यस वादमा भनियो, “आन्तरिक वा बाह्य सत्तावादी शक्तिबाट खतराको अवस्थामा परेका सबै प्रजातान्त्रिक देशलाई अमेरिकाले राजनीतिक, सैन्य र आर्थिक सहयोग उपलब्ध गराउने छ ।”
‘आइरन कर्टेन’ लाई जनजिब्रोको वाक्यांश बनाइदिने भाषण
सन् १९४६ मार्च ५ मा अमेरिकाको मिजौरीमा पर्ने फुल्टनमा विन्स्टन चर्चिलले आफ्नो भाषणमा ‘आइरन कर्टेन’ भनेपछि यो शब्द लोकप्रिय हुन थाल्यो ।
उनले भनेका थिए, “बाल्टिकमा स्टेटिनदेखि एड्रियाटिकको ट्राइस्टेसम्म पूरै महादेशमा ‘आइरन कर्टेन’ देखिएको छ । मध्य तथा पूर्वी युरोपका प्राचीन राज्यका सबै राजधानी त्यस लक्ष्मण रेखाको पछाडि पर्दछन् । वार्सा, बर्लिन, प्राग, भियना, बुडापेस्ट, बेल्ग्रेड, बुखारेस्ट र सोफिया यी सबै प्रख्यात सहर तथा ती वरिपरिको सबै जनसङ्ख्या त्यस अन्तर्गत परेका छन् जसलाई मैले सोभियत वृत्त भन्नु पर्छ र यी सबैमा कुनै न कुनै रूपमा सोभियत प्रभाव परेको मात्र छैन, अधिकतमदेखि केही मामिलामा मास्कोको बढ्दो नियन्त्रणको अधीनमा छन् ।”
चर्चिल, द सिन्युज अफ पिस
‘द सिन्युज अफ पिस’ शीर्षकमा बेलायती प्रधानमन्त्री चर्चिलले अमेरिका र बेलायतबीच एउटा बलियो सम्बन्ध बनाइनु आवश्यक रहेको विषयमा जोड दिएका थिए । यसले शीतयुद्धमा प्रवेश पायो तथा सोभियत सङ्घ र पश्चिमा शक्तिलाई एकआपसका विरुद्ध उभ्यायो । यसबाट आगामी चार दशक वा त्यसभन्दा बढी अवधिको भूराजनीतिक परिदृश्य तयार हुन पुग्यो ।
चर्चिलको ऐतिहासिक भाषणको अभिप्राय थियो राष्ट्र, सहर र जनताबीचको विभाजन पूर्णतया वैचारिक हो, प्रजातन्त्र र वामपन्थी विचारधाराबीचको प्रतिकात्मक विभाजन खतरनाक भएकाले यो वास्तविक फलामभन्दा पनि अभेद्य छ ।
जोसेफ स्टालिनले चर्चिलको भाषण युद्धोत्तेजक भनेर भत्र्सना गरे । उनले दाबी गरे यो त अर्को हमलाको विरुद्ध सतर्कता कदम मात्र हो । उनले के पनि आरोप लगाए भने बेलायती प्रधानमन्त्री पूर्वी युरोपमा दक्षिणपन्थी सरकार (रिङ–विङ गभर्मेन्ट) स्थापित गरेर सोभियत सङ्घ हाबी भएका राज्यलाई उक्साउन चाहन्छन् ।
‘आइरन कर्टेन’ र ‘बर्लिन वाल’
सीमा सुरक्षाको एक स्वरूप थियो ‘आइरन कर्टेन’ । यसले अन्ततः अलार्म, निगरानी टावर, बारुदी सुरुङ तथा सुरक्षामा खटिएका सैनिकसम्मको भौतिक रूप धारण गर्यो । यसको कठोर बन्देज सन् १९५३ मा स्टालिनको निधन भएपछि सुरु भएको शक्ति सङ्घर्षका कारणले केही हदसम्म खुकुलो भएको थियो ।
तथापि कङ्क्रिट र काँडे तारद्वारा सन् १९६१ मा एक सय ५५ किलोमिटर लामो ‘बर्लिन वाल’ (बर्लिनको पर्खाल) को निर्माण गरिएपछि ‘आइरन कर्टेन’ ले फेरि कठोर रूप धारण ग¥यो र सोभियत सङ्घ हाबी भएका देशहरूबाट पश्चिमा देशमा नागरिकले जान नपाउने भए ।
यसको एक मात्र उद्देश्य थियो मानिसलाई भित्रै र सूचनालाई बाहिरै राख्ने । यसर्थ ती देशका नागरिकले एकपक्षीय बहस मात्र सुन्न पाउँथे । अमेरिकाको ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सिआइए) द्वारा आर्थिक सहयोग प्राप्त ‘रेडियो फ्रि युरोप’ ले ‘आइरन कर्टेन’ पार गरेर सोभियत सङ्घमा नियन्त्रित समाचारको विकल्पमा पूर्ण सेवा प्रदान गर्ने कोसिस गरेको थियो तर दुर्भाग्यले त्यसको प्रसारण दीर्घकालीन हुन सकेन । सोभियत सङ्घले सञ्चारमाध्यममाथि कडा निन्यन्त्रण मात्र बनाएन वैकल्पिक प्रसारणलाई अवरुद्ध पार्ने प्रविधि ‘ज्यामर’ समेत प्रयोगमा ल्यायो ।
‘आइरन कर्टेन’ को पतन
सन् १९८९–१९९० बीच ‘आइरन कर्टेन’ को अस्तित्व त्यतिबेला समाप्त भयो जब स्वतन्त्रता र न्यायको आवाज अभूतपूर्व रूपमा घन्कियो । जब सन् १९८९ मे मा हङ्गेरीले अस्ट्रियासँगको आफ्नो सिमाना खोल्ने निर्णय गर्यो ‘आइरन कर्टेन’ विरुद्धको अभियान सुरु भयो । जसै हङ्गेरीको निर्णयको हावा युरोपमा फैलियो मजदुर सङ्गठन ‘सोलिडारिटी’ ले सन् १९८९ मा आंशिक स्वतन्त्र निर्वाचनमा ठूलो जित हासिल गर्यो । जो पोल्यान्डमा साम्यवाद पतनको मुख्य कारण बन्न पुग्यो ।
सन् १९८९ मा सुरु भएको आन्दोलनको शृङ्खलाबद्ध प्रतिक्रिया सुरु भएर हङ्गेरी, पूर्वी जर्मनी, बुल्गेरिया र चेकोस्लोभाकियासम्म त्यसको राप पुग्यो ।
मानिसहरू अहिंसात्मक प्रदर्शन तथा नागरिक प्रतिरोधका माध्यमबाट परिवर्तनको पैरवी गर्न थाले । वामपन्थी सरकार ढाल्नका लागि रोमानियामा मात्र नागरिक र विपक्षी शक्तिबीच हिंसा भयो । त्यसबाहेक सबैतिर शान्ति पूर्वक ‘आइरन कर्टेन’ पटाक्षेप भएको थियो ।
–उमेश ओझाद्वारा अनुवादित र सम्पादित ।