डोटेली संस्कृतिमा हरेक चाडपर्व मनाउने मौलिक विशेषता छ । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यस्तै हस्तान्तरित संस्कृतिक तमाम चाड पर्वमध्येको होली पर्व पनि एउटा महìवपूर्ण पर्व हो । सामान्यतया रङ रङ्गिलो पर्वका रूपमा मनाइने होली डोटी क्षेत्रमा विशेष रूपमा होलिका अष्टमीबाट सुरु भई फागुन पूर्णिमासम्म मनाइन्छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्मका आठ दिनलाई होलाष्टक भनिन्छ । यसलाई मनाउने आआफ्नै लोकपरम्परा रहेका छन् । फागुन शुक्ल अष्टमीका दिन चीर गाडिन्छ । उमरो, अमलाको रुखको एउटा हाँगो कपडाका ध्वजापताकाले सजाएर चीर स्थापित गरिन्छ । चीरलाई होलिकाको प्रतीक रूपमा लिइन्छ । अष्टमीमा गाडेको चीर पूर्णिमाको राति दहन गरिन्छ । चीर दहनलाई होलिका दहन पनि भनिन्छ । पौराणिक कथा अनुसार हिरण्यकश्यपुकी बहिनी होलिकालाई भगवान् शिवजीबाट आगोले नजल्ने चादर प्राप्त भएको थियो । त्यो थाह पाएर हिरण्यकश्यपुले प्रह्लादलाई जलाउने प्रपञ्च गरी होलिकाको काखमा प्रह्लादलाई बसाई आगो लगाइदिए । संयोग दैविक बलबाट उक्त चादरले प्रह्लादको शरीर ढाकिन पुग्यो । होलिका चादरविहीन हुँदै गर्दा आगोमा दहन भई । दैवीय शक्तिका कारण होलिका जलिन्, प्रह्लाद बचे भन्ने प्रसङ्ग पाइन्छ । होलिका दहनको खुसियालीमा प्रह्लादका समर्थकले देवताको गुणगान गाई, रङ, अबिर, लोला खेली उत्सव मनाए । त्यही उत्सव होली पर्व हो ।
फागुन चैततिर रुखबिरुवामा नयाँ पालुवा पलाउँछ र रङ्गीबिरङी फूल फुलेका हुन्छन् । पुष्परसले प्रकृतिक वातावरण नै उत्साहित, उमङ्गित रङ्गिलो भएको हुन्छ । प्रकृतिको यस मनमोहक रङ्गमा मानवको मन चञ्चल र उमङ्गित हुन जान्छ । वीरताको कथा, देवगाथालाई लोकलयमा गाउँदै रङ्गका साथ उमङ्गित भएर मानव समाज उत्सव मनाउन सुरु गर्छ । जसलाई ‘होलिकोत्सव’ भनिन्छ । होलाष्टमी पछिका आठ दिनलाई होरीकै पर्वका रूपमा होली पूर्णिमासम्म मनाइन्छ । सामान्यतया एकादशीदेखि प्रत्येक दिन घर घरमा गएर र कही सार्वजनिक स्थानमा खेल्ने गरिन्छ । कुमाउ गडवालतिर वसन्तोत्सवका रूपमा वसन्त पञ्चमीदेखि दुई महिना हरेक साँझ होली खेलेर मनाइने प्रचलन रहेको छ ।
फागु, होली, होरी विभिन्न नाम दिए पनि होली शब्दको खोजबिन गर्दा आगोले पोलिएको अन्नको बालालाई संस्कृतमा ‘होला’ भनिन्छ । डोटेली लोक परम्परामा गहुँका बाला पोलेर ‘उमा’ र जौका बाला पोलेर ‘कुमास’ एवं चना, केराउ, मटरका कोसा पोलेर होला खाने प्रचलन रहेको छ । नयाँ अन्नलाई पोलेर खाने परम्परा अहिले पनि छ । नव अन्न आगोमा पोलेर होला खाने परम्पराबाट होला र त्यसै सिलसिलाको उत्सव होली र होरीका नामले प्रसिद्ध हुन पुग्यो । होली खेल्ने गाउने पद्धति एउटा सामूहिक नृत्य पनि हो । खुट्टाको पैतोल, गाथागीतको लय, ढोलको तालसँग तादत्म्यता मिलाई खेलिन्छ र नाचिन्छ । उभिएर गाउँदै खेलिने उठी होली बसी बसी गाउने बैठी होली र बाटोमा हिँड्दा हिँड्दै गाएर खेलिने बाटा होरी गरी तीन प्रकारले होली गाइन्छ र खेलिन्छ । होलीमा गाइने गीतहरू भगवान्का विभिन्न प्रसङ्ग, श्रीकृष्ण र गोपिनीको प्रेम रासलीलाका प्रसङ्ग, श्रीरामका लीलाका प्रसङ्ग, विभिन्न वीरगाथा, पौराणिक कथा, सांसारिक विशुद्ध प्रेम गीतहरू गाइन्छन् ।
होलीको खेल नाच
