• १२ साउन २०८१, शनिबार

बुद्धको शिक्षा विश्वव्यापी बनाउनु आवश्यक

blog

समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, फागुन २० गते। लुम्बिनीमा आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार तीन दिने  त्रिपिटक (पाठ) कार्यक्रम उद्घाटन गर्नुभएको हो।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताउनुभयो।

उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौँमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘कुन दिन भन्ने कुरा छलफल गरौला तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ।’’ 

उहाँले मेडिटेशनलाई गृहमन्त्रालयले सुरुवात गरिसकेको समेत बताउनुभयो। गृहमन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरूपान्तरणले मात्रै सुशासन र अपराध न्यूनीकरण गर्ने र यसका लागि ध्यान नै उपयोगी हुने बताउनुभयो। ‘‘गृहमन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान सुरुवात नै गरिसकेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘अब कारागारमा पनि ध्यानविधि सुरुवात गराउने अभियानमा छौँ।’’


उहाँले तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो। गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताउनुभयो। उहाँले विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्नु आवश्यक रहेको बताउनुभयो। 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको दर्शन र विचारलाई विश्वले अङ्गीकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठुलो सहयोग गर्ने बताउनुभयो। उहाँले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाको सङ्ग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताउनुभयो।  

कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका संघनायक/संरक्षक भिक्षु बोधिसेन महास्थविर, सङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुर्वणलाल बज्राचार्य, नेपालका लागि श्रीलङ्काका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिको सहभागिता रहेको थियो । 

त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाको उपस्थिति रहेको थियो। तीन दिने पाठमा भारतका बैद्ध तीर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणीसहित देशका विभिन्न जिल्लाबाट उपासक उपासीकाको उपस्थिति रहेको छ। त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो।