आज सेप्टेम्बर १६ अर्थात् विश्व ओजोन तह बचाऊँ दिवस । सूर्यबाट पृथ्वीमा आउने हानिकारक पराबैगनी विकिरणहरू पृथ्वीको माथिल्लो तहमा (स्ट्राटोस्फेयर) रहेको ओजोन तहलाई पार गरी पृथ्वीको सतहमा सजिलै पुग्न थालेका कुरा वैज्ञानिक अध्ययनले देखाएको छ, जसका कारण प्राणी जगत्मा अनेक खालका स्वास्थ्य समस्या देखा परेका छन् । यस्ता हानि पु¥याउने समस्याबाट मानव मात्र होइन सम्पूर्ण जीवजन्तु, वनस्पति तथा जीवात्मालाई समेत जीवनको खतरा उत्पन्न भयो । ओजोन तहलाई आगामी दिनमा अझ क्षयीकरण हुने सम्भावनालाई मध्यनजर गर्दै ओजोन तहको संरक्षण गर्न विभिन्न उपायको खोजी गरी हाम्रो पृथ्वी, पृथ्वीमा बसोबास गर्र्ने मानवलगायत सम्पूर्ण चराचर जगत्को संरक्षण गर्न करिब ४० वर्षअघि विश्वका धेरै जसो राष्ट्र अस्ट्रियाको भियना सहरमा जम्मा भएर एउटा सन्धिमा सहमत भएको थियो । यसमा २८ राष्ट्रले सन् १९८५ मार्च २२ मा सहमति जनाएका थिए ।
सन् १९८७ सेप्टेम्बरमा क्यानडाको मन्ट्रियलमा एउटा कार्यपत्र पनि तयार गरेका थिए जसमा ओजोन तहलाई क्षयीकरण हुनबाट बचाउने उपायको वैज्ञानिक खोजमा थप जोड दिइएको थियो । यस विषयमा उनीहरूले सफलता हासिल गर्दै आएका पनि छन् । क्रमशः जब वैज्ञानिक थप जानकारीका आधारमा, मन्ट्रियल सन्धि गरियो जसले रेफ्रिजरेसन, एरोसोल स्प्रे तथा फोम उत्पादनमा प्रयोग गरिने मानव निर्मित रासायनिक ग्यास जस्तै क्लोरोफ्लोरो कार्बन बिस्तारै हटाउन थालियो र ओजोन तहलाई बचाउने तथा पुनस्र्थापना गर्ने अवस्थाको सिर्जना ग¥यो । त्यसपछिका दिनमा क्रमशः अनुसन्धानका काम जारी छन् । यस वर्षको ओजोन तह संरक्षणको अन्तर्राष्ट्रिय दिवस ‘विज्ञानदेखि विश्व कार्यसम्म’ भन्ने नाराका साथ मनाइँदै छ । यस दिवसमा हामी गत ४० वर्षको ऐतिहासिक उपलब्धिको उत्सवका साथ आगामी ४० वर्षको कार्यको प्रतीक्षा गर्दै छौँ । भियना, मन्ट्रियल तथा किगाली सम्मेलनमा भएका संशोधन र सन्धि पराबैगनी किरणको स्तर, ओजोन तह क्षयीकरण गर्ने हरितगृह ग्यास र अन्य रसायनको निगरानीका लागि अत्यन्त महìवपूर्ण छन् । ओजोनसम्बन्धी सन्धिले विज्ञानबाट विश्वव्यापी कार्यतर्फको अवधारणालाई मूर्त रूप दिएका छन् र तिनीहरूले आगामी धेरै वर्षसम्म पनि यही कार्य जारी राख्ने छन् ।
ओजोन ग्यास रासायनिक दृष्टिले एउटा अणु हो र यो तीन वटा अक्सिजनका परमाणु मिलेर बनेको हुन्छ । यो वायुमण्डलको सबैभन्दा माथिल्लो तहमा हुने एक प्रकारको विषालु ग्यास हो । पराबैगनी विकिरणहरूको सम्पर्कमा आउँदा ओजोन अणु टुट्न गई यो ग्यास परमाणु अक्सिजनमा बदलिन्छ । यसरी छुट्टिएको मुक्त अक्सिजनको परमाणु अरू पदार्थ वा ग्यास सित प्रतिक्रिया गरेर अवाञ्छित हानिकारक यौगिक बनाउन सक्छ । प्रायः धेरै प्रयोगमा आउने फ्लोरिन, क्लोरन, ब्रोमिन तथा ओयोडिन जस्ता ह्यालोजन परमाणु कार्बन परमाणुसँग मिलेर ह्यालोकार्बन रसायन बन्न पुग्छन्, जसले ओजोन क्षयीकरणमा मुख्य भूमिका खेल्छ । पृथ्वीमा बसोबास गर्ने मानव जातिले आफ्नो विलासी जीवनशैलीका निम्ति उत्पादन गर्ने साधन बनाउनमा प्रयोग हुने मानव निर्मित रसायन जुन क्लोरिन, ब्रोमिन जस्ता ह्यालोजन ओजोन क्षयीकरणमा भूमिका खेल्छन् । तिनीहरूमा मिथाइलब्रोमाइड, मिथाइल, क्लोरोफर्म, कार्बनटेट्राक्लोराइड र क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरो कार्बन नामले चिन्ने गरिन्छ ।
