• १ चैत २०८२, आइतबार

सर्वोच्चको निर्णयपछि कृष्ण मोटरमार्ग ठेक्का रद्द

blog

अलपत्र अवस्थामा परेको कृष्ण मार्ग । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, चैत १ गते ।लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको तनहुँको घिरिङस्थित कृष्ण मोटरमार्ग निर्माणमा वर्षौपछि नयाँ आशा पलाएको छ ।

 निर्माण कम्पनी र सरकारी निकायबीचको लामो अदालती लडाइँले गर्दा विकास ठप्प हुँदा स्थानीय नागरिकले ठुलो सास्ती भोग्दै आएको यस सडकको पुराना ठेक्का रद्द गर्ने वैधानिक बाटो सर्वोच्च अदालतको फैसलाले खोलिदिएको हो ।

 घिरिङ गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी साभुङ देउरालीदेखि पाल्पाको सिमाना केलादीघाट जोड्ने २५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता रद्द भएको जानकारी दिएको छ । 

सर्वोच्च अदालतको गत पुस १८ गतेको फैसला र गण्डकी प्रदेश मन्त्रिपरिषद्को फागुन १४ गतेको निर्णयका आधारमा गाउँपालिकाले सन्तोषी निर्माण सेवा प्रालि चितवनसँगको सम्झौता अन्त्य गरेको हो । 

साविक जिल्ला विकास समिति तनहुँबाट बोलपत्र स्वीकृत भई राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत २०७३ वैशाख २३ गते सम्झौता भएको यो आयोजना सुरुदेखि नै विवादित बनेको थियो ।

 निर्माण कम्पनीले काममा आलटाल गरेको र गुणस्तरहीन काम गरेको भन्दै जिल्ला प्राविधिक कार्यालय तनहुँले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि निर्माण कम्पनी अदालत पुगेको थियो । 

उच्च अदालत पाटनले ठेकेदारको पक्षमा सदर गरेपछि राज्यलाई करोडौँको थप आर्थिक भार पर्ने स्थिति सिर्जना भएको थियो ।

 तर, उच्च अदालतको फैसला विरुद्ध प्राविधिक कार्यालय (हालको पूर्वाधार विकास कार्यालय) सर्वोच्च अदालत गएपछि मुद्दाले नयाँ मोड लिएको हो ।

 सर्वोच्च अदालतले तल्लो तहका फैसलाहरूलाई उल्ट्याउँदै सरकारी पक्षको दाबीलाई सदर गरेपछि निर्माण व्यवसायीले माग गरेको चार करोड २५ लाखभन्दा बढीको भुक्तानी दिनु नपर्ने र ठेक्का तोड्न पाउने कानुनी आधार तयार भएको छ ।

 घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाका अनुसार लामो समयदेखि सडक निर्माण अवरुद्ध हुँदा स्थानीय नागरिकको दैनिक आवागमन कष्टकर बनेको थियो भने पुरानो ठेक्का कायम रहँदासम्म अर्को व्यवसायीमार्फत काम अगाडि बढाउन समेत कानुनी अवरोध थियो।

 सर्वोच्चको फैसलापछि अब सो अवरोध पूर्ण रूपमा हटेको छ र सुविस्ताको आधारमा ठेक्का अन्त्य गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।

 ठेक्का रद्द भएसँगै यस क्षेत्रको रणनीतिक विकासका लागि ४० करोड रुपैयाँ बराबरको नयाँ आयोजना अघि बढाउने मार्ग प्रशस्त भएको छ । 

तत्कालीन प्रतिनिधिसभा सदस्य केदार सिग्देलको पहलमा विनियोजित उक्त बजेटबाट अब गाईघाट–गल्याङ–कटहरे वैकल्पिक राजमार्ग मोहमी खण्ड अन्तर्गत कृष्ण मोटरमार्गको यो खण्डलाई कालोपत्रे गर्ने गरी नयाँ बोलपत्र आह्वान गरिनेछ ।

 यस निर्णयले वर्षौँदेखि हिलो र धुलोको सास्ती खेप्दै आएका घिरिङ र पाल्पा क्षेत्रका बासिन्दालाई ठुलो राहत पुगेको गाउँपालिकाको उपाध्यक्ष राधादेवि अधिकारी बताउनुहुन्छ । 

मुद्धा पर्दा गाउँ पालिकाले आफ्नै बजेटले सडक स्तरोउन्ती गर्छु भन्दा समेत नपाउँने अवस्था आएकोमा अब सहज भएको अधिकारी बताउनुहुन्छ ।