सुधा देव
भारदह (सप्तरी), असार २२ गते । हनुमाननगर कङ्कालिनी नगरपालिकाले लामो समयदेखि निजी विद्यालयको अद्यावधिक नगरिदिँदा नगरपालिकाका एक दर्जनभन्दा बढी विद्यालयको भविष्य अन्योलमा परेको छ ।
मापदण्ड अनुसार भौतिक पूर्वाधार पूरा भएको विद्यालयलाई अनुगमन गरी अद्यावधिक गरिदिनुपर्ने कानुनी प्रावधान हुँदा पनि बर्सौंदेखि अपग्रेड नगरिदिँदा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको भविष्य अन्योलमा रहेको भन्दै विद्यालय सञ्चालकले मापदण्ड पुगेका विद्यालयलाई अद्यावधिक गरिदिन आग्रह गरेका छन् ।
सप्तरीको हनुमाननगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी निजी विद्यालयका सञ्चालकले यस्तो आग्रह गरेका हुन् । वैष्णोदेवी विद्यालयका सञ्चालक श्यामकुमार मण्डलले १३ वर्षदेखि निरन्तर विद्यालय सञ्चालन गर्दै आए पनि नगरपालिकाले विद्यालयको अद्यावधिक नगरेको जानकारी दिनुभयो । उहाँले प्रत्येक वर्ष नगरपालिकामा निवेदन दिँदै आए पनि कक्षा १ भन्दा माथिको अनुमति नदिएको १० वर्ष भएको जानकारी दिनुभयो ।
प्रक्रिया पुर्याएर शुल्क तिरेर आउँदा पनि कुनै सुनुवाइ नगरी सबै विद्यालयलाई एकै पटक अद्यावधिक गरिदिने भन्दै नगरपालिकाले आलटाल गर्दै आएको उहाँले बताउँनुभयो । आरपी मेमोरियलका सञ्चालक जयप्रकाश रायले शिक्षा ऐनको ९४ पेजमा आवश्यक भौतिक पूर्वाधार मापदण्ड पूरा गरेका वा प्रक्रिया पुगेका विद्यालयलाई स्थानीय तहले अपग्रेड गर्ने प्रावधान भए पनि अद्यावधिक नगरे हजारौँ विद्यार्थी र सयौँ शिक्षकको भविष्यसँग खेलबाड गर्न खोजेको पत्रकार सम्मेलनमा आरोप लगाउनुुभयो ।
आनन्द बोर्डिङ स्कुलका सञ्चालक आनन्दकुमार यादवले भन्नुभयो, “हामीले गुणस्तरीय शिक्षा दिन विद्यालय खोलेका हौँ । कुनै गल्ती गरेका होइनौँ ।” विद्यालयप्रति नकारात्मक बनाउने काम जिम्मेवार निकायबाट बन्द हुनुपर्ने र यो पालिकाले मात्रै विद्यालयलाई दुःख दिन नमिल्ने बताउनुभयो । पालिका नगर प्रमुख वीरेन्द्र माझीले मापदण्ड पूरा गरेर आउने विद्यालयलाई अद्यावधिक गर्दै आएको बताउनुभयो ।