पृथ्वीको वायुमण्डल (स्ट्राटोस्फेयर क्षेत्र) जुन पृथ्वीको सतहबाट १५ देखि ३० किमीको दुरीमा पर्छ यो एउटा यस्तो पत्र हो जसमा ओजोन ग्यासको बाक्लो उपस्थिति रहेको हुन्छ । यसले पृथ्वीको पूरै भागलाई यसरी ढाकेको हुन्छ जसका कारण सूर्यबाट पृथ्वीमा आउने हानिकारक पराबैगनी विकिरणलाई शोषण गरेर पृथ्वीमा रहेका मानव तथा सम्पूर्ण जीवात्माको संरक्षण गरेको हुन्छ । यसको गन्ध कोलोरिन ग्यासको जस्तो अप्रिय खालको हुन्छ र यस तहले धेरै जसो खराब पराबैगनी विकिरणलाई पृथ्वीको सतहसम्म पुग्नबाट रोकेको हुन्छ । जब ओजोन तह पातलो हुन जान्छ, सूर्यबाट पृथ्वीमा आउने हानिकारक विकिरण जस्तै अल्ट्राभायोलेट रेडियसन सिधै पृथ्वीको सतहमा पुग्छन् । अनि पृथ्वीमा रहेका मानव तथा सम्पूर्ण जीवात्माका स्वास्थ्यमा यसका धेरै नराम्रा असर देखा पर्न थाल्छन् ।
हामी बसोबास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयव, जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तु तथा वनस्पति, हाम्रो आकाश र आकाशमा भएका सबैखाले जैविक तथा अजैविक जीवात्मा र तिनीहरूको पारस्परिक सम्बन्ध नै हाम्रो वातावरण हो । यही पारस्परिक सम्बन्धको चक्रबाट सबै प्राणी, वनस्पति र सूक्ष्म जीवको अस्तित्व सम्भव भएको छ । प्रकृतिले विभिन्न प्रजातिबिचको अन्तर्क्रिया तथा अन्तरसम्बन्धको जटिल शृङ्खला सिर्जना गरेको हुन्छ, जसलाई पारिस्थितिकीय प्रणाली/इकोसिस्टम भनिन्छ । सत्य कुरा के हो भने राम्रो पारिस्थितिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढावा गर्न सक्छ, जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न मद्दत गर्छ र जैविक विविधता विनाश हुनबाट जोगाउँछ । धातुजन्य फोहोर, हानिकारक रसायन, विषादी तथा विभिन्न जैविक तथा औद्योगिक–रासायनिक पदार्थ, अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषण बढिरहेका छन् । अनियन्त्रित जनसङ्ख्या, औद्योगिक क्रान्ति, वनविनाश, विनाशकारी द्वन्द्वहरू, आगजनी, आणविक भट्टीको स्थापना र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रामा कोइला र पेट्रोलियम पदार्थको प्रयोगबाट कार्बन उत्सर्जनका साथसाथै हानिकारक हरितगृह ग्यास (कार्बन डाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरो कार्बन, परफ्लोरो कार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने क्रम जारी छ ।
