• १३ पुस २०८१, शनिबार

रिसानी माफ होस्

blog

हिजो त्यो सिरानीमा बिसाएको थिए,

यो टाउको, हजुरकै टाउकोसित

हजुरकै टाउकोसित, मिसाएको थिएँ, यो टाउको 

फनक्कै घुमेछ र ड्याम्मै ठोकिएछ, हजुरकै टाउकोसित

मेरो यो टाउको ! 

अलि गोलो छ यो, घुम्छ, घुम्यो र ठोक्कियो !

हजुरको टाउकोसित,

रिसानी माफ होस् !

आधा सिरानी हजुरको ‘भाग’ होस् !

आधा सिरानी, मेरो ‘भाग’ होस् !

जति थिचियोस्, जति मिचियोस्

तर यो सिरानी ‘बेदाग’ होस् !

रिसानी माफ होस् 

सँगै हुनाले, कहिले कुहिनाले ठोक्किए होला ?

कोल्टे फर्कंदा कहिले घुँडाले ठोक्किए होला ?

दुई जोडा, गोडा, सँगै हुँदा ठोकिनु स्वाभाविकै हो,

एउटा मात्र थियो हजुरको चुल्ठो !

उल्टो परेछ हिजो, त्यो कालो गुजुल्टोे !

अँध्यारोमा खै, के भयो भयो, सिरानीमै थियो च्यापियो !

रिसानी माफ होस् !

आँखा यहीँ छ, कान यहीँ छ, मुख, नाक यहीँ छ 

नवै द्वारको सबै चाबी ‘दिमाग’ यहीँ छ

दाँत यहीँ छ, ओठ यहीँ छ

जिब्रो, गाला, सबथोक यहीँ छ

यो शरीरका नौ द्वारमध्ये सात द्वार यहीँ छ

परिचयको संसार यो, अनुहार यहीँ छ 

शरीर थाक्छ, आराम गर्छ, निदाउँछ

तर यो दिमागले त कहाँ फुर्सद पाउँछ ?

निदाउँदा पनि यसले त 

‘सपना’ देख्न भ्याउँछ

सायद हिजो पनि, त्यस्तै भयो होला ? 

अनेकौँ बोझले थाकेको यो टाउको,

फनक्कै घुमेर त्यतातिर गयो होला 

नहुनु पर्ने भयो !

ड्याम्मै ठोक्कियो !

रिसानी माफ होस् !

‘टाउको जति ठोक्कियो, उति माया बढ्यो’

मैले यत्ति, के भनेको थिएँ

हजुरको ‘पारो’ चढ्यो !  

दोष मेरो थिएन, अँध्यारोको थियो 

रिसानी माफ होस् !

सँगै सुतेको छु, ‘सपना’ हजुरकै देख्छु

हजुरको त्यो टाउको पनि त सँगै थियो

त्यसले मेरो सपना देख्यो कि देखेन ?

सोध्छु भन्छु मिलिक्कै बिर्सिन्छु

बानी यस्तै छ मेरो !

रिसानी माफ होस् !

उहिले उज्यालोमा ठोक्किएथ्यो नजर

जिन्दगीभर पुग्यो, त्यै नजरको असर

अहिले अँध्यारोमा ठोकियो त टाउको ?

यसले के ‘कसुर’ ग-यो ?

ठोक्किनु हुँदैनथ्यो, ठोक्कियो !

एकछिन दुख्यो, सक्कियो !

रिसानी माफ होस् !