• १२ पुस २०८१, शुक्रबार

भारतको युरोपमा तीन दिन

blog

जता हे-यो त्यतै ठाउँ ठाउँमा झम्म परेका हरिया गोलाकार रुखहरू, जमिनबाट फुत्त बाहिर निस्केर आकाश ताकेर हुत्तिँदै माथि पुगेपछि चारैतिर बान्की मिलेका हरिया पातका छाता आढेर कुखुरीले चल्ला छोपे झैैँ पूर्ण रूपमा विकसित हुँदै गएका आफ्ना फल छोपेर धनुषाकारमा थोरै ढल्केका अनगन्ती नरिवलका बोट, अनि थरीथरीका बुट्यानले ढाकिएका फराकिला समथर भूभाग हाम्रा नजरमा पर्दै र बिलाउँदै जान थाले । मेरो दृष्टि घरी यी दृश्यहरूको रसास्वादन गर्नतिर पुग्थ्यो भने घरी दीपेशले दुई हातले समातिरहेको स्टेरिङ अघिको गति प्रदर्शन गर्ने १२०–१२५ किलोमिटर देखाइरहेको इन्डिकेटरतिर तानिन्थ्यो । 

पूर्व–दक्षिण दिशातिर सोझिएर अगाडितिर दौडिइरहेको विशाल राजमार्गमा कुदिरहेको गाडीबाट पहाडको कुनै नाम निसान नभएको यस समथर भूमिमा एकाएक हाम्रा आँखा टाढाबाट हेर्दा हरिया रूखहरूका बिचबिचमा परालका टौवा जस्ता वा खरले छाएका साना घर जस्ता दृश्यले भरिएका थुम्कासित ठक्कराउन पुगे । नजिकै पुगेपछि हामीले देख्यौँ, ती त यामानका खैरा ढुङ्गा पो रहेछन् । ढुङ्गैढुङ्गाका पहाडहरू । यिनै र यस्तै दृश्यलाई स्मृतिको क्यामरामा कैद गर्दै हाम्रो यात्रा अघि बढ्दै गयो । 

डेढ घण्टाको दुरी पार गरेपछि हामी ९.३० मा तमिलनाडु राज्यमा पर्ने कृष्ण गिरीको काखमा रहेको अडिएरको आनन्द भवन पुग्यौँ । आनन्द भवन यस राजमार्गमा यात्रा गर्ने सबै यात्रुका लागि इच्छा माफिकको भोजन गर्न पाइने थलो रहेछ । पार्किङका लागि तयार गरिएको फराकिलो प्राङ्गण कटेर सिँढी उक्लेपछि एउटा ठुलो हलमा पुगिँदोरहेछ । २५ वटा जति लहर मिलाएर राखिएका डाइनिङ टेबल हाम्रा आँखाअघि देखिए । ती सबै टेबल ग्राहकले टनाटन भरिएका थिए । उत्तरतिरको लङमा एउटा टेबल खाली गराएर त्यहीँ बस्न आग्रह गरेपछि विजया र म माथितिरको लहरमा बस्यौँ अनि दीपक र दीपा हाम्रो अगाडितिर आमने–सामने बसे । दीपेश र गजल हाम्रो दाहिनेतिरको सानो टेबलमा । हाम्रो फर्माइस पाएपछि एकैछिनमा खानाका किस्तीहरू लिएर तमिल भाइहरू हाम्रा अगाडि आए र हल्का मुस्कानसहित पानी र खाना टेबलमा राखे । किस्तीमाथि किस्तीकै आकारमा फैलिएका केराका सफा पात, त्यसमाथि राखिएका थरीथरीका मगमग बास्ना आइरहेका ताजा खाना र कोरेको नरिवलका किसिम किसिमका अचारका परिकार । हामीले खुबै स्वाद मानेर खाना खायौँ । यहाँको खाना र अतिथि सत्कारको उच्च शैली प्रदर्शन गर्ने तमिलहरूको आतिथ्य देखेपछि हाम्रा राजमार्ग छेउछाउका बासी र अस्वस्थकर खाना बेचेर यात्रुहरू लुट्ने बानी बसालिसकेका होटल नाम दिइएका जाल थापेर बस्ने अधिकांश व्यापारीको ग्राहकसित मूल्य लिएपछि उचित सेवा प्रदान गर्नु पर्छ भन्ने चेतनाको ढोका कहिले खुल्ने होला भन्ने सोचेर म एकछिन त्यसै टोलाउन पुगेँ ।

