भरतपुर (चितवन), चैत १ गते ।नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ ।
सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो ।
सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ ।
तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताउनुभयो ।
लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताउनुभयो ।
शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो ।यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो । रासस