• १२ साउन २०८१, शनिबार

सुनथराली विमानस्थलमा परीक्षण उडान

blog

सुनथराली विमानस्थलमा तारा एयरको विमान सफल अवतरण। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन १३ गते । कालीकोट जिल्लाको नररहीनाथ गाउँपालिका १ कोटवाडामा निमार्ण भएको सुनथराली विमानस्थलमा परीक्षण उडान भएको छ । आज तारा एयरको विमानले सुनथराली विमानस्थलको परीक्षण उडान गरेको हो । पटक पटक औपचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम आगामी भोली अर्थात् सोमबार हुने पक्का भएपछि त्यसको एक दिन अघि परीक्षण उडान गरिएको हो । 

नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बाेहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती सहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्रीहरूका साथै प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्य सहितको टोली विमानस्थल उद्घाटनमा आउने भएकाले विमानस्थलको अवस्था बुझ्न आज परीक्षण उडान भएको जानकारी दिनुभयो । 

सरकार प्रमुख सहितको टोली आउने भएकाले विमानस्थलको सुरक्षा अवस्था, कताबाट अवतरण गर्दा सहज र सुरक्षित हुन्छ भनेर परीक्षण गर्न तारा एयरको विमान प्राविधिक टोली सहित आएको हो । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले प्राविधिकको भनाइ अनुसार विमानस्थल दुवै तर्फबाट अवतरण गर्न सकिने बताउनुभयो । हामीले पहिलेदेखि चासो राखिराखेको विषय भएकाले पनि नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरहरूले पनि विमानस्थल जनताबाट पनि अवतरण गर्न सकिने प्रतिक्रिया दिनुभएको र आज परीक्षण उडान पनि सहजै भएको बताउनुभयो । फागुन १४ गते भोली सोमबारका दिनमा कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो गरेको अध्यक्ष विष्टको भनाइ छ । 

यसअघि औपचारिक उद्घाटनका लागि चार पटकसम्म सूचना भएर स्थगित हुँदा नागरिक अझै पनि हुन्छ की हुँदैन भन्नेमा थिए । तर आज परीक्षण उडान भएकाले अब विमानस्थल उद्घाटन हुन्छ भन्नेमा सबै विश्वस्त भएका छन् । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख बजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निमार्ण सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको एक वर्षसम्म औपचारिक उद्घाटनको पर्खाइमा छ । 

यो विमानस्थल निमार्ण गर्दा सङ्कटकालको समय २०५८ साल फागुन महिनामा सरकारी पक्षबाट धादिङ जोगिमाराका १७ जना मजदुर सहित ३५ जनाको सामूहिक हत्या भएको थियो ।