अम्बुर कटेपछि अब हाम्रो यात्रा भेलोरतिर अघि बढिरहेको थियो । मामुली किसिमका सानादेखि असाध्य र ठुला किसिमका रोगले सताइएका मानिस उता हाम्रोतिरका बागमतीका ब्रह्मनाल जस्ता अस्पतालबाट पीडित र शोषित मदौराले भेलोरको मिसन अस्पतालबारे गफ गरेको बेलामौकामा सुनेको थिएँ मैले । आज हामी त्यही ठाउँमा आइपुगेका थियौँ । यसअघि नदेखेको तर त्यसबारे धेरै सुनेको कुनै प्रख्यात ठाउँमा एक्कासि पुग्दा मनमा एक प्रकारको अकल्पनीय आनन्दको अनुभूति हुँदोरहेछ । मलाई त यहीँ ओर्लेर भेलोरका गल्ली गल्ली चाहार्न मन लागेको थियो । आफ्ना बिरामीप्रति प्रेमपूर्ण व्यवहार प्रदर्शन गरेर आधा रोग त्यसै बिसेक गराउने यहाँका सज्जन चिकित्सकसित एकछिन् भलाकुसारी गर्न मन लागेको थियो । तर आजको हाम्रो लक्ष त हिन्द महासागरको किनारमा रहेको पर्यटकीय नगरी पोन्डुचेरीको घुमफिर गर्ने थियो र समयले हामीलाई पूर्वयोजनाबिनाको भेलोर यात्रा गर्ने अनुमति पनि दिन सक्तैनथ्यो । त्यसैले हामी सडकबाट गाडीमा कुदिरहेकै समयमा देखिने किनाराका सामान्य दृश्यबाहेक आनन्दले रमाएर, बिस्तारै हिँडेर यताउता हेर्दै भेलोरलाई स्पर्श गर्न सक्ने अवस्थामा थिएनौँ हामी । 

भेलोर कटेको केही समयपछि हाम्रो गाडीको स्व्रिmनमा गुगल म्यापमा लेखिएको एसएच अर्थात् स्टेट हाइवे प्रदेश राजमार्ग) का नामले चिनिने दुवै किनारामा हरिया गोलाकार रुखले शीतल बनाएका तुलनात्मक रूपमा साना र शीतल सडकबाट अघि बढ्यौँ । यसरी हामीले बैङ्गलोरदेखि पोन्डुचेरीसम्मको ३६८ किलोमिटरको दुरी तय गरेर सडकका दुवै किनारमा लगाइएका नरिवलका बोटलाई पछिल्तिर छाड्दै दिउँसो तीन बजे समुद्र किनारको नजिकै रहेको ‘द वाइन्डफ्लावर रिसोर्ट एन्ड स्पा’ मा पाइला टेक्न पुग्यौँ । 

आँगन कटेर सिँढी उक्लँदै हामी गोला रङ्गीन खम्बाले धानिराखेको प्रशस्त फराकिलो  पटाङ्गिनीमा पुग्यौँ । दायाँ काउन्टर, बायाँ तीनतिर फर्काएर राखिएको तीनफिटे सोफा, अगाडि कालो पत्थरमा कुँदिएको जस्तो देखिने पद्माशन मुद्रामा रहेको बुद्धको प्रतिमा । त्यसको ठिक अगाडि पर्ने स्थानमा ठुलो ताउलो आकारको भाँडामा बिटसम्म भरिएको पानीको सतहमाथि विविध रङका पूmलका गुच्छा, पछाडिको वारपार खण्डमा एक फुट जति गहिरो कलात्मक पोखरीमा ठाउँ ठाउँमा थरी थरीका पूmल र त्यसभन्दा पर नजरले छोपे जति क्षेत्रमा फैलिएको बगैँचा अनि किनारातिर ठाउँ ठाउँमा हाम्रो तराईतिरका आदिवासी थारुहरूका जस्ता देखिने खपटाले छाएका राता घरहरू । बाहिरबाट हेर्दा ख्याल ख्यालका जस्ता लाग्ने ती घरभित्रका कोठाको व्यवस्थापन भने निकै आकर्षक र पूर्ण रहेछ । 

