नयाँ सडक अर्थात् न्युरोड काठमाडौँ शहरको व्यापारिक केन्द्र मानिन्छ । यो सडक बनेपछि नेपालमा आधुनिकताको सुरुवात भएको थियो । जुद्ध सडक नामकरण गरिएको नयाँ सडकमा मोटर, कार र साइकल दौडिन थालेसँगै व्यापारिक चहलपहलले त्यो क्षेत्र गुल्जार बन्न पुग्यो ।
नयाँ सडक निर्माणको इतिहास करिब ९० वर्ष पुरानो छ । यो नेपालको पहिलो कालोपत्रे सडक हो र व्यापारिक केन्द्र बनेपछि आधुनिक जीवनशैलीमा रमाउनेहरूका लागि प्रमुख गन्तव्य बन्यो । अहिले पनि न्युरोड क्षेत्र सवारीसाधनको बाक्लो चाप, सर्वसाधारणको भिडभाड र व्यापारिक चहलपहलले गुल्जार नै रहन्छ । उपभोक्ताका लागि आवश्यक सबै वस्तु उपलब्ध हुने स्थानका रूपमा न्युरोड परिचित छ ।
१९९० सालअघि पाको, पुखुलद्यः र फसिकेव गरी तीन टोल थिए । तिनै टोलको बीच भाग चिरेर नयाँ सडक बनाइयो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले ९० सालमा भूकम्प गएपछि नयाँ शहर बसाउने योजना अनुरूप फराकिलो सडक बनाएका थिए । “सडकको एकपट्टिको भाग पक्की (पिच) र अर्कोपट्टि ग्राभेल थियो ।” पाकोका स्थानीय निरग मानन्धर भन्छन्, घोडचढी तथा बग्गी ग्राभेलमा तथा कार, मोटर र साइकल पिचमा कुद्थे ।
पहिलो पिच सडक भएकाले अनुभवको अभावमा घोडा दौडाउँदा चिप्लिन्छ कि भन्ने भ्रम थियो । सडकको दुवैतिर सर्वसाधारणलाई हिँड्न फराकिलो फुटपाथ (सडकपेटी) बनाइएको थियो । उनका अनुसार त्यो बेला युरोपेली शैलीको सडक बनेको देख्दा जो कोही प्रधानमन्त्री जुद्धशमशेर बौलाए कि भन्थे । सडकमा गुड्न आजको जस्तो पर्याप्त गाडी, मोटर थिएनन् । फुटपाथमा हिँड्नलाई न मान्छे नै थिए ।
भूकम्पपीडितको उद्धार, उपचार र राहतमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्थानीय नागरिकले नै चन्दा उठाएर सम्मानस्वरूप जुद्धशमशेरको सालिकसमेत बनाएका थिए । भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्ने शर्तमा वसन्तपुरदेखि न्युरोड गेटसम्म जुद्ध सडक बनेपछि सालिकलाई मध्यमा पारेर उत्तरमा इन्द्रचोक, दक्षिणमा पुरानो भन्सार (टेवहाल) सम्म अर्को फराकिलो सडक बनाइयो ।
जुद्ध सालिकको चारै दिशामा सिधा र फुटपाथ भएको फराकिलो सडक अझै देख्न सकिन्छ । सडकको दायाँबायाँ पसल तथा कवल राख्न मिल्ने गरी एकै किसिमको घर बनाउन लगाइएको थियो । यस्तो घर बनाउनेको ऋण मिनाहा गरिएको लेखक एवं साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । दरबारमा आउने विदेशी पाहुनालाई नेपालको चिनोस्वरूप केही सामान किनमेल गराउन यिनै पसल तथा कवलमा लैजाने चलन थियो ।
