महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :
स्थानीय सरकार प्रमुखका रूपमा निर्वाचित भएर आइसकेपछि पाटनलाई समुन्नत बनाउने के कस्तो योजना तय गर्नुभएको छ ?
कृषि र पर्यटन नै नगरपालिकाको मुख्य आधार भएकाले सबै वडाको सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको छ । एक वडा, एक नमुना कृषि योजना अघि बढाउने निर्णय गरेका छौँ । त्यसका लागि लिफ्ट सिँचाइ योजना छ । जहाँ सिँचाइ सुविधा पु¥याउन सकिँदैन ती वडामा सुक्खा क्षेत्रमा फल्ने फलफूल खेतीलाई प्राथमिकता दिने निर्णय भएको छ ।
जग्गा विवादका कारण नयाँ सहर आयोजना अलपत्र परेको गुनासो छ । तपार्इं नगर विकास समितिको पनि अध्यक्ष हुनुहुन्छ । समस्या समाधान गर्न के कस्तो पहल गर्नुभएको छ ?
देशका १० वटा नयाँ सहरमध्ये पाटनमा पनि एउटा नमुना सहर बनाउने सरकारको योजना छ । २०६८ सालदेखि नयाँ सहरको काम अघि बढेको हो । हिरापुर मनोरञ्जन पार्क, पाटन खुलामञ्च, पाटन बसपार्क आदि भौतिक पूर्वाधारका काम भएका छन् । व्यवस्थित सहर बसाल्ने गरी घडेरीका लागि जग्गा व्यवस्थापन (ल्यान्डपुलिङ) को काम अघि बढ्न सकेको छैन । नयाँ सहरको सुरुको गुरुयोजनामा खेतीयोग्य जमिन मासेर घरघडेरी बनाउने प्रस्ताव स्थानीय जनताले स्वीकार गरेनन् । नगर विकास समितिको बैठकले पाटन नगरपालिका–६ स्थित नागडीबडा गाउँको जमिन घडेरीका लागि उपयुक्त हुने निर्णय गरेका छौँ । त्यहाँ स्थानीयवासी पनि करिब सहमत देखिएका छन् । त्यसो हुन सके नयाँ सहरको काम छिट्टै अघि बढ्छ । यो विषयमा हामी गम्भीर भएर लागिपरेका छौँ ।
नयाँ सहरका लागि मनोरञ्जन पार्क बन्यो तर मानिस देखिँदैन, बसपार्कमा बस भेटिँदैनन् र शैक्षिक संस्थामा विद्यार्थी भर्ना घट्दै गइरहेका छन् । किन यस्तो भइरहेको छ ?
बसाइँसराइ मुख्य चुनौती बनेको छ । पहाडबाट तराई झर्नेको सङ्ख्या बढेपछि गाउँको जमिन बाँझो छ । परम्परागत घर खण्डहर बनेका छन् । गाउँ गाउँमा सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यका पूर्वाधारमा करोडौँ रुपियाँ लगानी गरिरहेका छौँ । सुदूरपश्चिम प्रदेशको राजधानी तराईमा बनेपछि पहाडबाट तराई झर्ने मानिस झन् बढेका छन् । प्रदेश राजधानी पहाडमा बनाउन सके केही मानिस राजधानीले पनि रोक्ने थियो तर त्यसो हुन सकेको छैन ।
स्थानीय तह सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसकेको गुनासो छ नि ? बसाइँसराइ गर्नेमा नेता, कार्यकर्ता र कर्मचारीदेखि जनप्रतिनिधि पनि त छन् नि ? यसमा के भन्नुहुन्छ ?
रोजगारी सिर्जना गर्न नगरपालिकासँग पर्याप्त स्रोत छैन । नगरको वार्षिक आन्तरिक आय करिब ७० लाख रुपियाँ मात्रै छ । यति सानो रकमले रोजगारी सिर्जना गर्न सकिँदैन । वैदेशिक रोजगारीमा जाने युवा पहाडमा बसेका छैनन् । चार आनाको घडेरी किनेर भए पनि तराईमा घर बनाउने होडबाजी छ । अवकास प्राप्त कर्मचारी र जनप्रतिनिधि पहाडमा बस्न चाहँदैनन् । पाटन नगरपालिकाको सन्दर्भमा नयाँ सहर आयोजना बनेपछि व्यवस्थित घडेरी बिक्री हुन्छन् । त्यसो हुन सकेमा पाटन नगरपालिकामा एक लाख मानिस पुनः फर्केर आउने अपेक्षा गरेका छौँ ।
पाटन नगरपालिकामा विमानस्थल भए पनि हवाई सेवा छैन । उडान सञ्चालन गर्न पालिकाले के कस्तो पहल गरिरहेको छ ?
सरकारले १८ करोड रुपियाँ खर्च गरेर विमानस्थल कालोपत्रे गरेको छ । टर्मिनल भवन पनि बनेको छ तर हवाई उडान हुन सकेको छैन । निजी कम्पनीका विमानले १७ मिनेटको हवाई उडानमा पाँच हजार रुपियाँ भाडा लिन थालेपछि हवाई उडान बन्द भएको हो । यति महँगो भाडा तिर्न सक्ने यात्रु छैनन् । नेपाल एयरलायन्सले सुलभ भाडादरमा सानो विमान सञ्चालन गर्न सके हवाई उडान नियमित हुन सक्छ । यो विषयमा पर्यटन मन्त्रालयसम्म माग पु¥याएका छौँ ।
नगरपालिकाको फोहोर नदी र खोलामा फाल्ने गरिएको छ । व्यवस्थित डम्पिङ साइट किन बनाउन सक्नुभएन ?
नदीमा फोहोर फालिएको विषयमा जनगुनासो आएपछि तत्कालका लागि ठाँडतिर फोहोर व्यवस्थापन गरिरहेका छौँ । खोड्पे क्षेत्रको फोहोर व्यवस्थापन गर्न ठाँडमा रहेको डम्पिङ साइट टाढा भएकाले खोलामा फाल्नुपर्ने बाध्यता छ । खोड्पे बजारको फोहोर व्यवस्थित गर्न अर्को डम्पिङ साइट खोजी भइरहेको छ । नयाँ सहर बसेपछि त झन् फोहोर हुने भएकाले यो विषयमा नगरपालिकाले दीर्घकालीन समाधान खोजिरहेको छ ।
यो नगरपालिकामा १५ करोड ४९ लाख रुपियाँ बेरुजु देखिएको छ नि । भ्रष्टाचार र अनियमितता हुने गरेको जनगुनासो त्यत्तिकै छ ? यस विषयमा तपाईंको भनाइ के छ ?
नगरपालिकाको बेरुजु रकम बढी भए पनि भ्रष्टाचार भएको होइन । केही प्रक्रिया नमिलेर अनियमित भएको हो । असुलउपर गर्नुपर्ने पनि थोरै रकम छ । बेरुजु रकम भ्रष्टाचार भएको रकम होइन । सुशासन र पारदर्शितामा जोड दिएर काम गरिरहेका छौँ । आमनागरिक र वडाका जनप्रतिनिधि सबैको राय सल्लाह अनुसार काम गरिरहेका छौँ ।