हाम्रा झोला आदि आआफ्ना कोठामा थन्क्याएपछि हामी चर्को घामलाई तालुमाथि थापेर लन्चका लागि दुई सय मिटर जति पूर्वमा रहेको डाइनिङ हलतिर लाग्यौँ । यति बेला हामी ताड र नरिवलको जङ्गलबिच समुद्र किनार नजिकै थियौँ । खाना खाइसक्ता एक घण्टा बित्यो । त्यसपछि हामी समुद्र किनारतिर लाग्यौँ । 

करिब पाँच सय मिटर जति पैदल हिँडेर पूर्व लागेपछि हामी समुद्र किनारमा पुग्यौँ । अथाह जलराशिले भरिएको निलो विशाल समुद्र हाम्रा आँखा अगाडि थियो । हाम्रो यात्रादलका अरू सबै समुद्रको पानी छुन र परबाट बटारिँदै उर्लेर आएको छालसित खेल्न पानीतिर लागे, मलाई भने त्यो दृश्यको आस्वादन गर्नमा नै आनन्द लाग्यो । केही बेर किनारैकिनार माथिसम्म पुगेँ र फेरि त्यसरी नै फर्केर आएँ । उता नेपालमा छँदा पनि कहिलेकाहीँ म साँझ पख नारायणगढमा उद्योग वाणिज्य सङ्घ पछाडि नदी किनारमा नारायणीको निलो पानी र वरपरको हरियो जङ्गल हेर्दै यसरी नै हिड्थेँ र मलाई त्यसैमा आनन्द लाग्थ्यो ।  आज पनि मलाई त्यस्तै अनुभूति भइरहेको थियो । यति बेला हामी पोन्डुचेरीको पूर्वी किनारमा रहेको इन्डियन ओसनको पश्चिमी तटमा खेलिरहेका थियौँ । त्यसरी नै ठिक यति नै बेला भारतका प्रधानभन्त्री नरेन्द्र मोदी चेन्नाईको समुद्रतटमा चीनका राष्ट्रपति सी चिनफिङलाई पथप्रदर्शन गरिरहेको खबर यहाँका समाचारमाध्यमले निरन्तर दिइरहेका थिए । यस्तो संयोग देखेर हामी बढो आनन्दविभोर हुँदै दङ्ग परिरहेका थियौँ । 

होटलमा फर्केको केही समयपछि दीपेशले रक बिचतिर जाने भनेको हुनाले हामी सबै उसैको पछि लाग्यौँ । पोन्डुचेरीका प्रमुख पर्यटकीय स्थलहरूमा रकबिच सहित अरोविन्दो आश्रम, समुद्र किनारमा रहेको महात्मा गान्धीको सालिक, पोन्डुचेरी म्युजियम, बोटानिकल गार्डेन, युनिभर्सल टाउनका रूपमा प्रख्यात औरोभिल, ह्वाइट टाउनका रूपमा प्रसिद्ध फ्रेन्च स्क्वायर आदि रहेछन् । 

सोह्रौँ शताब्दीको मध्यतिर इस्टइन्डिया कम्पनीको सञ्चालकका रूपमा भारत पसेका फान्सेलीहरूले आन्ध्र प्रदेशको किनारी भागमा पर्ने यानाम, केरलामा पर्ने ९५९ वर्ग मिटर क्षेत्रमा फैलिएको माहे, पोन्डुचेरीभन्दा १३२ किलोमिटर दक्षिण तमिलनाडुमा नै पर्ने करिकाल र पोन्डुचेरी, पर्यटकीय दृष्टिले विशेष महìवका यी चार ठाउँलाई आफ्ना उपनिवेश बनाएका रहेछन् । भारत स्वतन्त्र भइसकेपछि पनि आफ्नो आधिपत्य कायमै राखेका फ्रान्सेलीहरूका विरुद्धको अन्तिम लडाइँ १९५६ मा माहेमा फ्रान्सेली झन्डा झिकेर त्यसको ठाउँमा भारतीय तिरङ्गा फैलाएका रहेछन् स्वतन्त्रता पे्रमी भारतीय जनताले । यी चार ठाउँमध्ये ती ठाउँको स्थानीय नामसँगै जोडेर पोन्डुचेरी वा पुडुचेरी भन्दारहेछन् यिनलाई । यीमध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो तमिलनाडुको ठुलो क्षेत्रको नाम पुडुचेरीबाट सबैको नामपछि पुडुचेरी जोडिएको रहेछ । तर यहाँ ती सबै ठाउँको भूगोल वा इतिहास खोज्ने मेरो उद्देश्य होइन । मैले त केवल आपूmले छोटो समयमा घुमफिर गरेका ठाउँबारे आफ्ना अनुभूति पस्कने प्रयत्न मात्र गरेको हुँ । 