डोटेली संस्कृति मुख्यतः रूपाल गर्खामा सामूहिक खेल नाचका रूपमा मनाइन्छ । अष्टमीमा चीर गाडिएको खलाबाट सुरु गरेर, नजिकको मन्दिरमा अनि घरघरमा भगवान्का विभिन्न प्रसङ्ग, श्रीकृष्ण र गोपिनीको प्रेम रासलीलाका प्रसङ्ग, श्रीरामको लीलाका, प्रसङ्ग, विभिन्न वीरगाथा, पौराणिक कथा, समसामयिक विषय, सांसारिक विशुद्ध प्रेम गीत गाइन्छन् । होली गीतहरू व्रज भाषामा केन्द्रित रहन्छन् । व्रज भाषा जस्ताको त्यस्तै मिलाउन नसकिए पनि हिन्दी, डोटेली, अवधी, नेपालीको मिश्रण नै भए पनि व्रज शैलीलाई जोड दिइन्छ । हरेक होली खेलको लय फरक फरक हुन्छ । लय अनुसार ढोलकको ताल हुन्छ । गीतको लय ढोलको तालसँंगै खुट्टाको पैतोल मिलाएर खेलिन्छ । अधिकतम गीतहरू भक्तिका रहेका हुन्छन् । एक प्रकारको भजन नै मान्न सकिन्छ । अनुष्ठान जस्तै चीर गाडेर, टीकाटालो गरेर, गणेशको गाथाबाट प्रारम्भ गरिएको हुन्छ । भकारीले खेलाउँछन्, गीत भन्ने, लय तालमा पैतोल चाउने अभ्याससँगै गोलो वृत्त हुनेगरी लाम लागेर खेलिन्छन् । फगुवा, रसिया भएसम्म एकै पोसाकमा रङ, अविरले रङ्गिएर मुक्त कण्ठमा सस्वर होली गाउँछन् र खेल्छन् । खडी, गहिरी, चाली विभिन्न लयमा गाइन्छ । गाथा सुरुवात पृष्ठभूमिबाट गरिन्छ । गाथा चित्रण गरिएसँगै सोको फल परिणाम पनि वर्णन गरिन्छ ।
जो यह गावै गङ्गा होली
जो खेलै मनलाई झलक रही...
तिनके सारे पाप कटिङ्गे
तरि वैकुण्ठै जाइ झलक रही... ।
अष्टमीमा चीर गाडेर आह्वान गरिएको होलीलाई पूर्णिमामा चीर दहनसँगै आशिष दिएर विसर्जन गर्ने गरिन्छ ।
सव फगुवा मिलि दिय हो आशिस
गोठ गावडी जिरौ लाख वरिस
पाण पुरुख जिरौ लाख वरिस
घरकी घरिना जिरौ लाख वरिस
गाउँको मुखिया जिरौ लाख वरिस ।
होलीको इतिहास
त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफँै आगोमा भष्म भएको दिनका रूपमा होलीको पर्व पदार्पण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रह्लाद घटना व्रmमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महìव अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको वध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाउने गरिन्छ । व्रज क्षेत्रमा मन्दिर अथवा निश्चित स्थानमा बसेर खडी बोली व्रज भाषामा होली गाइन्छ र खेलिन्छ भने होली खेल्ने गाउने व्यक्तिलाई रसिया, होरियार भनिन्छ । त्यसै गरी गडवालतिर र कुमाउतिर धुमधामसँगै खेलिन्छ होली । आर्यहरू नै भारतवर्षको विभिन्न ठाउँबाट बसाइँ सर्दै आएकाले त्यहाँको संस्कृति पनि सँगै आएको र त्यसमा केही परिमार्जन भई नयाँ बसोबासको संस्कृतिसँग मेल हुने गरी जस्ताको त्यस्तै नभई त्यही संस्कृति भित्रिएको पाइन्छ । व्रज, गडवाल, कुमाउसँगै मेलखाने तवरमा डोटी क्षेत्रको रूपालतिर होली खेल्ने परम्परा रहिआएको छ ।
रूपाल गर्खा अन्तर्गत पुरानो थपलामा पहिलो पटक चीर गाडेर होली खेल्ने गरिएको मानिन्छ । यहीँबाट अरू ठाउँ होली सारिएको खेल्ने गरिएको मान्यता छ । डोटीको रूपाल क्षेत्रमा विशेष प्रकारले मनाइन्छ । होरी खेलमा नै मतेवाली भयौ मोरे यार मै मतेवाली भयौ भने जस्तै पूर्ण रूपमा समर्पण भावमा होरी खेल्छन् र भरपुर मनोरञ्जन लिन्छन पनि ।
होलीमा रङहरूको प्रयोग
