• १२ साउन २०८१, शनिबार

पुनः नामकरणको माग गर्दै प्रदर्शन

blog

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा गरेको प्रदर्शन ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो । 

आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले काठमाडौँको तीनकुनेमा आज विरोध प्रदर्शनसहित सभा गरेको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति लगायतका सङ्घ संस्थाहरूले विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेका छन् । प्रदर्शनका क्रममा कालो झण्डासहित प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर लगायतका नारा लगाएका थिए ।

२०७९ फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरहरूले विरोधस्वरुप आन्दोलन गर्दैआएका छन् ।

त्यसअवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुनः नामाङ्कन गरिने दाबी गर्नुभयो । गत वर्ष फागुन १७ गते १ नम्बर प्रदेश सभाले पहिचानलाई नामेट पारेर कोशी नाम राखिएको थियो । त्यसैको विरोध स्वरूप विगत एक वर्षदेखि हामीले पहिचानको पक्षमा कोशी नाम खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छौँ, उहाँले भन्नुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व उपाध्यक्ष गोविन्द छन्त्याल, पूर्व महासचिव आङकाजी शेर्पा, आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष जनक राई, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुहाङ, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल मगर सङ्घका सल्लाहकार चन्द्रबहादुर श्रीसमगर, पहिचानका लागि युवा दस्ताका सहकमाण्डर बिराज राई, नेपाल आदिवासी जनजाति युवा महासङ्घका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेल लगायतले सभालाई सम्बोधन गर्नुभएको थियो।