समुद्रको पश्चिमी किनारामा उत्तर दक्षिण कुदेको सफा चौडा सडक र त्यसको पूर्वी किनारमा रहेको रकबिच । सडक सामनेमा दुई फिट जति उठाइएको चौको जस्तो मानव निर्मित लामो समतल भाग र त्यसभन्दा पर समुद्रको किनारातिर तर्पाएँ भिरालो परेको आकृतिमा मानिसले नै मिलाएर राखेका हुन् कि जस्ता देखिने एकमाथि अर्कासित टाँसिएर खप्टिँदै लहर लागेर समुद्रको पानीलाई छुन तलतिर झरिरहेका कालीगण्डकी किनारमा पाइने शालिग्राम रङका यामानका कतै गोलाकार अनि कतै चेप्टा चट्टान । मानिसहरू रातको समयमा पनि ती ढुङ्गामा बसेर शान्त मुद्रामा अशान्त समुद्रको अथाह जलराशिलाई हेरिरहेका छन् । टाढा कतै क्षितिज किनारतिरबाट यता आउँदै गरेका पानीजहाजका बत्तीको उज्यालो आकाशमा चम्किरहेका तारा जस्तै देखिन्छन् र समयको पदचापमा बिलाउँदै जाँदा ती क्रमशः ठुला हुँदै स्पष्ट आकारमा मानिसहरूका नजरमा पर्छन् । शान्त समुद्रको सतहबाट निस्केका अनगन्ती छाल एकले अर्कोलाई उछिन्दै र लछार्दै स्वाँ... गर्दो सुसाइसँगै किनारातिर बढ्छन् र रकबिचका काला पत्थरहरूमा ठोकिएपछि तिनलाई पखाल्दै लहरको काँध चढेर तिनलाई पुनः स्पर्श गर्छन् र एकैछिनपछि फेरि हुर्रिंदै समुद्रतिर तानिन्छन् । लाखौँ करोडौँ वर्षदेखि निरन्तर चलिआएको यो व्रिmया आजपर्यन्त जारी छ र भोलिका दिनमा पनि यसरी नै रहिरहने छ भन्ने म अनुमान गर्दछु ।   

यता सोरलाइनको एक खण्डमा जात्रा लागिरहेको छ, मानिसहरू आइरहेका छन्, गइरहेका छन्, एउटा भिन्नै संसार छ पोन्डुचेरीको । जलवायु पनि कल्पनातित मनमोहक छ । मौसम सुन्दर छ । यति बेला वातावरणमा न गर्मी छ, न जाडो । मानिसहरू आफ्नै धुनमा मस्त छन् । कसैलाई कसैको मतलव छैन । सबै आआफ्ना सुरमा टहलिरहेका, छपनीमाथि बसेर समुद्रको अनन्त शान्तिलाई आत्मसात् गरिरहेका, आफैँभित्र हराइरहेका जस्ता लाग्ने । एउटा भिन्नै प्रकारको आनन्दको साम्राज्य छ यहाँ । 

राति दस बजेतिर हामी भारतको युरोप पनि भनिने ह्वाइट टाउनको एउटा क्याफेमा पस्यौंँ । मूल ढोका खोलेर भित्र पुग्ने बित्तिकै एउटा सानो हलमा पुगिँदोरहेछ ।  मुडाको प्राकृतिक आकार जेजस्तो छ त्यस्तै रूपमा निर्माण गरिएका जम्माजम्मी ७ या ८ वटा ससाना डाइनिङ टेबल, एउटै किसिमका सामान्य पहिरनमा सजिएका तमिल युवाहरू मन्द मुस्कानसाथ हाम्रो स्वागत गर्छन् । हरेक टेबल अगाडि मेनु छन्, अनेक प्रकारका परिकारहरूका सूचीले भरिएका । हामी आफ्ना रुचि र आवश्यकता अनुसार फर्माइस गर्छौं । केही बेरको पर्खाइपछि भने जति चिज क्रमशः आउँछन् । अघिको समुद्र किनारमा जस्तै शान्ति छ यहाँको वातावरणमा पनि । यसरी बाहिरबाट हेर्दा सानो देखिने यस फ्रान्सेली किसिमको भान्साको आन्तरिक भव्यता र शालीनता मलाई निकै रुचिकर तथा आनन्ददायक लाग्यो । 

