• २४ वैशाख २०८१, सोमबार

साँघुरो गल्लीमा ठुला दमकलले अग्नि नियन्त्रणमा समस्या

blog

काठमाडौं, फागुन २८ गते । आगलागीजस्तो विपद्को समयमा दमकल तथा अग्नि नियन्त्रण यन्त्रहरू तत्काल नपुगे अकल्पनीय क्षति थप बढ्न सक्छ । तर महानगरका साना सडक र मान्छेका दुई खुट्टा मात्रै अट्ने गल्लीहरूमा दमकल प्रवेशमा नै समस्या हुनेगरेको छ । जसकारण, त्यस्ता क्षेत्रमा आगलागी भएको समय आगो नियन्त्रणमा विभिन्न कठिनाइ हुन्छ ।

वारुणयन्त्र कार्यालय, काठमाडौँका प्रमुख ध्रुवकुमार भुजेलका अनुसार महानगरमा साना बाटोमा सहज हुने साना दमकलको अभाव छ । जनघनत्व दिन प्रतिदिन बढ्दो, बाक्लिँदो बस्तीका कारण हुनेगरेको पर्याप्त पानीको अभाव, उपत्यकाको जाम, अव्यवस्थित ढल र बाटोका कारण दमकल सञ्चालनमा अवरोध पैदा हुनेगरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाल भएका साना दमकल पुरानाखालका छन्, मर्मत गरेर चलाउन कठिन छ । मोटरसाइकल पनि नजाने, मान्छेको दुई, तीन खुट्टे अट्ने गल्लीहरूमा साना बाटोलाई सहज हुने किसिमले दमकल ल्याउन सके अग्नि निवारण कार्यमा सहजता आउनेछ ।” उहाँले हाल काठमाडौँ वारुणयन्त्रको कार्यालयमा सात वटा दमकल चालु अवस्थामा र केही पुराना दमकल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाँले सामान्यतः, घरमा ग्याँस लिक, आइरन, हिटरजस्ता विद्युतीय उपकरणको जथाभाबी प्रयोग एवम् असावधानीका कारण आगलागी हुनेगरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मान्छेको असावधानी एवम् लापरबाही, फायरसम्बन्धी शिक्षा तथा चेतनाको कमीलगायत आदि कारण आगलागीको घटना घटेको हामीले देखेका छौँ । आगलागीको खबर पाउने बित्तिकै हामी निवारण गर्न जान्छौँ । आगलागी कुन प्रकारको छ, त्यो अनुसारको फायर फाइटर र निवारणका साधनहरू प्रयोग गर्नुपर्ने हुन्छ ।”

काठमाडौँ वारुणयन्त्र कार्यालयमा दैनिक सरदर तीनवटा आगलागीको घटना दर्ता हुनेगरेको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०–८१ मा साउनदेखि माघ मसान्तसम्म एकसय ६३ आगलागी भएको तथ्याङ्क छ । जसमध्ये उपत्यका आसपास विद्युतका कारण साउनमा १५, भदौ २२, असोज ११, कात्तिक ११, मङ्सिर १५, पुस २२, माघमा २० वटा आगलागीका घटना दर्ता भएका छन् । यसैगरी, ग्याँस लिकका कारण साउनमा शून्य, भदौ एक, असोजमा एक, कात्तिक एक, मङ्सिर दुई, पुस चार र माघमा शून्य घटना दर्ता भएका छन् । 

यो अवधिमा रुख कटान २३, जल उत्पन्न व्यवस्थापन १६ र अन्य गरी सात महिनामा जम्मा दुई सय ३० आगलागीसँग सम्बन्धित घटना तथा गतिविधि भएको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय बौद्धको रामहिटी र बालाजु औद्योगिक क्षेत्र दुई ठाउँमा वारुणयन्त्रको स्टेसन थप भएको बताउनुभयो । अग्नि नियन्त्रणका लागि विपद्सँग लड्न सक्ने तालिम, अनुभव, ज्ञान, सीप र जनशक्तिको अभाव रहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार भूकम्पपश्चात् जीर्ण बनेको सयौँ वर्ष पुरानो काठमाडौँ वारुणयन्त्रको कार्यालय पुरानै ढङ्गले रेट्रोफिटिङ गर्ने वा भत्काएर अर्को बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । समन्वयमा यो काम अघि बढ्ने उहाँको भनाइ छ । 

महानगर र पुरातत्त्व विभागको उहाँले अग्नि नियन्त्रण तथा दमकलसम्बन्धी छुट्टै नीति, नियम बनाएर जान सके काठमाडौँवासीलाई मात्र नभई सिङ्गो देशकै लागि उदाहरणीय काम हुन सक्ने भनाइ राख्नुभयो । काठमाडौँ महानगरभित्र अग्नि नियन्त्रण तथा विपद् न्यूनीकरणसम्बन्धी ३२ वटै वडास्तरमा सचेतना कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।

भिडियो : केशव गुरुङ । भिडियो सम्पादन : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।