• ८ पुस २०८२, मङ्गलबार

तत्काल संसद चल्दैनः सभामुख भण्डारी

blog

सभामुख भीमबहादुर भण्डारी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनसहित सचिवालयमा अत्यधिक क्षति भएकाले तत्काल संसद नचल्ने बताउनुभएको छ । 

प्रदेश सभामा भएको क्षतिबारे आज जानकारी दिनुहुँदै उहाँले तत्काल संसद चलाउन नसकिने बताउनुभएको हो । प्रदर्शनकारीको आगजनीबाट प्रदेशसभा ९० प्रतिशत जलेर ध्वस्त भएको उहाँको भनाइ छ । सभामुख भण्डारीले पुनर्निर्माण गरेरमात्र संसद चलाउन सकिने उल्लेख गर्नुभयो । 

उहाँले सबैभन्दा धेरै सरकारी कार्यालय यही प्रदेशमा ध्वस्त भएको उल्लेख गर्दै थप्नुभयो, “केन्द्रीय राज्यसत्ताले पछाडि पारेको र विकासको दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिममा न बन्ने, न बनाउने हामी सुदूरपश्चिमेलीको मानसिकता होकि भन्ने मलाई लागेको छ । सबै संरचना ध्वस्त गरिएको छ ।”

यही व्यवस्था रहेमा यो संरचना पछि आउनेलाई पनि चाहिने सभामुख भण्डारीले उल्लेख गर्नुभयो । “हामी त पाँच वर्षका लागि आएका हौं । यो संरचना त पछि आउनेलाई पनि चाहिन्छ नि !” उहाँले थप्नुभयो, “जसरी संरचना जलेका छन्, आजको आजै हामी फेरि उभिने ठाउँमा पुगेका छैनौं ।”

भण्डारीले बचेको संरचनामा इकाइ स्थापना गरेर सरकारी काम अगाडि बढाउने तयारी भइरहेको उल्लेख गर्नुभयो । उहाँले संघीय सरकार गठन भए पनि जहाँ समस्या थियो, त्यहाँ सरकार केन्द्रित नरहेको जिकिर गर्नुभयो । जसको कारण जेनजी आन्दोलनको उपलब्धी गुम्छ कि भन्ने आफूलाई चिन्ता लागेको सभामुख भण्डारीको भनाइ छ । 

चुनावी प्रणालीमा मुख्य समस्या रहेको औंल्याउँदै उहाँले भ्रष्टाचारको कारक नै चुनावी प्रणाली रहेको उल्लेख गर्नुभयो । “संसद विघटन गरेर पुनः त्यसकै लागि संसदीय प्रणालीमै रहेर चुनाव गर्नुले देश फेरि गृहयुद्धमा जान्छ कि भन्ने मलाई लागेको छ” उहाँले भन्नुभयो, “मुख्य पार्टीलाई बाहिर राखेर चुनावमा जानू समस्याको समाधान होइन । यो गलत हुन्छ ।”

भण्डारीले आन्दोलनपछि जेनजी समूहमध्येबाट कसैले देशको नेतृत्व गर्ने अपेक्षा गरिए पनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अहिले नै समूह बनाएर मन्त्री बनाउने तछाडमछाड भइरहेको उल्लेख गर्दै यसले निकास नदिने जिकिर गर्नुभयो ।