यसरी केही समयको आरामपूर्वक बसाइ र खानपिनपछि रातको करिब ११ बजेतिर हामी मनभेली रेभेनु भिलेज, माराइमालाई अडिगाल स्ट्रिट, चिन्नाभिरम पट्टिनाम पोन्डुचेरीमा अवस्थित हाम्रो अस्थायी वासस्थान ‘द वाइन्डफ्लावर रिसोर्ट एन्ड स्पा’तिर फर्कियौँ । 

भोलिपल्ट बिहान ब्रेकफास्टपछि सबै आराम गर्ने उद्देश्यले कोठातिर लागे । मलाई भने पोन्डुचेरीको कला, संस्कृति र यसको इतिहास आदिबारे जान्ने उत्सुकता जागेर आयो र म रिसोर्टको सूचना केन्द्रतिर लागेँ ।

 मैले प्राप्त गरेको सूचनाका आधारमा के कुरा थाहा पाएँ भने सोह्रौँ शताब्दीको अन्त्यतिर भारत पसेका फ्रान्सेलीहरूले भारतका विविध चार ठाउँ, तमिलनाडुको पोन्डुचेरी, पोन्डुचेरीबाट १३२ माइल दक्षिणमा पर्ने तमिलनाडुकै, करिकाल, केरलाको पश्चिमी तटमा पर्ने माहे र आन्ध्र प्रदेशको यानाम यी चार स्थानलाई आफ्नो उपनिवेश बनाएर यीमध्ये सबैभन्दा ठुलो पोन्डुचेरीबाट सबैको नाम पोन्डुचेरी राखेछन् फ्रान्सेलीहरूले । पोन्डुचेरी भारतीय सङ्घ अन्तर्गत भए पनि यो स्वतन्त्र स्वशासित क्षेत्र रहेछ । यसको आफ्नै विधि विधान रहेछ तर यो छुट्टै राज्य नै भने होइन रहेछ । यसको सीमारेखाभित्र यो एक स्वतन्त्र स्वशासित क्षेत्रका रूपमा सञ्चालित रहेछ ।

अक्टोबर १०, तदनुसार २०७६ को असोज २४ गते हाम्रो टोली पुनः हिजो बेलुका रातको समयमा हेरेको रकबिच र ह्वाइट टाउन हेर्ने सल्लाह गरेर ११.३० तिर त्यहाँबाट प्रस्थान ग-यो । सूचनागृहबाट प्राप्त जानकारीका अतिरिक्त मैले नेटमा खोजेरसमेत यहाँका विशेष ठाउँहरूबारे अलिकति धारणा बनाइसकेको थिएँ । तीमध्ये जिएस पट्रोटेटद्वारा अठारौँ शताब्दीको मध्यतिर त्यहाँ स्थापना गरेको बोटानिकल गार्डेनले मलाई निकै आकर्षित गरेको थियो । गाडीमा जाँदै गर्दा मैले १५०० भन्दा धेरै प्रजातिका बोटबिरुवा भएको त्यो बगैँचा हेर्ने प्रस्ताव राखेँ । त्यसपछि हामी रकबिच पुग्नुभन्दा करिब एक किलोमिटर वर समुद्र किनारतिर जाँदा दाहिनेतिर पर्ने त्यही बोटानिकल गार्डेन हेर्न गयौँ । 

