• २६ वैशाख २०८१, बुधबार

तामझाम धेरै पदक दुई

blog

चीनको होङजाउमा सम्पन्न १९ औँ एसियाली खेलुकद (एसियाड) मा नेपालले दुई वटा पदक मात्रै जित्न सक्यो । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म भएको एसियाडमा नेपाललाई एक रजत र एक कांस्य पदक मात्र प्राप्त भयो । तर यसपालि जितेको पदक भने विशिष्ट छ । नेपालले पहिलो पटक कराँतेमा रजत पदक जित्यो भने एसियाडमा पहिलो पटक सहभागिता जनाएको महिला कबड्डी टोलीले कांस्य पदक हात पा¥यो । 

एरिकालाई ऐतिहासिक रजत

कराँते खेलाडी एरिका गुरुङले एसियाडमा ऐतिहासिक रजत पदक जितिन् । होङजाउस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । 

फाइनलमा एरिका काजखस्तानकी सोफ्या बेरुल्तसेभाद्वारा ३–० अङ्कले पराजित भइन् । यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अङ्कले हराएकी थिइन् । 

एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत पदक हो । व्यक्तिगत स्पर्धामा भने दोस्रो रजत भएको छ । यसअघि तेक्वान्दोकी  सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जितेकी थिइन् । त्यस्तै जकार्तामा भएको १८ औँ एसियाडमा नेपालको पुरुष पाराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

कराँतेबाट यसअघि सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा सीता राई, सन् १९९८ को बैङ्कक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्छन एसियाडबाट विमला तामाङले कांस्य पदक जितेका थिए ।

पदक तालिका

नेपालले १९ औँ एसियाडमा २९ खेलमा सहभागिता जनायो । नेपालका दुई सय ५३ खेलाडी सहभागी भए । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी थिए तर पदक भने केवल दुई वटा मात्र प्राप्त भए । 

होङजाउ एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलका चार सय ८१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

सधै झैँ यसपालि पनि चीन शीर्ष स्थानमा रह्यो । चीनले २०१ स्वर्ण, १११ रजत तथा ७१ कांस्यसहित ३८३ पदक जित्यो । दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कांस्यसहित १८८ पदक हात पा¥यो भने तेस्रो स्थानको दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित १९० पदक जित्यो ।  

दक्षिण अफ्रिकाको कीर्तिमान 

श्रीलङ्कामाथि फराकिलो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकप क्रिकेटमा बिरलै तोडिने कीर्तिमान बनाएको छ । आफ्नो पहिलो खेलमा श्रीलङ्कामाथि १०२ रनको जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकाले सबैभन्दा बढी रन बनाएको सहितका कीर्तिमान बनायो ।   

नयाँ दिल्लीको मैदानमा दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ४२८ रन बनायो । यो विश्वकपको सर्वाधिक स्कोर हो । त्यसै गरी एकै पालिमा तीन जनाले शतक प्रहार गरेको कीर्तिमान पनि दक्षिण अफ्रिकाले राख्यो । खेलमा रस्सी भान डर डुसेन, एडन मार्करम र क्विन्टन डी ककले शतक बनाएका थिए । डुसेनले ११० बलमा १०८, ककले ८४ बलमा १०० तथा मार्करमले ५४ बलमा १०६ रन बनाए । मार्करमले ४९ बलमा शतक बनाएर विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । 


कबड्डीमा ऐतिहासिक पदक

एसियाडको महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ । यो पनि नेपालको रेकर्ड नै हो । महिला कबड्डीमा पहिलो सहभागितामै नेपालले पदक जितेर रेकर्ड बनायो । 

भारतले यस खेलमा स्वर्ण, चाइनिज ताइपेईले रजत तथा नेपालसँगै इरानले पनि कांस्य पदक जिते । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अङ्कले हराएको थियो । समूहको दोस्रो खेलमा इरानसँग ४३–१९ अङ्कले नेपाल पराजित भयो । नेपालले समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल भारतद्वारा ६१–१७ ले पराजित भयो ।

एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौँ खेल भएको छ । यसअघि कराँते, तेक्वान्दो, बक्सिङ र पाराग्लाइडिङले नेपाललाई पदक दिलाएका थिए । 


यसै गरी नेपालको पुरुष क्रिकेट टिमले पदक नजिते पनि विश्वमा मन जितेको छ । नेपालले समूह चरणका दुवै खेलमा जित हासिल गर्दै क्वाटरफाइनलमा ठाउँ बनायो । क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले भारतरूपी बाधा पार गर्न सकेन । 

पहिलो खेलमा मङ्गोलियामाथि जित हासिल गर्ने क्रममा नेपालले विभिन्न कीर्तिमान बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले नौ बलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखे । त्यस्तै कुशल मल्लले मात्र ३४ बलमा शतक बनाएर नयाँ कीर्तिमान बनाए । टी–२० मा मङ्गोलियाविरुद्ध हासिल गरेको २७३ रनको जित पनि विश्व कीर्तिमान नै भयो । 

सो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । यो पनि कीर्तिमानी योगफल हो । सो क्रममा कुशलले ५० बलमा अविजित रहँदै १३७ तथा दीपेन्द्रले १० बलमा अविजित रहँदै ५२ रन बनाएका थिए । समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराउँदै समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।


भारतमा विश्वकप क्रिकेट

१३ औँ संस्करणको एक दिवसीय विश्वकप क्रिकेट भारतमा सुरु भएको छ । असोज १८ गतेदेखि मङ्सिर ३ गतेसम्म डेढ महिना चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । 

सबैले आपसमा खेलेसँगै समूहका शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलमा समूहको शीर्ष र चौथो स्थानको टिम तथा दोस्रो र तेस्रो स्थानको टिम भिड्ने छन् । विश्वकपमा आयोजक भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।   

 

Author

सोमराज पोखरेल