• १९ वैशाख २०८१, बुधबार

‘गंगाजीका शिला अयोध्यामा’ भजन सार्वजनिक

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन १९ गते । 
म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो ।

ध्रुव जिसी र चर्चित शब्द, सङ्कलक नकुल ढकालको शब्द संयोजन रहेको उक्त भजन युट्युबमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गंगाजि का शिला अयोध्यायमा भजनको म्युजिक भिडियोले हिन्दुधर्मावलम्बीहरुको पवित्र तीर्थस्थल गलेश्वर धाम तथा कालिगण्डकीको महिमालाई प्रष्ट्याउन मद्दत गर्ने सर्जक नकुल ढकालको भनाइ छ । ध्रुव जिसी र माया गुरूङको स्वरमा रहेको भजनमा सीमान्त बानियाँ, विज्ञान हमाल, ध्रुव जिसी, जयन्ती आचार्यलगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा गत वर्ष कालिण्डकी नदी किनारबाट भगवान् रामको बाल रूप (रामलाल) निर्माणका लागि शिला भारतको अयोध्या लगिएको सन्देशलाई थप प्रचार गर्न मद्दत गर्ने देखिन्छ । नेपालको म्याग्दी जिल्लामा अवस्थित गलेश्वर मन्दिर र कालीगण्डकी नदीमा धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि उक्त भिडियोले काम गर्न सक्ने बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुहुन्छ ।

गलेश्वरधाम मन्दिर परिषरमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन भुपेन बानियाले गर्नुभएको थियो । भिडियो नकुल नवीन ध्रुव जिसी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।