• १० असार २०८२, मङ्गलबार

शारीरिक सुगठन एक कलात्मक खेल

blog

के बडिबिल्डिङलाई खेल मानिनु पर्छ ? बोलीचालीको भाषामा यस खेललाई बडिबिल्डिङ स्पोर्ट्स र बडिबिल्डरलाई बडिबिल्डिङ खेलाडी भन्ने गरिन्छ तर ओलम्पिकका दृष्टिले भन्नु पर्दा यसको अन्तर्यमा जानु जरुरी छ ।  

शारीरिक सुगठनको शाब्दिक अर्थ शरीरलाई सुगठित अर्थात् विकसित मांसपेशीसहित सुष्ठु बनाउनु हो । जसरी एउटा शिलालाई आकार दिन छेना, हतौडा तथा रचनात्मक शिल्पी हात चाहिन्छ त्यस्तै शारीरिक सुगठक बन्न कोसिस, मनोभाव, विश्राम र पोषण आवश्यक पर्दछ । 

पुराण र धार्मिक ग्रन्थहरूमा भनिएको छ, गुरुकुलमा पठनपाठन गर्ने राजपरिवारका कुमार, सम्भ्रान्त तथा कुलीन वर्गका किशोरले ज्ञान आर्जन गर्नु साथै शस्त्रास्त्र विद्याको तालिमसमेत लिन्छन् । उनीहरू अध्ययनका साथै शस्त्र लिएर दैनिक अभ्यास गर्छन् । भोजनबारे एउटा दृष्टान्त छ, महाभारतमा पाण्डवको गुप्तवासका बेला भिक्षामा पाएको जेजस्तो भोजन, अन्न आदि सबैभन्दा बढी बलिष्ठ भीमलाई पस्कने गरिन्थ्यो । भन्न खोजेको के भने बढी बलपूर्ण कार्य गर्न त्यही अनुरूपको भोजन लिनु आवश्यक छ । यो कुरा आधुनिक स्ट्रेन्थ ट्रेनिङ र हाइपरट्रोफिक अर्थात् मांसपेशी विकासको सिद्धान्तसँग मेल खान्छ । 

त्यस्तै पश्चिमेली सभ्यताको कुरा गर्ने हो भने प्राचीन ग्रिसमा मांसपेशी बनाउने परम्परा रहेको इतिहास छ । उनीहरू सुडौल शरीरमा ईश्वरको बास हुन्छ भन्ने मान्दथे । काठमाडौँका रैथाने नेवारले समेत शरीरमा ईश्वर हुने भनी म्हः पूजा गर्छन् । यसै सन्दर्भमा महाकवि कालिदासले आफ्नो महाकाव्य ‘कुमारसंभवम्’ मा उपनिषद्लाई उद्धृत गर्दै ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ लेखेका छन् । 

जस अनुसार शरीर नै सबै धर्म (कर्तव्य) पूरा गर्ने साधन हो । अर्थात्ः शरीर स्वास्थ्य बनाई राख्नु पर्दछ किनकि यही शरीर नै मूल हो । अतः शरीरको रक्षा गरी निरोगी हुनु पर्छ । शरीरको रक्षा इच्छा मात्र राखेर त हुने होइन त्यसका लागि पोषणयुक्त भोजन, संयमित जीवन तथा आवश्यक शारीरिक क्रियाकलाप वा नियमित व्यायाम गर्नै पर्‍यो ।

पौराणिक उल्लेख तथा उपनिषद्को ज्ञानबाट हटेर शारीरिक सुगठन खेललाई केलाउँदा ११ औँ शताब्दीतिर भारतीय उपमहाद्वीपमा युवा ‘नल’ नामक ढुङ्गालाई डम्बेलका रूपमा प्रयोग गरेर व्यायाम गर्थे । १६ औँ शताब्दीतिर त्यहाँ भारोत्तोलन लोकप्रिय भयो । 