होली रङहरूको पर्व हो । थुप्रै प्रकारका रङ प्रयोग गरेर होली खेल्ने प्रचलन रहेको छ । त्यसैले पनि होली एउटा रङ्गीन पर्व बनेको छ । होलीमा विभिन्न थरीका रङको समिश्रणले वातावरण नै रङ्गीन बनाइदिएको हुन्छ । रङ कसलाई मन पर्दैन र ? तर यसको परिस्थिति अनुकूल सही प्रयोग हुनु पर्छ । रङले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । मानव जीवनमा गरिने विभिन्न संस्कार र अनुष्ठानमा रङहरूको प्रयोग गरिन्छ । हरेक दिन टीका लाउनेदेखि अनुष्ठन आरम्भदेखि विसर्जनसम्म लगाइने टीकामा विभिन्न रङको प्रयोग हुन्छ । विजयोल्लासमा पनि अबिरलगायत रङको प्रयोग हुन्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा निलो रङहरूको बढी प्रयोग हुन्छ । हरेक रङको आआफ्नो विशेषता रहेको हुन्छ । होलीमा प्रयोग गरिने निलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले निलो वर्णका श्रीहरि विष्णुले अधर्म नाश गर्न तथा धर्म रक्षाका लागि युग अनुसार अवतार लिँदै आउने धार्मिक विश्वास रहेको छ ।
रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महìव पनि छ ।
पहेँलो रङ श्रीकृष्णको प्रिय रङ हो । रातो रङलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ । शक्तिको प्रतीक भएकाले युद्ध विजय र खुसीमा वा महोत्सवहरूमा पनि रातो रङ नै प्रयोग गरिएको पाइन्छ । पूर्णिमाको राति चीर दहनर होलिका दहन गरिन्छ । होलिका दहन गरी त्यसको खरानीको टीका लगाउने गरिन्छ । डोटेली भाषामा खरानीलाई छार भनिन्छ । छार घसेर खेलिने होलीलाई छरेडी भन्ने गरिन्छ ।
होली पर्वको महìव
हरेक कला र संस्कृतिको आफ्नै विशिष्ट महìव रहेको हुन्छ । विभिन्न चाड पर्वको आफ्नै महìव र रौनक हुने गर्दछ । तीनैमध्येको एक हो होली । होली पर्व नेपाल र भारतलगायत विश्वभर रहेका हिन्दूहरूले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । होली पर्वले सामाजिक सद्भाव, आध्यात्मिक र सांस्कृतिक महìव बोकेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको पर्वका रूपमा होली पर्वको निकै ठुलो महìव रहिआएको छ । होली रङहरूको रङ्गिलो पर्व हो । रङहरूको महìव मनोरञ्जन र आकर्षणताका लागि मात्रै छैन, धार्मिक एवं आध्यात्मिक महìव पनि छ ।
होलीमा प्रयोग हुने होली गीत मूलतः भक्ति गीतमा आधारित हुन्छन् ।
धार्मिक सांस्कृतिकसँगै आपसी सद्भावको पर्व पनि हो यो । मनोरञ्जनमा झुमेर खेलको रौनकमा समर्पित हुन्छन् र आफू रङको नशामा लिप्त भएको भाव प्रकट गर्छन् । मै मतेवाली भयौ मोरे यार मै मतेवाली भयौ ।
पुराणहरूमा होलीको प्रसङ्ग
विष्णु पुराणमा प्रह्लादको विष्णु भक्तिको प्रसङ्ग उल्लेख गरिएको छ । प्रह्लादको भक्तिकै कारण नरसिंह अवतार भई हिरण्यकश्यपु मारिएको वर्णन गरेको पाइन्छ । त्यसै प्रसङ्गमा आगोमा दहन गर्दा पनि प्रह्लादलाई आगोले डढाउन नसकेको उल्लेख छ ।
होलीको जीवनदर्शन
होलीमा सनातन हिन्दू दर्शन र डोटेली लोकाचारका कुरालाई देखाउन खोजिएको छ । षट् दर्शनको वैषेशिक, मीमांसा मान्यताको विश्लेषणात्मक प्रस्तुति पाइन्छ । मानवजीवनका व्यावहारिक पक्ष नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठुलाबडाले भनेको मान्नु, पौराणिक कथाले सिकाउने जीवनोपयोगी पाठ आदि कुरालाई होलीमा देखाएको पाइन्छ । भगवान् शिव, विष्णु, ब्रह्मा, राम, कृष्णका आदर्श गुणको अनुशरण गर्नुपर्ने, पारिवारिक संस्कार र सनातन धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसै गरी जीवन दुःखपूर्ण अभाव मात्र होइन सुमधुर रङ्गिलो, रमाइलो पनि हुन्छ भन्ने प्ररणा दिन्छ । होलीका हरेक गाथा कथाले देवस्तुतिको झलक दिएको हुन्छ । वैदिक सनातन मान्यतामा हरेक कार्यलाई अनुष्ठान जस्तै मनाइन्छ भन्ने होली गाथा, कथा, गीतभित्रको मुख्य दर्शन हो ।
परशुराम–१२, डडेलधुरा