• १२ साउन २०८१, शनिबार

सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

blog

पत्रकार भेटमा सम्मेलनको जानकारी दिनुहुँदै मुख्यमन्त्री चौधरी । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, फागुन १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । 

बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन नाम दिइएको सो सम्मेलनबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साथै लुम्बिनीको प्रतिष्ठा अभिवृद्धि हुने मुख्यमन्त्री चौधरीले विश्वास व्यक्त गर्नुभयो ।  

लुम्बिनी प्रदेशको सम्पर्क कार्यालय बुटवलमा शनिबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा नोबेल शान्ति तथा अन्य बि धामा पुरस्कार जितेका, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख, विश्वव्यापी नेताहरूको सहभागिता रहने जानकारी दिनुभयो । 

मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलनबाट कुनै पनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन’ आयोजना गरिएको बताउनुभयो । 

सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने बताइएको छ ।  

मुख्यमन्त्री चौधरीले सम्मेलनबाट दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्धन हुने, अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिको सन्देश प्रचार हुने र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको पहिचान वृद्धि भई महत्त्वपूर्ण पर्यटकीयस्थलको रूपमा विकास हुने बताउनुभयो ।  

उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २८ गते लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनका लागि ६ करोड ५० लाख रुपियाँ बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपियाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीले बताउनुभयो । 

सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्धनको वातावरण बनाउने विश्वास छ । सम्मेलनको अवसरमा विभिन्न देशका विद्वानसहित १० वटा कार्यपत्र प्रस्तुत हुने र २९ गते लुम्बिनी घोषणापत्रसहित सम्मेलनको समापन गर्ने कार्यक्रम छ ।