सुरु सुरुमा जुद्धमार्ग नामकरण गरिए पनि विदेशी ग्राहक र मारवाडी व्यापारीको उपस्थितिसँगै नयाँ सडकको नाम न्युरोडमा रूपान्तरण हुन पुग्यो । अचेल सबैले न्युरोड नै भन्ने गर्छन् । न्युरोड क्षेत्रमा फुटपाथ पार्किङ त्यो बेलादेखि नै थियो । साहित्यकार श्रेष्ठका अनुसार विशाल बजार बनेपछि मात्र व्यवस्थित पार्किङ सञ्चालनमा आएको हो । कार, मोटर न्युरोड सडक र पिपलबोट वरिपरि नै पार्किङ गरिएका हुन्थे ।
थोक तथा खुद्रा पसल, अन्तर्राष्ट्रिय ब्रान्डको गुणस्तरीय सामानको व्यापार, नेपाली हस्तकलाका पसल, सुन, चाँदी तथा हिरामोतीका कलात्मक गरगहनाको उत्पादन र बिक्री गर्ने परम्पराको विकास पनि यहीँ न्युरोडबाट भएको थियो । त्यस्तै गाडी, मोटर र साइकल खरिद बिक्री, भाडामा लिएर चढ्ने संस्कृति, रातबिरात सुत्नलाई होटेल र खाजा, नास्ता खान रेस्टुरेन्ट जाने परम्पराको थालनी पनि न्युरोडबाट सुरु भएको मानिन्छ ।
केही फोटो स्टुडियो, चलचित्र घर, बैङ्क, छापाखाना, पब्लिक स्कुल (हालको जुद्धोदय), दमकल, नगरपालिका कार्यालय, असरल्ल पत्रपत्रिका पसल, जुत्ता चप्पल सिलाइ जस्ता अनौठो र नौलो व्यवसायका कारण पनि न्युरोड त्यो बेलादेखि चलायमान बन्दै आयो । नयाँ सडक बने पनि नेवार समुदायको बाक्लो बस्ती रहेको पाको, पुखुलद्यः र फसिकेव टोल हराएका छैनन् । हाल यी टोलमा नेवार समुदायको बाक्लो बसोबास नभए पनि टोलको नाम भने सुन्न पाइन्छ ।
नेपाल भाषा पाः को अर्थ मुनि र क्यः (को) अर्थ स्थित हुन्छ । त्यस्तै पुखुलद्यः भिरालो जमिन र पोखरी भन्ने अर्थ हुन्छ । पाको पुखुलद्यः भिरालो जमिनमुनिको पोखरी रहेको स्थान हाल नेपाल बैङ्क लिमिटेडको भवन बनेको ठाउँ हो । न्युरोड गेट भने राजा त्रिभुवनको राज्याभिषेकका अवसरमा दुइटा हात्ती छिर्न मिल्ने गरी बनाइएको थियो । हाल इन्द्रचोकसम्मको सडकलाई शुक्रपथ र टेबहालसम्मको सडकलाई धर्मपथ नामकरण गरिएको छ ।
राणा शासकहरूले भित्र्याएको आधुनिक जीवनशैलीका कारण न्युरोड गुल्जार बन्दै गर्दा रैथाने नेवार समुदाय विस्थापित हुन पुगे । यस क्षेत्रमा व्यापार व्यवसायका लागि बाह्य व्यापारीले प्रवेश पाए । परापूर्वकालदेखि असन–इन्द्रचोक क्षेत्रमा चल्दै आएको आकाशमुनिको व्यापार न्युरोडका कारण पसल, कवल र सटरमा व्यवस्थित भएको थियो । परम्परागत व्यापार सुपरमार्केटमा सरेसँगै सडकको अगाडिको भागमा सुनचाँदीको व्यापार फस्टाएको छ । अचेल न्युरोड गेटदेखि इन्द्रचोकसम्म जताततै सुनचाँदी पसल देख्न सकिन्छ । नेपालको पहिलो सुपरमार्केट विशाल बजार पनि न्युरोडमै निर्माण भएको थियो ।
–देवबहादुर कुँवर
–युवामञ्च