शेरबहादुर राई
ओखलढुङ्गा, असार २२ गते । ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् ।
गत वर्षभन्दा २६ बढी मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ११८ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस वर्ष ११ महिनाको अवधिमा १४४ वटा मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार सम्बन् विच्छेद माग्नेको सङ्ख्या पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ ।
सूचना अधिकारी रिजालका अनुसार महिला वादी १०८ र पुरुष वादी ३६ छन् । वैदेशिक रोजगारी, प्रविधिको नकारात्मक असर, मादक पदार्थ सेवन, शैक्षिक तथा आर्थिक स्तरमा असमानता, सामाजिक दबाब, मानसिकता बेमेल, सन्तान नहुनु जस्ता कारणले सम्बन्धविच्छेदका दर बढेको अदालतको आँकलन छ ।
यस बाहेक चालु आर्थिक वर्षमा जिल्ला अदालतमा विभिन्न प्रकृतिका ३३७ नयाँ मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्षबाट सरेर आएका १६० मुद्दासमेत जोड्दा अदालतमा कुल ४९७ मुद्दा पुगेका छन् । तीमध्ये ३३४ मुद्दाको फर्छ्यौट भइसकेको छ, भने १६३ मुद्दा हालसम्म बाँकी रहेको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।