आधुनिक शारीरिक सुगठनको सूत्रपात भने सन् १८६७ अप्रिल २ मा जर्मनीका फ्रेड्रिच विल्हम म्युलरले गरेको भन्न सकिन्छ । पछि गएर उनी युजिन स्यान्डो नामबाट आधुनिक बडिबिल्डिङका पिता कहलिए । उनी १० वर्षे उमेरमा इटाली गए र शारीरिक सुगठन खेलमा आकर्षित भई प्रोग्रेसिभ रेसिस्ट्यान्स एक्सरसाइज तथा वेट ट्रेनिङ गर्न थाले । सन् १८८९ मा उनी लन्डन पुगे । त्यस बेलाको समाजमा शारीरिक सुगठन श्रमजीवीहरूको खेल हो भन्ने धारणा व्याप्त थियो र यस खेललाई हेय दृष्टिले हेरिन्थ्यो । त्यसबेलाका व्यायामशाला पनि हावाको प्रवाहसमेत राम्रो नभएका चिसो छिँडी जस्ता ठाउँमा बनाइएका हुन्थे ।  

युजिन स्यान्डोले लन्डनमा उच्च वर्गीयको बसोवास रहने ३२ सेन्ट जेम्स, पिकाडीले सर्कसमा आधुनिक सुविधायुक्त शानदार व्यायामशाला स्थापना गरे । जहाँ हेल्थ फुड बार, सङ्गीत पार्लर, लाइब्रेरी, कन्सल्टेन्सी रुम तथा व्यायामशालाका भित्तामा व्यायामकर्ताले आफ्नो पूर्ण कदको छवि देख्न सक्ने ऐना जडान गरिएको थियो । स्यान्डो इन्स्टिच्युट नामक फिजिकल कल्चर र स्ट्रेन्थ ट्रेनिङ सेन्टर सञ्चालन गरेर बडिबिल्डिङ श्रमजीवीको खेल भन्ने धारणालाई मिथ्या साबित गरिदिए । 

उनको उक्त जिममा उच्च र सम्भ्रान्त वर्गका व्यक्तिलाई आकर्षित गर्ने शानदार वातावरण उपलब्ध थियो । त्यहाँ चाँडै सम्भ्रान्त वर्गका मानिसको उल्लेख्य उपस्थिति हुन थाल्यो । उनले विश्वमा पहिलो पटक बडिबिल्डिङ पत्रिका ‘स्यान्डोज म्यागजिन फर फिजिकल कल्चर’ पत्रिका प्रकाशित गरे । उनैले सन् १९०१ सेप्टेम्बर १४ मा ‘दी ग्रेट कम्पिटिसन’ नामबाट लन्डनको अल्बर्ट हलमा बडिबिल्डिङ प्रतियोगिता आयोजना गरेका थिए । यसको विजेता बने नइटिङ्घमका विलियम एल मुरे । 


दी ग्रेट कम्पिटिसनदेखि बडिबिल्डिङ प्रतियोगितामा प्रचलित केवल लिफ्टिङ वा बलको प्रदर्शनबाट हटेर एस्थेटिक फिजिक्ससहितको आधुनिक बडिबिल्डिङ प्रतियोगिता हुन थालेको हो । बडिबिल्डिङमा यस्तै अनेक क्रान्तिकारी कार्यबाट प्रभावित भएर सन् १९११ मा इङ्ग्ल्यान्डका राजा जर्ज भी ले उनलाई ‘प्रोफेसर अफ साइन्टिफिक एन्ड फिजिकल कल्चर टु हिज मेजेस्ट्री’ सम्मान प्रदान गरेका थिए । 

त्यस्तै सन् १९१४ सेप्टेम्बर २६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा जन्मेका फ्य्राँकोइस हेनरी लालान फिटनेस र न्युट्रिसन क्षेत्रका महान् हस्ती थिए तर फिटनेसका अनुयायी उनलाई ज्याक लालान भन्न रुचाउँथे । बाल्यकालमा उनलाई औधि गुलियो खाने लत लागेको थियो । एकदिन उनलाई एक स्वास्थ्य अनुमोदक पाउल ब्याग्रले कटु वाक्य भने, “तिमी त हिँडडुल गर्ने फोहोरको एक ढ्वाङ हौ ।” किशोर ज्याकलाई ब्याग्रको कटु वाणी मनमा बिझ्यो । उनले गएर घरको पछाडि एउटा जिमखाना निर्माण गरे । जहाँ उनी दिनहुँ २ घण्टा भारोत्तोलन र पोखरीमा एक घण्टा पौडी खेलमा बिताउन थाले । उनी अमेरिकी फिटनेस तथा न्युट्रिसन गुरु थिए ।

