• ८ पुस २०८२, मङ्गलबार

फुङ्लिङ र सिदिङ्वाको सेवा एक सातादेखि प्रभावित

blog

तोडफोड र आगजनी गरिएको फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ३१ गते। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ। जेनजी समूहको नाममा प्रशासनिक भवनमा तोडफोड र आगजनी गरिएपछि उक्त दुई स्थानीय तह (पालिका) को सेवा प्रभावित भएको हो।

गएको मङ्गलबार राति तोडफोड र आगजनी गरी फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवनमा क्षति गरिएपछि सेवा प्रभावित भएको हो। प्रशासकीय भवनमा तोडफोड र आगजनी गर्दा कार्यालयभित्र रहेको फर्निचरसहितका सामग्री, कागजात र अन्य भौतिक संरचना तहसनहस भएपछि सेवा प्रभावित भएको नगरपालिकाका सूचना अधिकारी प्रकाश तामाङले जानकारी दिनुभयो।

सूचना अधिकारी तामाङका अनुसार फार्निचर सामग्री, कागजात तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने अन्य सबै सामग्री तोडफोड र आगजनीबाट नष्ट गरिएकाले सेवा प्रभावित भएको हो। केही दिनदेखि सिफारिस, सामान्य राजस्व सङ्कलन लगायतका सीमित काम मात्र हुँदै आएको तामाङले बताउनुभयो। हाल क्षति पुर्‍याइएको कार्यालयको मर्मतसम्भार र फर्निचर लगायतका सामग्री व्यवस्थापनको काम भइरहेकाले नगरपालिकाले चाँडै सबै सेवा प्रवाह गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो।

त्यस्तै जेनजी आन्दोलनको फाइदा उठाउँदै गएको एक समूहले सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरी सबै सामान उठाएपछि गाउँपालिकाको सेवा एक सातादेखि प्रभावित बनेको छ। गएको बुधबार दिउँसो सो समूहले साब्लाखु भञ्ज्याङस्थित गाउँपालिकाको प्रशासकीय भवनमा ढोका र ताल्चाहरु फोरेर कार्यालयभित्र रहेको सबै सामग्री झिकेर लगेका थिए। फर्निचर सामग्री, कम्प्युटर, प्रिन्टर, कागजात सहितका सामान लगेपछि गाउँपालिकाको सेवा हाल ठप्प रहेको छ।

यता कार्यालय तोडफोड गरी सबै सामान तोडफोडमा संलग्न समूहले लगेपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएको बताइएको छ। उक्त कार्यालय तोडफोडसम्बन्धी घटनाका विषयमा दुवै पक्षसँग समन्वय र कानुनी प्रक्रियाको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताउनुभयो। प्रजिअ सेढाइँले मङ्गलबार बिहान मात्र गाउँपालिकाका पदाधिकारी र कार्यालय तोडफोड गरी सामान लैजाने पक्षसँग सम्पर्क गरेको बताउनुभयो।

कार्यालय तोडफोड गरी लगिएको सामग्री दुरुस्त फिर्ता गर्न र फिर्ता भएको सामग्री बझ्न अर्थात जिम्मा लिनेगरी दुवै पक्षसँग आफूले सम्पर्क गरेको सेढाइँले बताउनुभयो। उहाँका अनुसार कार्यालयको सामग्री फिर्ता भएमा गाउँपालिकाले जिम्मा लिने र तोडफोडमा संलग्नले आफूहरुले लगेको सामग्री फिर्ता गर्न सहमत भएका छन्। सम्बन्धित पक्षलाई सामान चाँडै फिर्ता गर्न भनिएको पनि प्रजिअ सेढाइँले बताउनुभयो।

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड गरी उठाएको सामग्री सो समूहले नजिकै रहेको साब्लाखु स्वास्थ्य चौकीमा लगेर राखेका बताइएको छ। गाउँपालिकाका कार्यालय तोडफोड गर्नु र सामान लैजानुको कारण खुलिसकेको छैन। केही स्थानीयले भने गाउँपालिका कार्यालय रहेको हालको वडा ४ साब्लाखुबाट वडा ५ लिम्बुदिन सार्नेगरी कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको विरोधमा कार्यालय तोडफोड गरी सामान सारेको हुनसक्ने अनुमान गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।