प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १ गते ।बनगाड कुपिन्डे नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ।
नगरसभाले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले करिब चार करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट व्यवस्थापन तथा संशोधन गर्ने निर्णय गरेको नगरप्रवक्ता धनबहादुर पुनले जानकारी दिनुभयो।
साथै सभाबाट विभिन्न ऐन तथा कार्यविधिहरू पनि पारित गरिएको छ।सभाको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पूर्वमन्त्री भीम प्रकाश शर्माले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै शर्माले जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन जनप्रतिनिधि तथा कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
प्रदेशसभाबाट बनेका ऐनकानुन कार्यान्वयनका क्रममा स्थानीय तहमा देखिने समस्याबारे प्रदेशसभामा छलफल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।
साथै स्थानीय तहले आवश्यक परे प्रदेश सरकारलाई लिखित रूपमा जानकारी गराई सहकार्य र समन्वयमार्फत विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
जनप्रतिनिधि र नागरिकबीच विश्वासको वातावरण सुदृढ बनाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।नगरसभामा नगरप्रमुख कर्णबहादुर बुढाथोकीले विभिन्न ऐन तथा कार्यविधि पेश गर्नुभएको थियो भने उपप्रमुख पुरुषोत्तम आचार्यले चालु आर्थिक वर्ष २०८२÷०८३ का योजना तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
उक्त प्रस्ताव नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ। नगरप्रमुख बुढाथोकीले समयमै योजना कार्यान्वयन गर्न तथा समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिन बजेटमा आवश्यक संशोधन गरिएको बताउनुभयो।
त्यसैगरी सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई थप व्यवस्थित बनाउन विभिन्न ऐन तथा कार्यविधि सभामा पेश गरिएको जनाइएको छ।ती ऐन तथा कार्यविधि पारित भएसँगै स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।अधिवेशनमा वक्ताहरूले स्थानीय तहको समग्र विकास, सुशासन, पारदर्शिता तथा जनसेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
साथै नगरपालिकाभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न सुस्वा परियोजनामार्फत खानेपानी विस्तार गर्ने योजना अघि बढाइएको जानकारी पनि दिइएको छ।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगरसभा सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।