सन् १९३६ मा जब उनी मात्र २१ वर्षका थिए तब उनले अकल्याक्ड, क्यालिफोर्नियामा पहिलो राष्ट्रिय हेल्थ स्टुडियो स्थापना गरे । जसले जिम व्यवसायमा एक किसिमले क्रान्ति नै ल्यायो । त्यसबेला जिमखाना अन्य खेलका खेलाडी वा महिलाका लागि उपयुक्त मानिँदैनथ्यो । उनले खेलाडी तथा महिलालाई जिमखाना आउन उत्पे्ररित गरे । उनले विश्वमा सबैभन्दा पहिला  leg extension, pulley, weight selector machines  आविष्कार गरे । ज्याकले अमेरिकी टेलिभिजन सो मा सन् १९५१ देखि १९८५ सम्म लगातार ‘The Jack LaLanne show’ आयोजना गरेका थिए । 

त्यस्तै बडिबिल्डिङ खेललाई उचाइमा पुर्‍याउने अर्का महान् व्यक्तिका बारेमा भन्नु पर्दा अमेरिकाको मोन्टानामा स्कोबीको डानियल काउन्टी सेमेट्रीमा रहेका चिहानमध्ये एउटाको हेडस्टोनमा यस्तो लेखिएको छ,  ए म्यान अफ भ्याल्यु स्टेफेन एल रिभ्ज जनवरी २१, १९२६ – मे १, २००० । उक्त चिहान विश्व प्रसिद्ध शारीरिक सुगठक, युरोपका तत्कालीन सबैभन्दा महँगा सिने कलाकार, रेन्चर तथा सफल व्यापारी स्टिभ रिभ्जको हो । विश्वका लागि उनी हरकुलस र शारीरिक सौष्ठवको धनी, मोहक र सुदर्शनीय व्यक्ति थिए । शारीरिक सुगठन खेल जगत्का लागि भने उनी सधैँका लागि ‘दी परफेक्ट फिजिक्स’ हुन् । बाल्यकालमा स्टेफेन लास्टर रिभ्ज र पछि स्टिभ रिभ्ज नामले प्रख्यात उनले शारीरिक सुगठन खेल जगत्मा प्रवेश गर्नुपूर्व यस खेलका च्याम्पियनलाई विश्व समाजले खासै भाउ दिँदैनथ्यो र कसैले गन्दैनथे । 

उनी प्रख्यात ज्याक लालानबाट प्रभावित भएर कम्मर सानो कायम राखेर आफूलाई मस्कुलर फिजिक्स विकसित गर्ने प्रेरणा मिलेको भन्ने गर्थे । महान् शारीरिक सुगठक तथा सात पटकका मिस्टर ओलम्पिया, आर्नोल्डले समेत उनलाई आफूभन्दा पर्फेक्ट बडिबिल्डर मान्छन् ।

अरू पनि थुप्रै महान् हस्तीको योगदान रहेको छ यसको विकासमा । 

सन् १९३० देखि १९७० यस खेलको विकासमा स्वर्ण काल मानिन्छ । एमेच्योर एथलेटिक युनियनले सन् १९३९ मा ‘मि. अमेरिका’ प्रतियोगिता आयोजना गर्‍यो । शारीरिक सुगठन खेल जगत्मा विश्व प्रख्यात जोन ग्रीमिकले लगातार दुई पटक उक्त पदवी हासिल गरे ।

सन् १९४६ मा क्यानडाका दाजुभाइ वेन वाइडर र जो वाइडरले इन्टरनेसनल फेडरेसन अफ बडिबिल्डर्स स्थापना गरे । स्थापना गर्दा केवल दुई राष्ट्र संयुक्त राज्य अमेरिका र क्यानडा मात्र यसका सदस्य थिए । अहिले दुई सयको हाराहारीमा यसका सदस्य राष्ट्र रहेका छन् । 

समयसँगै यस संस्थाको दायरा फैलिँदै गएर शारीरिक सुगठनबाहेक विभिन्न फिटनेस प्रतियोगिता पनि थपिँदै गए । यसरी दायरा फैलिएसँगै इन्टरनेसनल फेडरेसन अफ बडिबिल्डर्स परिवर्तन भएर इन्टरनेसनल फिटनेस एन्ड बडिबिल्डिङ फेडरेसन बन्न गयो । 

सन् १९५० मा स्थापित नेसनल एमेच्योर बडिबिल्डर्स एसोसिएसन ब्रिटेनमा स्थापना भएलगत्तै अर्को मि. युनिभर्स बडिबिल्डिङ च्याम्पियनसिप आयोजना गरियो र स्टिभ रिभ्जले उक्त प्रतियोगिता जिते । 