एकातर्फ हरितगृह ग्यास वृद्धि हँुदा पृथ्वीको तापक्रम बढेर प्रत्येक वर्ष विश्वका पाँच करोड पाँच लाख मानिस मरुभूमीकरण तथा सुक्खा खडेरीबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने सन् २००० देखि सुक्खा खडेरीको सङ्ख्या र अवधि २९ प्रतिशतले वृद्धि भएको जनाइएको छ । सन् १९०० र २०१९ का बिचमा विश्वका दुई अर्ब ७० करोड मानिस यसबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने एक करोड १७ लाख मानिसको मृत्यु भएको छ । तथ्यले के देखाउँछ भने सन् २०४० सम्ममा हामीमध्ये धेरैभन्दा धेरै मानिस तथा प्राणी पिउने पानीको अभावबाट ग्रसित भएका हुने छौँ भने प्रत्येक चार बालबालिकामध्ये एक जना यसबाट प्रताडित हुने छन् भनी अनुमान गरिएको छ । यसले गरिबी, राजनीतिक अस्थिरता, जमिनको अनुचित प्रयोग, वनविनाश, अति चरिचरन अनुचित सिँचाइका कारण जमिनको उत्पादकत्व घट्दो अवस्थामा पुगेको छ । जसले कार्बन उत्सर्जनमा बढावा गर्छ भने जैविक विविधतामा ह्रास ल्याउँछ । अर्कोतर्फ यस्तै अवाञ्छित ग्यासको वृद्धिका कारण ओजोन तह क्षयीकरणबाट हाम्रो वासस्थान दिनानुदिन सङ्कटग्रस्त बन्दै छ ।
यस सम्बन्धमा विज्ञका अनुसार मोन्ट्रियल सन्धि कार्यान्वयनमा विकासशील तथा विकसित देशमा राम्रो प्रगति गरेको दाबी गर्दै आएका छन् । जसले ओजोन तहलाई क्षयीकरण गर्ने सम्भावित हेलोजन जस्ता हानिकारक ग्यासहरू न्यूनीकरण गर्न चरणबद्ध योजना बनाएर जोड दिएका थिए । यस्ता ग्यासको चरणबद्ध हटाउने तालिका सन् १९९२ मा सुरु गरी विकासशील देशका लागि सन् २०४० सम्म तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको इतिहासमा भियना सम्मेलन र मोन्ट्रियल सन्धिलाई विश्वव्यापी अनुमोदन गर्न महत्वपूर्ण भूमिका खेलेका कुरालाई स्मरणमा राख्नु पर्छ । सन् २००९ सेप्टेम्बर १६ मा रुवान्डाको राजधानी किगालीमा भएको भेलाले ओजोन तहको स्थायित्वमा महत्वपूर्ण भूमिका खेलेका हो । पृथ्वीको संरक्षणमा सबैको सहयोगका लागि चेतनामूलक कार्यक्रमका साथ मनाउनुमा यसको सार्थकता रहेको देखिन्छ । विगत ४० वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण, जैविक विविधता संरक्षण तथा हाम्रो वायुमण्डल र ओजोन तहको संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी मनाउँदै आएका छन् । विश्वव्यापी समस्या समाधान गर्न, राजनीतिक इच्छाशक्ति र स्रोतसाधनको परिचालन गर्न र मानवताको उपलब्धिको उत्सव मनाउनुका साथै जनताका चासोका विषय मा चेतना फैलाउनु, शिक्षित बनाउनका लागि यस्ता अन्तर्राष्ट्रिय दिवसको धेरै महत्व रहेको हुन्छ ।
वायुमण्डल र पृथ्वी बचाउन यसमा भएका प्राकृतिक स्रोतको संरक्षण गर्नु पर्छ, यसलाई सधैँ सफा र हरियो राख्न जरुरी छ । पृथ्वीको बचाउमा लगानी गरौँ, पृथ्वीलाई हानि पु¥याउने कामविरुद्ध आवाज उठाऊँ । पृथ्वीबाहेक हाम्रो बस्ने ठाउँ कतै छैन । त्यसैले यसलाई माया गरौँ, सुखी र समृद्ध बनी शान्ति तथा खुसी प्राप्त गरौँ । प्रत्येक वर्ष यो दिनलाई विश्वका विभिन्न राष्ट्र र सङ्घ संस्थाले व्यापक रूपमा विश्वको तापमान वृद्धि र ओजोन तह क्षयीकरण सम्बन्धमा आधुनिक ज्ञानविज्ञानसहित वातावरण संरक्षणका लागि वार्षिक उत्सवका रूपमा मनाउँदै आएको हो । हामीले पनि हाम्रो पृथ्वी, प्रकृति र वायुमण्डल संरक्षणको महत्व जनस्तरमा पु¥याउन चेतनामूलक कार्यक्रमसाथ ओजोन दिवस मनाऊँ ।