बोटानिकल गार्डेनबाट निस्केर रकबिच जाने फराकिलो बाटोबाट समुद्र किनारतिर घुइँकिँदै जाँदा हाम्रा अगाडि वरिपरि आसपासमा ठड्याइएका सुुलुत्त परेर आकाशतिर हुत्तिएका कलात्मक किसिमले बनाइएका निकै अग्ला काला खम्बा र तिनको बिचमा पर्ने गरी निर्माण भएको चँदुवा आकारको फटिक जस्तो सेतो छत्तरमुनि दाहिने हातमा लौरो समातेर कदम चाल्न ठिक्क परेको महात्मा गान्धीको पूर्ण कदको प्रतिमा देखिन्छ । समुद्रलाई पृष्ठ भागतिर पारेर अगाडि फर्केको त्यस प्रतिमाको अगाडिबाट उत्तर–दक्षिण भएर दौडेको चौडा सडकमा पुगेपछि दीपेशले कारलाई दाहिने मोडेपछि त्यसको केही बेरमा हामी हिजो बेलुका बिजुलीको मधुरो प्रकाशमा रातको अँध्यारोलाई चिर्दै रकबिचमा बसेर अगाध समुद्रको अज्ञात कलालाई निकै बेरसम्म निःशब्द टोलाएर अवलोकन गर्दै त्यसको रसास्वादन गरेको ठाउँमा पुग्छौँ । 

यसरी अघाउँजी समुद्र अवलोकनपछि हामी फ्रान्सेलीहरूले उतैको झझल्को दिने गरी निर्माण गरेको ह्वाइट टाउन हेर्न गयौँ । प्रशस्त फराकिला सफा रडक र ती सडक वारि र पारि निकै अग्ला पर्खाल भएका कम्पाउन्ड अनि ती कम्पाउन्डका ठाउँठाउँमा माथिल्लो चौकोसतिरको खण्डमा अर्धचन्द्राकार शैलीका प्रवेशद्वार, अनि तीभित्र समान किसिमका दुईतले घरहरू । भारतको युरोप नामले समेत परिचित पोन्डिचेरीको यो ह्वाइट टाउनले स्वाभाविक रूपमा यसमा गोराहरूको बसोबास थियो भन्ने कुरातर्फ सङ्केत गर्दछ । 

रोमारोलाँ एभेन्यु, नोट्रेडेम डी ला आदि फ्रान्सेली नामहरू र थिएटरको नामसमेत त्यही किसिमको देखेपछि त्यहाँको शान्त वातावरणबिच त्यस क्षेत्रका सडकपेटीबाट बिस्तारै पदयात्रामा निस्केका जोकेहीलाई पनि आपूm उतै फ्रान्सको कुनै सडकमा हिँडिरहेको जस्तो अनुभूति हुनु स्वाभाविकै लाग्छ । त्यस वरपरमा भेट भएका तमिलहरू बोलीवचन र व्यवहार सबै कुरामा निकै शिष्ट र सभ्य रहेछन् । तिनीहरू सबै कसैसित पनि कुरा गर्दा अनुहारमा हल्का मुस्कान छर्दै बिस्तारै बोल्दारहेछन् । आरामगृह र होटलहरूसमेत सबै उतैको प्रभावमा निर्माण भएका जस्ता । एउटा सुखद् अनुभूति हुन्छ पर्यटकहरूलाई यो परिवेशमा रमाउँदा । 

२०१९ को अक्टोबर ११ तारिख, तदनुसार २०७६ असोज २५ गते । हिजो दिनभरिको थकाइले ज्यान धेरै गलेको रहेछ । अबेला ७ बजेतिर मात्र उठ्न सकेँ । यावत् व्रिmयाबाट निवृत्त भएपछि चेक आउटको तयारीमा लाग्यौँ । ११ बजेभित्र कोठा छोड्नुपर्ने रहेछ । झिटीगुन्टा तयार गरिसकेपछि ९ बजेतिर हामी ब्रेकफास्टका लागि डाइनिङ हलतिर लाग्यौँ । 

मुस्लिम बाहुल्यता भएको अम्बुर राम्रा र स्तरीय जुत्ता बनाउने कामका लागि प्रसिद्ध रहेछ भन्ने कुरा पनि हामीले त्यहीँ पुगेपछि राम्ररी थाहा पायौँ । यसरी दक्षिणी भारतको डेक्कन प्लेटोमा पर्ने कर्नाटक र तमिल नाडुका केही गाउँ र केही सहरको समेत दृश्यावलोकन गर्दै हामी साँझ आठ बजेतिर बैङ्लोरको सर्जापुर मेनरोडमा अवस्थित डोड्डाकन्नलीको कन्फिडेन्ट लियोको कम्पाउन्डभित्र प्रवेश ग-यौँ ।