मि. युनिभर्स बडिबिल्डिङ च्याम्पियनसिप नामबाट दुई वटा प्रतियोगिता आयोजना हुन थालेपछि फेडरेसनले सन् १९७६ देखि आफूले आयोजना गर्दै आएको मि. युनिभर्स पविर्तन गरी मि. वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिप आयोजना गर्न थाल्यो तर विभिन्न राष्ट्रमा फेडरेसन अन्तर्गत मि. युनिभर्स आयोजना भइरहेको छ । प्रथम मि. वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपदेखि मात्र शारीरिक सुगठन प्रातियोगितामा खेलाडीको शारीरिक तौल समूह स्थापित भएको हो ।

सन् १९५९ देखि १९६९ सम्म प्रतियोगिताहरू खुला अर्थात् वेट डिभिजनरहित हुन्थ्यो । सन् १९७० देखि १९७५ सम्म हाइट डिभिजनमा प्रतियोगिता हुन्थ्यो । जसमा अप टु एन्ड इन्क्लुडिइङ पाँच फिट पाँच इन्च होचो समूह, सोभन्दामाथि अप टु एन्ड इन्क्लुडिइङ पाँच फिट आठ इन्च मझौला समूह र सोभन्दामाथि अग्लो समूह गरी कुल तीन समूह थियो । त्यसबेला तीन समूहका विजेताबीच ओभर अल प्रतियोगिता गरिन्थ्यो ।

शारीरिक सुगठन खेलको सबैभन्दा ठूलो प्रतियोगिता प्रख्यात मि. ओलम्पियाको स्थापना उनै दाजुभाइ वेन र जो वाइडरले गरेका थिए । सन् १९६५ सेप्टेम्बर १८ मा प्रथम पटक यो प्रतियोगिता आयोजना गरियो । ल्यारी स्कट प्रथम मि. ओलम्पिया भए । ली हेनी र रोनी कोलम्यान आठ आठ पटक मि. ओलम्पिया बनेका थिए । वल्र्ड च्याम्पियन बडिबिल्डर तथा हलिउड एक्सन हिरो आर्नोल्ड स्वार्जेनगर र फली हिथ सात सात पटक मि. ओलम्पिया बने । हाल यो प्रतियोगिताका विजेतालाई छ लाख अमेरिकी डलर पुरस्कार प्रदान गरिन्छ ।

शारीरिक सुगठन खेलको कुम्भ मेल आर्नाेल्ड क्लासिकको स्थापना आर्नाेल्ड र कोलम्बियाका लोरिमेरको संयुक्त प्रयासबाट भएको हो । यो एक मल्टी स्पोर्ट फेस्टिभल हो । सबैभन्दा पहिला यसमा मार्सल आर्ट र जिम्न्यास्टिक खेल संलग्न गरिएको थियो । अहिलेसम्म ५० भन्दा बढी खेल सम्मिलित गरिसकिएका छन् । जसमध्ये १४ वटा ओलम्पिकमा खेलिने खेल छन् भने सात  IFBB professional league मा खेलिने खेल छन् । साथै दी आर्नाेल्ड स्ट्रङ्गम्यान क्लासिक र विश्व प्रसिद्ध एमेच्योर शारीरिक सुगठन प्रतियोगिता पनि आयोजना गरिन्छन् । यिनमा ८० राष्ट्रका १८ हजारभन्दा बढी खेलाडीको सहभागिता हुने गर्दछ ।

बडिबिल्डिङलाई खेल मानिनु पर्छ । सन् १९७० को दशकतिर फेडरेसनका संस्थापक अध्यक्ष वेन वाइडरको अथक मेहनत र प्रयासका कारण यस खेललाई ओलम्पिक मेडल स्पोर्टमा सम्मिलित गरिनै लागेको थियो तर विभिन्न कारणले यसलाई ओलम्पिक स्पोर्टको मान्यता दिन नमिल्ने आवाज उठ्यो । 

यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलगायतले प्रमुख तीन कारण दर्साए । पहिलो कारण मानियो यस खेलका खेलाडीले औधि स्टेर्‍वाइड प्रयोग गर्छन्, दोस्रोमा यो खेलमा खेल भावना नहुनु र तेस्रोमा यो खेलको निर्णायक व्यक्तिपरक हुनु हो । 

–युवामञ्च